काठमाडौँ- असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो सांस्कृतिक वैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन ।
घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म मनाइने बडादशैँको अवसरमा विविध धार्मिक सांस्कृतिक क्रियाकलाप एवं उत्सव हुने महापर्वको यस महत्वपूर्ण अवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई प्रसाद र आशीर्वादका रुपमा ग्रहण गरिने परम्पराले प्रत्यक्ष तथा परोक्षरुपमा अन्न र स्वच्छ वातावरणको महत्व स्थापित गर्न सहयोग पुर्याएको उनले उल्लेख गरिन ।
समाजमा अनादिकालदेखि हर्ष्लासपूर्वक परम्परागत मनाउने गरिएका विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न हाम्रो धरोहरका रूपमा रहेका बताउँदै उहाँले सन्देशमा यी बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
यसै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय प्रतिनिधिसभाका सभामुख, विभिन्न राजनीतिक दलका नेतालगायत नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वले पनि बेग्लाबेग्लै शुभकामना दिएका छन् ।
शरद ऋतुको महान् चाड दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने बताउँदै उपराष्ट्रपति पुनले हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
उनले प्रकृतिको सुन्दर छटामुनि रहेका नेपाली धर्म, संस्कार, संस्कृतिले अत्यन्तै धनी रहेको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने यस्ता चाडपर्वले आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको शुभकामना दिँदै देश विकासको महाअभियानमा सहभागी हुन आहृवान गरेका छन् । प्रधानमन्त्री ओलीले सरकार देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कृयाशील रहेको बताएका छन् ।
अहिले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको उनले बताएका छन् । ‘राष्ट्र निर्माणको यो ऐतिहासिक अवसरमा हामी सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य छन्’ उनले भने, ‘त्यस कारण सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन म सबैलाइ फेरि एक पटक आहृवान गर्दछु ।’
सभामुख कृष्णबहादुर महराले चाडपर्वले विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं संस्कृतिक पहिचान रहेका सबै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । उनले शारदीय पर्वको सुखद् अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेका छन् ।
यसै उपलक्ष्यमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र पार्र्टीका तर्पmबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना सहित शुभकामना दिएका छन् ।
एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन भने तिनीहरुलाई बिर्सेर, देशको सर्वाङ्गिण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने सभापति दउवाले बताएका छन् ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमीका अवसरमा शुभकामना दिदै नेपालीको उत्तरोत्तर प्रगति तथा समृद्ध जीवनका लागि शुभकामना दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४