काठमाडौँ- आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।
प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।
आजको दिन दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवम् पूजा गर्ने भक्तजनको भीड लाग्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४