वीरगंज- महानगरको मुख्य व्यापारिक केन्द्र आदर्शनगरमा सुविधा सम्पन्न रेष्टुरेन्ट एस लाउन्ज संचालनमा आएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक छेउमा १ करोड रुपैयाँभन्दा बढीको लगानीमा एसीसहितको ५४ सिट क्षमताको सुविधासम्पन्न रेष्टुरेन्ट बार संचालनमा आएको हो।
मोटर पार्टस् व्यवसायी अशोक रौनियारले पर्यटन क्षेत्रमा प्रवेश गर्दै रेष्टुरेन्ट संचालनमा ल्याएका हुन्। आन्तरिक साजसज्जाको आधारमा यसले शहरका ठूला उद्योगको रेष्टुरेन्टलाई समेत ओझेलमा पारेको छ।
दुई तल्ले यो रेष्टुरेन्टभित्र मदिराका पारखीको लागी बेग्लै बार, पारिवारिक जमघटको लागी फेमिली क्याबिन र स–सानो समूहमा खानपिन गर्न आउने ग्राहकको लागी बेग्लै टेबलको व्यवस्था गरिएको छ।
वीरगंज मात्र नभएर यो क्षेत्रमै पहिलो अनुभव हुनेछ यहाँका उपभोक्ताले, एस लाउन्जको संचालक संस्कार रौनियारले नेपाल समयसँग भने, 'अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी दिन कुनै कमी हुन दिन्नौं।'
दिनभरको भागदौड र मानसिक थकान मेटाउनको लागी साँझ उपयुक्त गन्तव्यको खोजीमा रहने उपभोक्तालाई खानपानसँगै मानसिक सन्तुष्टी समेत दिलाउने उनको भनाई छ।
विशेषगरी भारतीय महानगरहरुमा घुमघाम तथा अध्ययनको क्रममा स्वादिलो परिकारसँगै मदिरापानको स्वाद लिएका ग्राहकलाई यो रेष्टुरेन्टले अपेक्षा पुरा गर्ने संचालनको दाबी छ। संस्कारले भने,भारतको हैदरावादी पकवानको स्वाद पस्किन हामीले सेफको टिम नै उतैबाट ल्याएका छौं।
यसअघि व्यापारिक पृष्ठभूमीको परिवारका मारवाडी यूवाद्वय अमन मित्तल र शौरभ पोद्दारले ८० लाख रुपैयाँ लगानीमा आदर्शनगरमा द डगाउट रेष्टुरेन्ट संचालनमा आइसकेको छ। खेलकुद हेर्दै रेष्टुरेन्टमा रमाइलो गर्न चाहने उपभोक्तालाई लक्षित गरेर यो रेष्टुरेन्ट खुलेको हो।
शहरी उपभोक्तासँगै भारतीय पर्यटकलाई लक्षित गर्दै आदर्शनगरमा होटल,रेष्टुरेन्ट तथा मनोरन्जन व्यवसायसँग सम्बन्धित नयाँ ठेगानाहरु थपिंदै गएका छन्। वीरगंज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले ठूलो लगानीमा रेष्टुरेन्ट खुल्नु पर्यटन क्षेत्रको लागी स्वागत योग्य भएपनि महानगरवासीमाझ रेष्टुरेन्ट संस्कृती अझै झँयागी नसकेको टिप्पणी गरे। उनले नेपाल समयसँग भने, नयाँ रेष्टुरेन्टले बजारमा टिकी रहनको लागी महानगरवासीमाझ रेष्टुरेन्ट संस्कृती बसाल्न ठूलै कसरत गर्नुपर्नेछ।
पछिल्लो समयमा होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, मनोरन्ज पार्क, सुविधा सम्पन्न सिनेमा घर र सपिङ्ग मल, हाउजिङ्ग अपार्टमेन्ट निर्माणमा साढे २ अर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४