धनगढी- घरपरिवारले रमा (नाम परिवर्तन) को विवाह छिमेकी गाउँको केटासँग १४ बर्षकै उमेरमा गरिदिए। इच्छा विपरित नै परिवारले जबरजस्ती गराई दिएको विवाहपछिको सम्बन्ध एक बर्ष पनि टिक्न सकेन। ८ कक्षामा पढ्दा पढ्दै विहे हुँदा बाध्यताबस पढाई पनि बीचमै छोड्नु पर्यो। पढेर ठूलो मान्छे बन्ने उनको सपनामा पुर्णविराम लाग्यो।
कैलालीको घोडाघोडी नगरपालिका-८ कि उनी बिहे गरेर गएको घरमा एक बर्षसम्म पनि बस्न सकिनन्। घरमा बस्नै नसक्ने अवस्था सृजना भएपछि सम्बन्ध विच्छेद नै भयो।
सानै उमेरमा भोग्नु परेको यस्तो घट्नाले उनी विछिप्त छिन्। कलिलै उमेरमा भएको विवाहले गर्दा उनको मानसिक अवस्था नै खलबलिएको छ। अहिले उनी दिउँसै मादकपर्दाथ सेवन गरेर एक्लै बरबराउँदै हिडिरहेकी छिन्।
रमाको जस्तै अवस्था धनगढीकी तारा साउँदको पनि छ। धनगढीमा कक्षा ७ मा पढ्दै गर्दा पहाड डोटी गएकी उनी त्यहिको एक युवकसँग प्रेम बस्दा घरपरिवारले उनै केटासँग बिहे गरिदिए। विहे भएको २ वर्ष सम्म त तारा र उनको श्रीमानको सम्बन्ध राम्रै थियो। सम्बन्ध विस्तारै बिग्रिदै गयो। श्रीमानबाट शारीरिक तथा मानसिक यातना खेप्न बाध्य भईन्।
ताराको जस्तै समस्या छिमेकी कल्पनाको पनि रहेछ। तारा र कल्पनाले आ-आफ्ना दुःखका वेदना एक अर्का सामु पोख्न थाले। घरमा श्रीमानले सहनै नसक्ने गरी यातना दिन थालेपछि एक दिन तारा र कल्पना दुवै जनाले घर छोडेर हिड्ने सल्लाह गरे। सल्लाह अनुसार नै घर छोडर फेरि पुरानै शहर धनगढी पुगे उनीहरु।
धनगढीमा ताराका माईतीहरु बस्थे तारा र कल्पनाले अब कोही आफन्तकोमा नगई आफैंले नै केही गरेर बस्ने अठोट गरे। उनीहरु काम खोज्न धनगढीको गल्ली गल्ली भौतारीए र अन्तत: धनगढीकै एक रेष्टुरेण्टमा काम पाए। उनीहरुले हाल सम्म धनगढीका करिब छ-सात वटा रेष्टुरेण्टमा काम गरिसकेका छन्। अहिले पनि उनीहरु धनगढीमै छन्। तारासँगै दुई वर्ष पहिले आफ्नो घर परिवार छोडेर धनगढी आएकी कल्पनाको अहिले एउटा छोरी छ । तर त्यो छोरीको बाबु कता छ, केही पत्तो छैन्।
‘जीवनको कुनै मोडमा यस्तो दुःख पाउला भनेर सोचेकी पनि थिइन्’ कल्पनाले भनिन्,‘सानैमा विहे भयो, विहे भएको केही समयमै सम्बन्ध विग्रीयो घर परिवार छोडर धनगढीसम्म पुगे, अहिले यो हालत छ।’
यी त समाजका केही उदाहरण मात्र हुन्। बाल विवाहकै कारणले गर्दा थुप्रैको घरवार मात्रै हैन पुरै जिन्दगी नै बिग्रिएका घट्ना समाजमा छ्याप्छ्याप्ती छन्। विवाह गर्ने उमेरै नपुगी आफैं प्रेममा परेर त घरपरिवारले जबरजस्ती विवाह गरिदिने प्रचलनले अधिकांश कम उमेरमै भएका सम्बन्ध दिगो रुपमा टिक्न सकेको पाईदैन। पछिल्लो समय बढ्दै गएको सम्बन्ध बिच्छेदका घट्नामा कम उमेरमै बिहे गरेका जोडी बढि छुटिने गरेको पाईएको छ।
जिल्ला अदालत कैलालीका श्रेस्तेदार इन्द्रबहादुर कठायत कलिलै उमेरमा बिहे भएका जोडीहरु नै बढी सम्बन्ध बिच्छेद गरिरहेको बताउँछन्। ‘शुरुमा प्रेममा परेर या त परिवारको चाहानामा कलिलै उमेरमा बिहे हुन्छ तर विस्तारै सम्बन्धमा खटपट हुँदा छुट्टिनुपर्ने अवस्था आउने गर्दछ’ कडायतले भने,‘विहे अघि देखाईएका असम्भव सपनाहरु बिहे पछि पुरा नभएपछि सम्बन्ध नै टुटाउनु पर्ने अवस्था सृजना हुन्छ।’
घोडाघोडी नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष पर्ना चौधरीले सामाजिक चेतनाको कमीले गर्दा समाजमा बाल बिवाह कायमै रहेको बताए। बालविवाहलाई कानूनले मान्यता नदिएपछी सानै उमेरमा विवाह गराइदिने चलन हराए पनि समाजमा लुकीछिपी घटना घटिनै रहेको उनले सुनाए। समाजमा बालबिबाहको अवस्था डरलाग्दो रहेको भन्दै उनले यसको न्यूनीकरणका लागि सरकारी निकाय, संघसंस्था, बालबालिकाका अभिभावकलगायतले भूमिका निर्वाह गर्नुपर्ने बताए।
विद्यालयमा नियमित नजाने कारणले पढाई कमजोर हुने, परीक्षामा असफल हुने, पारिवारीक बेमेल भएका परिवारमा मायाँको खाँचो हुने, गरिवीबाट मुक्त हुने प्रयास र प्रजनन् स्वास्थ्यको सवालमा वालवालिकालाई अभिभावकले खुलेर कुराकानी नगर्ने कारणले वाल विवाह हुने गरेको शिक्षक शंकर सञ्जाल बताउँछन्।
बालविवाह हुँदा शारीरिक र मानसिक असर पर्ने र शिक्षा लिने अवसरबाट बञ्चित हुनेसँगै सामाजिकीकरणमा पनि गम्भीर नकारात्मक असर पर्ने शिक्षक संञ्जालले बताए।
कानूनमा बालविवाह गर्ने र गराउने भूमिकामा रहनेलाई जेल सजाय र जरिवानाको व्यवस्था भए पनि बालबिवाहमा खासै न्यूनिकरण आउन सकेको छैन्। नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिए पनि हाम्रो समाजमा अधिंकासहरुको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ।
एक तथ्यांक अनुसार सुदूरपश्चिममा करिव ४० प्रतिशत विवाह बालविवाह हुने गरेको छ। बालविवाहको मुख्य कारकतत्व गरिबी, अशिक्षा, घरेलु हिंसाका साथै धर्म कमाउन, सामाजिक प्रतिष्ठा कायम गर्न, मान्यजनको सम्मान गर्न, छोरीको सुरक्षा गर्न, यौन चाहाना भएर तथा प्रविधीको दुरुपयोग जस्ता छन्।
बालविवाह गर्दा स्वास्थ्यमा नकरात्मक असरहरू पर्ने गर्दछन्। घोडाघोडी अस्पताल सुखडका डा खेम चौधरी १८ बर्ष नपुग्दै सुत्केरी हुँदा रक्तश्राव भई मर्ने सम्भावना ३ देखि ५ गुणा बढी हुने गरेको बताउँछन्। नेपालको मातृमृत्युको प्रमुख कारण पनि यहि हो।
यस्तो अवस्थामा सुत्केरी हुँदा अत्यधिक रगत बग्ने, आङ खस्ने समस्या, योनीबाट पिसाब चुहिने, मुत्र थैली पाठेघर, मुत्रथैली र योनीमार्गबीचमा प्वाल पर्ने समस्या हन्छ। उनका अनुसार बालविवाहका कारण मानसिक समस्या धेरै हुन्छन्। गर्भवती भएका कारण डिप्रेसन हुने र त्यसका कारण मृत्यु हुने संख्या धेरै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४