बिहीबार, साउन ७, २०८३

दशैंको मासु दशा बन्ला !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालीहरुको महान चाड दशैं घरघरमा भित्रिसकेको छ। यो पर्वको रौनक नै मिठो खाने र राम्रो लगाउने भन्ने मै केन्द्रित हुन्छ। बदलिँदो परिवेशसँगै दशैंको पर्याय फेरिएपनि अझै पनि दशैं भन्ने बित्तिकै हामीले घर घरमा खसी, राँगो काट्ने कल्पना गर्छौं। यदी नकाटेपनि अरु समयको तुलनामा बढी किन्छौं। दैनिक भोजन मासुसँग हुन्छ भने सुकुटी बनाएर पनि मासुको प्रयोग गरिन्छ।
 
अझै भन्दा मासु दशैंमा धेरै प्रयोग हुने खाद्य पदार्थ हो। पौष्टिक आहारले भरिपूर्ण मासु सही रुपमा प्रयोग गरे स्वास्थ्यका लागि प्रभावकारी हुन्छ भने गलत प्रयोग गरे विष बन्छ। त्यसैले मासु किन्दा नै ग्राहकले धेरै ध्यान दिनु जरुरी पर्दछ।

मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ। जिंक, भिटामिनलगायत अरु पनि धेरै तत्व पाइन्छ। यसरी हेर्दा यो स्वास्थ्यका लागि राम्रो हो। तर, सुरक्षित बन्नका लागि यसको प्रयोग पनि व्यवस्थित हुनुपर्छ। त्यसैले मासु किन्दा धेरै कुरामा ध्यान दिनुपर्छ। दशैंका लागि ध्यान नपुर्‍याई मासु किने दशा बन्ने पक्का हुन्छ।

केको र कुन मासु खाने?

मासु दुइ प्रकार हुन्छन- रातो र सेतो मासु। चार खुट्टे जनावरको मासुलाई रातो मासु भनिन्छ भने माछा, कुखुरा र पन्छी वर्गको मासुलाई सेतो मासु भनिन्छ। रातो मासुको धेरै प्रयोगले मानिसको मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ।

रातो मासुको अत्यधिक प्रयोगले शरीरमा भएका विभिन्न बलिया हड्‍डीहरू कमजोर भई हाडजोर्नीसम्बन्धी रोगको सम्भावना अत्यधिक हुन्छ। तर, सेतो मासु रातो मासु भन्दा राम्रो मानिन्छ। सजिलै पचाउन सकिने यसको साधारण विशेषता हो भने अन्य धेरै फाइदा पनि सेतो मासुले दिन्छ।
  
खसीबोका छान्दा के कुरामा ध्यान दिने ?

खसीबोका वा पन्छीको छनौटदेखि नै उपभोक्ताले ध्यान दिनुपर्छ। दशैंका लागि खसीबोका किन्दा नै हामीले आधारभूत कुरामा ध्यान दिए मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ।

अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्य्राएर बसेकोलगायत अस्वस्थ जस्तो देखिने खसीबोका किन्नुहुँदैन। जीउँदा खसीबोका हेरेर नै त्यसको स्वास्थता अनुमान लगाउन सकिन्छ। तर, शतप्रतिशत अनुमानले पनि काम गर्छ भन्ने निश्चित हुँदैन। 

पसलबाट मासु किन्दा ध्यान दिनुपर्ने कुरा

पसलबाट मासु किन्ने हो भने मासुको छनौटमा पनि उत्तिकै ध्यान पुर्‍याउनु आवश्यक छ। नेपालका धेरै मासु पसलहरु वैज्ञानिक तवरले निर्माण र सञ्चालन भएका छैनन्। त्यहाँ हुने लापरवाहीको कारण उपभोक्तामा ब्याक्टेरियाले संक्रमण गर्ने, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा विभिन्न खालका रोग सर्ने गरेको छ।
 
फोहोर बधशाला, मासुको तयारी र रसबारीमा हुने लापरवाहीका कारण विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरु सर्ने गरेको पाइन्छ । घरमै बध गर्दा पनि वैज्ञानिक विधि अपनाउने चलन हामीकहाँ छैन। 

यिनै कारण चाडपर्व सकिएपछि अस्पतालसहित स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्ने गरेको छ। पसलमा फ्रिज बाहिर राखेको मासु पनि नकिन्दा उचित हुन्छ । फ्रोजन गरिएको मासुमा ब्याक्टेरिया कम हुने भएकाले त्यसमा जोड दिनुपर्छ। 

मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा छ कि छैन भन्ने पनि विचार पुर्‍याउनुपर्छ। अस्वस्थ तथा बिरामी पशुपन्छीको मासु खाँदा पनि स्वास्थ्यमा हानी गर्छ। 

पसलमा मासु काट्ने अचानोको सफाइको अवस्था पनि ध्यान दिनपर्छ। समग्रमा पशुपन्छीको बधशाला फोहरमुक्त र सुरक्षित छ कि छैन भन्ने कुरामा उपभोक्ता सचेत हुनैपर्छ। मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियारलगायतको पोशाक, काटेको तरिका, तराजुको सफाइमा ध्यान दिएर मात्र मासु किन्नुपर्छ।
 
राम्रो कसरी चिन्ने ?

मासुका सन्दर्भमा हामी सचेत हुनु पर्ने अन्य धेरै कुरा पनि छन्। स्वस्थ्यबर्द्धक मासु चिन्न सकिएन भने पनि हाम्रो शरीरले दुख पाउँछ। मासु हलुका गुलाबी रंगको छ भने त्यसमा केही न केही खराबी छ भन्ने बुझ्दा हुन्छ। मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको प्रष्ट हुन्छ।

यस्तै मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, नमिठो गन्ध आएको छ भने मासु किन्नु हुँदैन। मासु फ्रिजमा अलग-अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ। पसलमा पुग्दा तपाइँले ध्यान दिनैपर्ने कुरा हो, यो। बाहिर झुण्ड्याएर राखिएका मासुमा बाहिरी ब्याक्टेरियाको संक्रमण हुन्छ। मासु काट्दा र समाउँदा धेरै तन्केकोजस्तो भएमा त्यो मासु बासी हो।
 
किन्दा मात्र होइन पकाउँदा पनि ध्यान दिनुहोस !

किन्दा मात्रै होइन, पकाएर खाँदा पनि मासुको उचित रेखदेख गर्नुपर्छ। काँचो मासुको परिकार खाँदा विभिन्न रोग सर्ने सम्भावना अधिक हुन्छ। पोलेका मासु, सेकुवा, हाकु, छोइला सकेसम्म नखाएकै राम्रो हुन्छ। किनकि मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधिक हुन्छ। मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ। 

त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ। मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ।

यस्तै सफासँग पखालेको र पुरा पाकेको मासुमात्र खाने बानि बसाल्नुपर्छ। विभिन्न किसिमका धेरै मसला तथा चिल्लो पदार्थको प्रयोग कम गर्नु उपयुक्त हुन्छ। बोसो तथा छालारहित मासु खाने गरेमा त्यसले हानी कम गर्छ। बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन। रगत पकाएर खाने प्रचलन भएपनि त्यसले खासै फाइदा गर्दैन। सही ढंगले मासु र अन्य परिकार नपाउँदा, त्यसलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरा विषाक्त हुन सक्छ। 

खाएको केही समयभित्रै पेटमा समस्या देखिने, झाडापखाला चल्ने, अपच हुने, ग्याट्रिक बढ्ने लगायत समस्या हुन सक्छ। मासुबाट रोगहरु स्वस्थ शरीरमा सर्न सक्ने कुरामा सबै सचेत हुनुपर्छ। काँचो, नपाकेको तथा पोलेको कालो मासु खाएमा त्यसले फाइदा गर्दैन।

धेरै दिनका लागि किनेको मासु कसरी राख्ने?

दशैंमा एकैपटक धेरै मासु काट्ने चलन हुन्छ। यस्तो बेला मासुको भण्डारणमा पनि ध्यान दिनुपर्छ। मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन। ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ। 

सामान्य फ्रिजमा भन्दा डि-फ्रिजमा मासु राख्नु उपयुक्त हुन्छ। मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ। काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु पनि उपयुक्त हुन्न। यदि तपाई हामीले सुरक्षित ढंगले मासु राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने खतरा रहन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।