बाँके- बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन् । बाघको सङ्ख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ ।
“बाघको सङ्ख्या बढ्नु निकै राम्रो हो”, बाँके राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले भने, “सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको छ ।” उनका अनुसार बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको वृद्धि हुनैपर्ने देखिन्छ । उनले भने, “बाघको सङ्ख्या जसरी बढिरहेको छ, त्यो अनुपातमा आहारा प्रजातिको सङ्ख्या बढेन भने संरक्षणमा ठूलो चुनौती देखिनेछ । त्यसैले पनि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनु नै हाम्रो प्राथमिकता हो ।”
बाँकेमा सन् २००८(विसं २०६५तिर) देखि बाघ गणना शुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ दखिएको थिएन । सन् २०१३९विसं २०७०तिर० मा भएको दोस्रो बाघ गणनाका क्रममा चार बाघ देखिएका थिए । सन् २०१८९विसं २०७५तिर० मा भएको तेस्रो गणनानुसार झण्डै पाँच गुणाले बाघको सङ्ख्या वृद्धि भई २१ पुगेको हो ।
एउटा बाघले एक वर्षमा औसतमा ६० वटासम्म शिकार गर्छ भने एक पटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ जुन एक हप्तासम्मका लागि हुन्छ । “निकुञ्जमा बाघलाई पुग्ने आहारा भए पनि बाघको वृद्धिदरलाई हेर्ने हो भने आहारा प्रजातिका वन्यजन्तुको संरक्षण गर्नैपर्ने देखिएको छ”, प्रमुख संरक्षण अधिकृत पुनले भने।
चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती देखिएको छ । उनले भने, “निकुञ्जमा चोरी शिकार शून्यजस्तै छ तर वन्यजन्तु निकुञ्ज बाहिर निस्किँदा केही चुनौती रहे पनि हामीले सचेतनामूलक अभियान चलाएर न्यूनीकरणको प्रयास गरिरहेका छौँ ।”
चित्तल, चौका, बँदेल, रतुवालगायत आहारा प्रजातिको वन्यजन्तुको संरक्षण जरुरी रहेको उनको भनाइ छ । बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या थप वृद्धिलगायत चुनौती रहेको बाँके निकुञ्जले जनाएको छ ।
जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्लेले बाघको सङ्ख्या बढेकामा खुशी व्यक्त गर्दै भने, “बाघको आहारा प्रजातिका वन्यजन्तुको वृद्धि गर्नु अबको मुख्य काम हो ।” पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा बाघको सङ्ख्यामा उत्साहपूर्ण वृद्धि भएको उनले बताए।
संरक्षणकर्मी कृष्णलाल चौधरीले बाघको सङ्ख्या वृद्धि भएसँगै आहारा प्रजातिको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने बताए । उनले भने, “बाघलाई जङ्गलमा सहजै शिकार गर्न सक्ने गरी आहारा प्रजातिको सङ्ख्यामा वृद्धि गर्नुपर्छ । त्यसो गर्न सकिएन भने संरक्षण चुनौतीपूर्ण छ ।” रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४