भैरहवा- दशैं विदामा धेरै जना आ–आफ्नो पुख्र्यौली थलो फर्किरहेका छन् । विगतमा जस्तो नितान्त परम्परागत हुने देखिएको छैन, यसपालिको दशैं। रोटे पिङ, चर्खे पिङ खेल्ने र सराय नाच्ने परम्परा विस्तारै हराउँदै गएको छ । दशैंका यात्री नयाँ गन्तव्यहरूको फेरो मार्न उद्यत देखिन्छन्।
पछिल्लो पुस्तामा प्राकृतिक र सांस्कृतिक स्थलहरूको प्रत्यक्ष अवलोकनमा रमाउने प्रचलन बढ्दो क्रममा छ। नयाँ–नयाँ गन्तव्यमा पुग्ने अनि तिनको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन व्यापक बन्दै गएको छ । यी हुन्, प्रदेश–५ का १२ जिल्लाका दशैं गन्तव्य :
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेश–५ को मुख्य पर्यटकीय गन्तव्य हो । रूपन्देही सदरमुकाम भैरहवादेखि करिब २२ किलोमिटर पश्चिममा पर्छ, लुम्बिनी।
विश्व सम्पदा सूचीमा सूचीकृत यसको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्व छ । भगवान गौतम बुद्धका जीवनमा अत्यन्तै महत्वपूर्ण स्थानका रूपमा परिचित लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरलाई बौद्ध धर्मावलम्बीहरूले जीवनमा एक पटक पुग्नै पर्ने पवित्र स्थल मानिन्छ यो ।
सन् १९७८ मा जापानी वास्तुकलाविद प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाअनुसार अहिले काम भइरहेको छ । यहाँ १२ वटा विहार नेपालले निर्माण गरेको छ । मायादेवी मन्दिर लुम्बिनीको मुख्य केन्द्र हो ।

तीन वर्गमाइलभित्र उद्यान, अन्तर्राष्ट्रिय विहार र नयाँ लुम्बिनीग्राम गरी तीन वटा क्षेत्र समावेश गरिएको छ । खासगरी, तीन वर्गमाइल भूभागलाई १÷१ वर्गमाइलमा विभाजन गरी उत्तरतर्फको एक वर्गमाइल क्षेत्रलाई लुम्बिनीग्राम, दोस्रो खण्ड एक वर्ग माइलको भूखण्ड, जसलाई अन्तर्राष्ट्रिय विहार र गुम्बा क्षेत्र नामाकरण गरिएको छ ।
बाँकी एक वर्गमाइलको दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । लुम्बिनीग्राममा विश्वशान्ति स्तुप, उच्चस्तरीय आवासका लागि होक्के होटेल, सारस फाउन्डेसन, मध्यमस्तरीय होटेल कासाइ र श्रीलंकाली धार्मिक भवन छन् ।
केन्द्रीय नहरको दक्षिण र दक्षिण–पूर्वी कुनामा विश्वशान्ति दीप र शान्ति घण्ट छन् । पुरातातत्वक बगैंचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, स्तुप र विहारका स्मारकहरू छन्।
लुम्बिनीदेखि करिब पाँच किलोमिटर दक्षिणमा कोइलहवा नदीको पूर्वपट्टि पैसिया छ । मध्यकालीन अवस्थाको पैसियाको सन् १९६४ मा एसबी देवले उत्खनन गरेका थिए । यसैगरी, बिसुनपुरा र चम्चाइमाई पीठको पश्चिमपट्टि मन्ठारी सिद्धबाबा स्थल छ। लुम्बिनीदेखि ६ किमि दक्षिणमा लुम्बिनी कक्रहवा सडकखण्डको पूर्वपट्टि कालीदह छ ।
भैरहवाबाट लुम्बिनी जाने बाटोमा प्रकटेश्वर मन्दिर छ। यस स्थानलाई भैरवस्थान पनि भनिन्छ । मर्चवारको मर्चवारीमाई पनि महत्वपूर्ण ऐतिहासिक स्थल हो । आसपासमा व्यावसायिक खेती पनि नियाल्न सकिन्छ।
नवलपरासी
नवलपरासीमा पनि विभिन्न ऐतिहासिक र धार्मिक गन्तव्य छन् । रामग्राम स्तुपा, पाल्ही भगवती मन्दिर, दाउन्ने, त्रिवेणीघाट, नवलपरासी मनरीको कोलवृक्ष, भुमहीखोलाको नजिक रहेको बर्दगरिया, छिपागढको बडगाउँ, हरपुरको गोबरकोट, गजेन्द्रमोक्षधाम र केवलानीदेवी पर्यटकीय गन्तव्य हुन् ।
कपिलवस्तु

शाक्यवंशको ऐतिहासिक राजधानी कपिलवस्तु मुख्य पर्यटकीय गन्तव्य हो । यहाँ युवराज सिद्धार्थ गौतमले २९ वर्ष बिताएका थिए । त्यसबाहेक कनकमुनी बुद्धको जन्मस्थल निग्लीहवा, क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा, मानव निर्मित सबैभन्दा ठूलो ताल जगदिशपुर र शिवगढी अनि त्यहाँ आउने साइबेरियन चराको अवलोकन महत्वपूर्ण छन् ।
पाल्पा
तानसेन बजार सुन्दर हिल स्टेसन हो । पुरातात्विक सम्पदा, करुवा, ढाका र सांस्कृतिक महत्वको ठाउँ हो यो । पाल्पाको बल्डेङगढीबाट दक्षिणमा लुम्बिनी र उत्तरमा हिमालय शृंखलाको अवलोकन गर्न सकिन्छ ।
पाल्पामै पर्ने रानीमहललाई नेपालको ताजमहल पनि मानिन्छ । यो महललाई प्रेमको विम्बका रूपमा समेत बुझ्ने गरिएको छ । रुरु र रिडी क्षेत्र पनि हिन्दुहरूका पवित्र धार्मिक स्थल हुन् । श्रीनगर भ्युटावर, नुवाकोट, अमरनारायण मन्दिर, झ्यांग्ला गाउँ, भगवती स्थल, सुकेताल, सृजना फार्म, राम्दीघाट, केलादी, सत्यवती स्थल दशैं विदामा घुम्न लायक थलो हुन् ।
गुल्मी

गुल्मीको रेसुंगा तपोभूमिका रूपमा परिचित छ । श्रृंग ऋषिले तपस्या गरेको यस भूमिमा सिद्धेश्वर महादेव, अग्निकुण्ड र गौशाला छन् । अर्जुनको डाँडो, मुसीकोट, धुर्कोट गुफा, सिरसेनी, रूपाकोट, भाडागाउँको सुन्तला खेती, वामीको त्रिपुरासुन्दरी मन्दिर, हर्दिनेटाको छत्रेश्वर, चारपाला दरबार, रिडीबजार र रुद्रवेणी दशैंमा घुम्न लायक थलो हुन् ।
अर्घाखाँची

अर्घाखाँचीमा पर्ने पाणिनी तपोभूमिमा ऋषि पाणीनीले ध्यान गरेको स्थल हो । संस्कृत व्याकरणका रचनाकार पाणिनीको तपोभूमिमा थुप्रै मठ, मन्दिरसमेत छन् । अर्घाखाँचीका सुपा, नरपानी, सन्धिखर्क, घेरालेक र नरसिंहस्थान पनि महत्वपूर्ण गन्तव्य हुन् ।
प्युठान
प्युठानको स्वर्गद्वारी मन्दिर हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो । ध्यान, तपस्या र योगका लागि पनि महत्वपूर्ण स्थानका रूपमा परिचित छ यो ।
झिमरुक नदीको उदगम स्थल प्युठानको गौमुखी पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यसैगरी, भित्रिकोट, सौतामारे, सरुमारानी पनि आकर्षक पर्यटकीय गन्तव्य हुन् । पूजाको तामाखानी, खुंगको गुफा, खराअर्खाको धुरी पनि हेर्न लायक ठाउँ हुन् ।
रोल्पा

३१ सय मिटर अग्लो जलजला पहाड रोल्पाको मुख्य पर्यटकीय गन्तव्य हो । जसको धार्मिक र प्राकृतिक महत्व छ । होलेरी, थबाङ, खुंग्री, रुन्टीगढी, भामा ओडार यहाँका अन्य पर्यटकीय गन्तव्य हुन् ।
पूर्वी रुकुम

प्रदेश–५ को सबैभन्दा अग्लो सिस्ने हिमाल रुकुममा पर्छ । गुरिल्ला ट्रेक, रुक्मिणी ताल, गुफा, ढोरपाटन शिकार आरक्ष यहाँका मुख्य गन्तव्य हुन् । यार्सागुम्बाका लागि पनि पूर्वी रुकुम प्रसिद्ध छ ।
बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्ज यहाँको मुख्य गन्तव्य हो । गोही, गैंडा, जंगली हात्ती, बाघ, वन्यजन्तु, चराचुरुंगीहरू, चिसापानी पुल, ठाकुरद्वारा र कृष्णसारका झुण्डको अवलोकन गर्न बर्सेनि हजारौं पर्यटक बर्दिया पुग्छन् ।
दाङ
दाङका देउखुरी उपत्यका, बाह्रकुने दह, पुरुनधरा झरना, चमेली गुफा, जखेरा ताल, भारपानी, तरुनी दह आदि प्रसिद्ध गन्तव्य हुन् । त्यसबाहेक राप्ती नदी र देउखुरीको खेती पनि हेर्न लायक छन् ।
बाँके
बाँके राष्ट्रिय निकुञ्ज, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा, वागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, महेन्द्रपार्क, रानी तलाउ, वाटर पार्क, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा आदि पर्यटकहरूका लागि गन्तव्य हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४