महोत्तरी- महोत्तरी गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत् सात वर्षीया रुकसना खातुन आफ्नो आमासँग स्थानीय मरहा नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी थिइन्।
घरबाट नजिकै विद्यालय रहेकाले रुकसना खातुन साथीसँग नियमितरुपमा विद्यालयमा पढनका लागि जाने गर्छिन। विद्यालयबाट फर्किएपछि अन्य साथी खेल्नमा व्यस्त रहेको समयमा उनी नदीमा कलिलो हातमा बेल्चा समाउन बाध्य छिन्।
नदीमा बालुवा चालेर जीवनयापन गर्ने उनको परिवारमा अन्य आम्दानीको स्रोत नभएपछि उनी आमाबाबुलाई सहयोग गर्नका लागि सकिनसकि बेल्चा उठाएर गाह्रो काम गर्न बाध्य छिन्। रुकसना खातुनकी आमा साखिला खातुनका अनुसार बालुवा विक्री नै मुख्य आम्दानीको स्रोत भएकाले वालवालिकालाई काममा लगाउनु रहर नभई बाध्यता रहेको जवाफ दिइन्।
गरिबको करले महँगो गाडीमा सवार हुने राजनीतिक नेतृत्वले चुनावका वेला गरेको वाचा पुरा गर्ने तर्फ लागेको देखिएन। विद्यालयमा पढन गएका छोराछोरीलाई अहिले छात्रवृतिबाट समेत वन्चित गरेको साखिलाले दुःखेसो पोखिन । जसोतसो बालुवा विक्री गरेर परिवार पाल्दै आएको उनको भनाई छ।
त्यस्तै सोही नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी १० बर्षीया सलमा खातुन भने नजिकै विद्यालय भएतापनि पढन जादैनन्। आफुसँग जन्मदर्ता नभएपछि विद्यालयमा पढन नगएकी सलमाले बताईन । मामाघर वस्दै आएकी सलमाले दिनभरि नै नदीमा बालुवा चाल्नमा व्यस्त रहेकी हुन्छिन। उनी मात्र होईन, उनको परिवारको ८ जना केटाकेटीमध्ये कोही पनि विद्यालयमा पढन जादैनन् । त्यसको प्रमुख कारण हो, उनीहरुसँग जन्मदर्ता नै छैन।
जन्मदर्ता बनाउनका लागि गरिएको प्रयास असफल भएपछि आफना ८ जना नातिनातिनी पढनबाट बञ्चित भएको ४७ वर्षीया जामिला खातुनले बताइन्। यहाँका स्थानीय तहमा आपूmले नातिनातिनीका लागि जन्मदर्ता बनाउनका लागि गएको तर त्यहाँ आपूmले गरेको प्रयास असफल भएपछि चाहेर पनि पढाउन नसकेको उनको भनाइ छ। नगरपालिकाले दलितको नाममा करोडाँै खर्च गरिएतापनि गरिव समुदायका लागि बजेट नछुट्याएर अन्याय गरेको उनको गुनासो छ।
मरहानदीमा असोज १ गतेदेखि नदीजन्य पदार्थ उत्खन्न गर्नका लागि स्थानीय सरकारले छुट दिएपछि अहिले धेरैजसो वालवालिका अभिभावकसँगै बालुवा चाल्नमा व्यस्त रहेको देखिन्छ। अन्य स्थानमा मजदूरी गरिनुभन्दा यहाँ अलि बढी परिश्रम गरेपनि काम अनुसारको दाम पाउदै आएको गौशाला-५ का सुनिल महतोले बताए।
प्रदेश नम्बर–२ सरकारले ‘वेटी पढाऔँ, वेटी बचाऔँ’ नारा अगाडि सारेका छन् तर महोत्तरी गौशाला नगरपालिका–५ स्थित मरहा नदीमा विद्यालय जाने उमेरका धेरै वालवालिका कडा मेहनत गर्न बाध्य छन्। आर्थिक अवस्था कमजोर हुनु, शिक्षाप्रतिको मानसिकतामा कमी, जन्मदर्ता नहुनुजस्ता कारणले यहाँका बालवालिका चर्को घाममा बिहानदेखि बेलुकीसम्म पसिना बगाएर जिवन निर्वाह गर्न बाध्य छन्।
नेपाल सरकारले तीन चरणमा गरी विद्यार्थी भर्ना अभियान चलाइएतापनि सो अभियान यहाँका इँटा भट्टा, नदी, दलित समुदाय, होटलजस्ता वालश्रम हुने स्थानमा पुगेको छैन। गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगरभित्रको शैक्षिकस्तर सुधार्न आफू प्रयासरत रहने बताएको छ । यस बर्षका लागि छुट्याइएको नगरस्तरीय बजेटमा समेत शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४