बिहीबार, साउन ७, २०८३

बिहारमा मदिरा तस्करी, नेपाली बजार बुम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- भारतको बिहारमा मदिराको उत्पादन र बिक्री वितरणमा प्रतिबन्धले तराईका जिल्लामा स्वदेशी मदिराको माग ह्वात्तै बढेको छ। चाडपर्वको समयमा स्वदेशी बजारमै मदिराको माग बढ्ने गरेकोमा बिहारका उपभोक्ता समेत जोडिएपछि अहिले मदिरा उत्पादकलाई बजार माग धान्न भ्याइ नभ्याइ छ।

मदिरा पिउन आउने मात्र नभएर मदिरा बोकेर बिहारको बजारमा पुर्‍याउने र पैसा कमाउने धन्दामा संलग्न हुनेको ठूलै समूह सकृय रहेको यहाँका मदिरा व्यवसायी बताउछन्। बिहार राज्य सरकारले १ अप्रिल २०१६ देखि बिहारमा मदिराको उत्पादन र बिक्री वितरणमा बन्देज लगाएको छ।

उता(बिहार)बाट आएकाहरु फर्किने बेला भ्याएसम्म मदिरा बोकेरै फर्किन्छन्,वीरगंज मदिरा व्यवसायी संघका अध्यक्ष रामाधार साहले नेपाल समयसँग भने, स्थानीय बजार जतिकै सीमापारीको बजारमा पनि मदिरा पुग्न थालेको छ। बढ्दो बिक्रीसँगै अनौचारिक व्यापारको लागी स्थानीय बजारमा भारतीय मुद्राको प्रवाह पनि सहज बनेको छ।

मदिराको बढ्दो मागसँगै भइरहेको मदिरा तस्करीले अहिले सुन तस्करीलाई बिर्साउन थालेको व्यापारीले टिप्पणी गरे । मदिराको बढ्दो तस्करीसँगै नक्कली अन्तःशुल्क स्टीकरको प्रयोग बढेको छ। 

स्थानीय बजारमा बिक्री गर्दा अन्तःशुल्कसहितको भ्याट बिजक जारी गर्नुपर्छ । नक्कली स्टीकरको प्रयोगबाट भ्याट बिल जारी गर्न सम्भव छैन। भारतीय बजारमा तस्करी हुने मदिरामा नक्कली स्टिकरको प्रयोग गर्न सकिने र बिजक समेत जारी गर्नुनपर्ने भएकोले अन्तःशुल्क छल्ने प्रवृत्तिले प्रोत्साहन पाएको छ।
    
राजश्व अनुसन्धान विभागको टोलीले १९ भदौ २०७४ मा वीरगंज भन्सार नाकाबाटै भित्र्याइएको झण्डै साढे तीन करोड रुपैयाँ मूल्य बराबरको ८६ हजार थान नक्कली अन्तःशुल्क स्टिकर बरामद गरेको थियो।     
    
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षदेखि सस्तो मूल्यको मदिरामा अन्तःशुल्कको दर १६४ प्रतिशतसम्म वृद्धि गरेपछि मदिरा उद्योग ओरालो लाग्ने दाबी गर्दै उद्योग संचालकले अर्थमन्त्रीलाई उद्योगको साँचो बुझाउने धम्की दिएका थिए। तर मदिराको तस्करीसँगै आन्तरिक बजारमा समेत मदिराको मूल्य वृद्धिले समग्र मागमा उल्लेखनीय असर देखिएको छैन।
    
यहाँ पचास रुपैयाँमा पाइने मदिरा पारीको बजारमा पुर्‍याएपछि दुईसय रुपैयाँमा बिक्छ, छपकैयाँका एकजना मदिरा व्यापारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने,यही आएर पिउनेमात्र नभएर उताको लागी किनेर लैजाने पनि उल्लेख्य छन्।

प्रदेश-२ को तीन जिल्ला पर्सा,बारा र रौतहटमा एक दर्जन्भन्दा बढी मदिरा उद्योग संचालनमा छन् । मदिराको व्यापारमा बुमसँगै नयाँ उद्योग खुल्ने र पुरानाले क्षमता विस्तार गर्ने क्रम बढेको छ।
    
२०५२ सालमा पहिलो मदिरा उद्योगको रुपमा जावलाखेल समूहको नेतृत्वमा हिमालयन डिष्टीलरी संचालनमा आएको पर्सामा अहिले एशियन,स्नोल्याण्ड, उदयपुर, जयश्री धौलागिरी,एक्शन वाइन उद्योग संचालनमा छन्। बारामा बारा डिष्टीलरी र रौतहटमा ज्योती, बारा र एभरेष्ट डिष्टीलरी उद्योग संचालनमा छन्।
    
बिहारी उपभोक्तामाझ भर्जिन,ब्लुसाइन,भिवोर,लिच्ची,सोफी ब्राण्डको ५० देखि ७० यूपि सम्मको मदिरा लोकप्रिय छ। यो रेन्जमा एउटै उद्योगले १० वटा ब्राण्डका मदिरा बजारमा ल्याएका छन्। मदिरा बिक्रेता संघका अध्यक्ष साहले भने, बढ्दो मागसँगै अहिले प्रत्येक दिनजसो मूल्यको दुईवटा नयाँ ब्राण्ड देखापर्न थालेको छ ।
    
गोल्डेन ओक ब्राण्ड मदिरा एशियन डिष्टीलरीले बजार माग अनुसार पुर्‍याउन सकेको छैन, स्थानीय मदिरा व्यापारी भन्छन्, अग्रिम भुक्तानी गरेर कुर्नुपर्ने अवस्था छ। घरेलु मदिरा उत्पादन पूर्ण नियन्त्रणमा आउने हो भने बोतलबन्द मदिराको माग अझै बढ्ने मदिरा बिक्रेताको भनाई छ। 
    
सीमापारबाट मदिरा पिउनकै लागी सप्ताहन्तमा वीरगन्जदेखि हेटौंडासम्मका होटल,रेष्टुराँमा बिहारका व्यापारीहरुको उल्लेख्य जमघट हुने गरेको छ। रक्सौलमा किनमेल गर्न जाँदा होटलबारे चर्चा गर्दा उताका व्यापारीले आफूहरुले निर्माणाधीन होटल देखेको प्रतिकृया दिंदा दंङ्ग पर्‍यौं, अमलेखगंजमा निर्माणाधीन होटल क्वीक ट्वान्टीका संचालक नरोत्तम आचार्यले भने,उनीहरु प्रत्येक सप्ताहन्तमा रमाइलो गर्न यतै आउने रहेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।