प्रतिनिधि तस्बिर
इटहरी- प्रदेश १ को प्रदेश सभा वा स्थायी राजधानी नै इटहरी आउने चर्चासँगै इटहरीमा होटल र पार्टी प्यालेसहरुको संख्यामा वृद्धि भएको छ। इटहरीको बढ्दो सेमिनार पर्यटनको व्यापारिक भविष्य देखेर इटहरीमा होटेल तथा पार्टी प्यालेसहरु थपिने क्रममा छन्। इटहरीको होटेल एसोसिएसनका अध्यक्ष जीवन पराजुली आफ्नो तिरुपती होटेलले पर्यटकहरूको माग धान्न समस्या भएपछि नयाँ एक तारे होटेल निर्माण गर्दैछन।
६ करोड लगानीको होटेल टुरिष्ट इन प्यालेस नाम रहेको उक्त होटेल यो वर्ष भित्रै सञ्चालनमा आउने पराजुली बताउँछन्। त्यसैगरी, इटहरीको धरान लाइनमा बन्दै गरेको प्रस्तावित पाँच तारे गरीमा होटेल पनि निर्माणको अन्तिम चरणमा छ। इटहरीका व्यवसायीहरू भीम पौडेल तथा बलराम आचार्य समूहको ८० करोड लगानीको भनिएको उक्त होटेल पनि यही वर्षभित्र सञ्चालनमा आउने बताइएको छ।
पार्टी प्यालेसहरु पनि इटहरीमा थपिन थालेका छन्। हाल सञ्चालनमा रहेको इटहरी-५ को लायन्स क्लबले अब थप १२ सय अट्ने पार्टी प्यालेस निर्माण गर्दैछ। निर्माणको नेतृत्व गरिरहेका व्यवसायी राज कुमार कार्कीका अनुसार पार्टी प्यालेसको हालको सिट क्षमताले कम भएकोले थप गनुपर्ने भएको छ।
कार्कीका अनुसार काठमाण्डौको एक समूहले इटहरीमा नयाँ पार्टी प्यालेसमा लगानी गर्दैछ। यसरी इटहरीमा व्यावसायिक प्रयोजनमा होटलहरु तथा पार्टी प्यालेसहरु सेमिनार पर्यटन लक्षित भएर बढ्दो क्रममा खुल्न थालेका छन्।
इटहरीमा प्रदेश १ मा जति धेरै मेगा प्रोजेक्ट हुन्छन् त्यति नै धेरै सेमिनार पर्यटनमा फाइदा पुग्ने यहाँका पर्यटन व्यवसायीहरू बताउँछन्।
पूर्वभरिको सडक सञ्जालले प्रदेशकै रोजाइमा इटहरी प्रदेश १ का सबै क्षेत्रको केन्द्रमा पर्छ इटहरी। चाहे झापाको दमकबासिलाइ होस, चाहे धनकुटा बासीलाई होस अथवा उदयपुर, सबैतिरका क्षेत्रको मान्छेलाई इटहरी पायक पर्छ। पूर्व-पश्चिम महेन्द्र राजमार्ग र उत्तरदक्षिण राजमार्ग एकआपसमा क्रस गरेर गएको सहर भएकाले इटहरी प्रदेशकै कार्यक्रमहरूको लागी सुगम भएको बताउँछन् प्रदेश १ को उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष लिलम बस्नेत।
बस्नेत इटहरीको यही भूरणनितिक अवस्थितको कारणले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाली सेना तथा ससत्र प्रहरीको प्रदेश स्तरिय कार्यालयहरू इटहरीमै भएको तर्क गर्छन्। भन्छन, ‘इटहरीको भौगोलिक सुगमता र सडक सञ्जालको अवसरहरूका कारणले प्रदेशको एक्लो सबैभन्दा सुगम हब हो।’
प्रदेश सांसद समेत रहेका बस्नेतको कुरा जस्तै तर्क छ इटहरी उपमहानगरपालीकाका मेयर द्धारिकलाल चौधरीको। चौधरी इटहरी हिमाल, पहाड र तराई सबै क्षेत्रका बासिन्दाहरूको मिश्रित बस्ती हुनुमा यसको सबै क्षेत्रका पायक अवस्थित नै मुख्य कारक रहेको बताउँछन्।
प्रदेश १ का सांसद तथा पूर्व मेयर सर्वध्वज साँवा इटहरी सबै क्षेत्रको सुगम भएकोले नै प्रदेशको राजधानी बन्न योग्य भएको बताउँछन्। भन्छन, ‘धरानबाट एक पटक विराटगर जानु भनेको दुई पटक इटहरी आउनु हो। इनरुवाबाट एक पटक झापा गएर आउनु भनेको इटहरी दुई पटक आउनु हो।’
इटहरीले धान्न सक्छ दैनिक ५ हजार पर्यटक
सभा, सम्मेलन, सेमिनार आदि कार्यक्रममा सहभागिता गर्न गरिने स्वदेशी तथा विदेशी भ्रमणलाई पर्यटककर्मीहरु सेमिनार पर्यटन भन्छन्। पर्यटनमै स्नातकोत्तर गरेका इटहरीको होटेल प्रिमियर स्कुलका सञ्चालक सुनिल भूषाल इटहरीमा सेमिनार पर्यटन फस्टाँउदै गएको बताउँछन्। इटहरी प्रदेश भरिका विभिन्न सामूहिक कार्यक्रमहरूको निर्विवाद केन्द्र भएकोले यहाँ सेमिनार पर्यटन फस्टाएको भूषालको तर्क छ।
इटहरीमा साना-ठुला होटेल तथा पार्टी प्यालेस र बैंक्वेटहरु गरेर ५ हजार बढीले एकै दिनमा सभा सेमिनार गर्न सक्ने क्षमता रहेको छ। होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार इटहरीका २० वटा पर्यटक क्लासका होटलहरुमा १० होटेलमा साना ठुला हलमा १ हजार सेमिनार पर्यटकहरू अटाउँछन्। १ सय माथि हजार बढी सम्मको सभा, सम्मेलन र सेमिनारहरूमा भने पार्टी प्यालेसहरु रहेका छन्।
इटहरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउँदै प्रदेश सरकार
इटहरीमा बढ्दो क्रममा रहेको सेमिनार पर्यटनलाई दृष्टिगत गर्दै प्रदेश १ सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने भएको छ। जेठ २७ गतेको नीति तथा कार्यक्रम तथा असार १ गतेको बजेटमा यस बारेमा प्रस्ट गरिएको छ।
प्रदेश १ सरकारले इटहरीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने कार्यक्रम प्राथामिकताका साथ राखेको छ। इटहरी उपमहानगरपालीकाले पनि मेगा प्रोजेक्टको रूपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने प्रस्ताव संघीय र प्रदेश सरकारसामु राखेको थियो। तर, संघीय सरकारले यो एजेन्डा नसमेटे पनि प्रदेश १ सरकारले भने समेटेको छ।
नीति तथा कार्यक्रममा ५७ औँ बुँदामा इटहरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापनाका बारेमा लेखिएको छ। जसमा भनिएको छ, ‘सुनसरीको इटहरीमा एक अत्याधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापनाका गर्न विस्तृत अध्ययन कार्यको थालनी गरिनेछ।’
बजेटको १ सय ३१ औँ बुँदामा पनि इटहरीमा अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र बनाउने कुरा उल्लेख गरिएको छ।
पर्यटकलाइ अड्याउने योजनामा इटहरी सरकार
इटहरीमा आएका सेमिनार पर्यटकहरुलाइ अड्याउने केहि पर्यटकिय योजनाहरु ल्याउने सोचमा इटहरी स्थानिय सरकार पनि लागि परेको छ। मेयर द्धारिकलाल चौधरी आफ्नो चुनावी घोषणापत्र अनुसार इटहरीलाइ बहुजातिय तथा सांस्कृतिक नगरीको रुपमा विकास गर्ने केहि कामहरु नयाँ आर्थिक बर्षमा शुरु गर्ने बताउँदै आएका छन।
उपमेयर लक्ष्मी गौतम इटहरीको तालतलैइामा थप आकर्षक केन्द्रहरु निर्माण गर्ने र सिटी पार्क बनाउने योजनाहरु प्रस्तावको रुपमा आइरहेको बताउँछिन। इटहरीमा आएका सेमिनार पर्यटकहरुलाइ अड्याउन रात्री बजारको गृहकार्य सुरु गरिएको समेत उपमेयर गौतम बताउँछिन। इटहरीको तालतलैयामा मोटरबोट ल्याएर जल यातायात गर्ने काम अगाडि बढि सकेको इटहरी-३ का वडाध्यक्ष बालकृष्ण विस्ट बताउँछन।
इटहरीमा तालतलैया बाहेक अर्को प्रदेशस्तरिय पर्यटकिय हब नभएकाले नयाँ पर्यटकिय प्रोडक्टहरु थप्न उपमहानगरपालीकाले काम गर्नुपर्ने वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराई बताउँछन्। उनी भन्छन, ‘हामीले टेंग्रा खोलामा ओपन वाटर पार्क सहितको जलबिहार गर्ने लक्षमा काम गरिरहेका छौँ।’यो पटक टेंग्राका दुवै किनारमा वाकिङ लेन बनिसकेको बताउँदै भट्टराई अब चाँडै ब्रिज क्याफे र जल बिहारको डिपीआर बनाएर थप काम अगाडि बढाउने बताउँछन।
इटहरी यो पटक पर्यटन क्षेत्रमा पहिलेको तुलना बढि बजेट आउने उपमहानगर श्रोतले बताएको छ। स्थानिय सरकारको नीति तथा कार्यक्रम अनि बजेट निर्माणको चरणमा भएकोले यस्को अन्तिम रकम भने सार्वजनिक गरिएको छैन। विगतका दुइ आर्थिक बर्षमा पर्यटन क्षेत्रमा क्रमशः २९ लाख बजेट बिनियोजन गरिएको थियो।
तालतलैया नै इटहरीको पर्यटकिय केन्द्र हो, जसमा आर्थिक बर्ष २०७३-७४ मा १० लाख रकम विनियोजन भएको थियो। यस्तै, आर्थिक बर्ष २०७४-७५ मा १९ लाख हाराहारी बजेट विनियोजन गरिएको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर लिम्बू बताउँछन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४