इटहरीः पूर्वान्चल इन्जिनियरिङ कलेजका इलेक्ट्रीकल इन्जिनियरिङका प्राध्यापक राजेन्द्र दाहालले धरानदेखी इटहरी हुँदै विराटनगरसम्म ट्रली बस संचालन गर्न सकिने बताएका छन्। प्रदेश १ को एक्लो सरकारी इन्जिनियरिङ कलेजका प्राध्यापक दाहालका अनुसार पचास किलोमिटर हाराहारीको दुरीमा ट्रली बस चलाउन सकिने सुझाव उनको छ।
अहिले भएका सडकमै पनि विद्युत जडान गरेर ट्रली बस चलाउन सकिने दाहाल बताँउछन। केहि समय विद्युत प्राधिकरणमा समेत काम गरेको अनुभव भएका प्राध्यापक दाहाल ट्रली बसको लागत रेलको तुलनामा कम पर्ने भएकोले सफल संचालन हुने आधार भएको बताँउछन्।
‘पाँच सय मिटरको दुरीमा रोक्ने गरी चल्ने ट्रली काठमाडौंमा सफल संचालन भएकोले विराटनगरदेखी धरानसम्म पनि यो सम्भव छ’, जलश्रोतको किफायति वितरण विषयमा आफ्नो अध्ययनको थेसिस समेत गरेका दाहाल भन्छन, ‘विराटनगर-धरान क्षेत्रमा धेरै सहरीकरण भएकोले ठाँउठाँउमा रोक्न मिल्ने भएकोले पनि ट्रली बस संचालन गर्न सकिन्छ।’
हाल बन्दै गरेको धरान-विराटनगर ६ लेन सडक खण्डमै ट्रली बस लेन छुट्याउन सकिने दाहालको तर्क छ। बिचका चार लेन अन्य निजी तथा सार्वजनिक सवारीलार्इ र दुइ किनारका दुइ लेनमा भने ट्रली बसको लेन बनाउन सकिने दाहाल बताँउछन। भन्छन, ‘ट्रली नकुदेको बेलामा अन्य सवारीहरु पनि चल्न सक्ने हुनाले ट्रली बसको संचालन सफल हुन्छ।’
कोशी पहाडमा तमोर र अरुण जस्ता नयाँ जलविद्युत परियोजनाहरु पनि बन्दै गरेकोले ट्रली संचालनको आवश्यक बिजुली अभाव नहुने भन्दै दाहालले पूर्वका दुइ उपमहानगर र एक महानगर जोड्ने सफल ट्रली बस संचालनको संभावना रहेको बताए।
‘धरान, इटहरी, दुहबी र विराटनगरले मिलेर लगानी जुटाउन सक्छन’
ट्रली बस संचालन गर्न भएकै सडकले काम गर्ने र अन्य सवारीलाइ पनि बाधा नपुग्ने प्राध्यापक दाहाल बताँउछन। भएकै सडकमा थोरै विद्युतिय पुर्वाधार र बस थपिएपछि ट्रली बस धरान-विराटनगरसम्म संचालनमा कुनै समस्या नभएको दाहालको भनाइ छ। धरान, इटहरी, दुहबी र विराटनगर जस्ता प्रदेश एकका एक्लो महानगर, दुइ उपमहानगर र एक नगर जोड्ने परियोजना भएकोले लागत पनि सजिलै उठ्ने दाहालको तर्क छ।
‘भएका सडक पुर्वाधारमै केहि पुर्वाधार थप गरेमा ट्रली बस संचालन हुन्छ’, दाहाल भन्छन, ‘राम्रोसँग यो परियोजनामा काम गर्ने हो भने एक दुइ बर्षमै संचालन हुन सक्छ ।’
धरान-विराटनगर ४३ किलोमिटरको दुरीमा मात्रै रहेको र त्योबिचमा सहरीकरण बढेकाले यो परियोजना सफल संचालन गर्न सकिने दाहाल बताँउछन। स्थानीय सरकार, वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र, राष्ट्रिय योजना आयोग र प्रदेश सरकारले मिलेर काम गरे ट्रली बस संचालनमा कुनै समस्या नरहेको दाहाल बताँउछन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४