बिहीबार, साउन ७, २०८३

यस कारण विशेष छ जनकपुरको दशैं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेपालीहरूको महान चाड दशैंको रौनक र चहलपहल मुलुकभर छाएको छ । घर बाहिर रहेकाहरू परिवारका साथ दशैं मान्न धमाधम घर फर्कंदै छन् । बस गाडीमा घर पुग्नेहरूको घुइँचो छ ।

‘दशैं आयो, खाउँला पिउँला’ दशैंको बेला बोलिने यो पुरानो भनाइ हो । दशैं आएसँगै नयाँ लुगा लगाउने र मिठामिठा कुरा खाने भएकाले नेपालमा चर्चित छ, यो पुरानो भनाइ । चाडपर्वमा राम्रो लाउने र खाने रहर हुनु पनि स्वाभाविक मान्न सकिन्छ । खासगरी, दशैंको मौसममा यो भनाइ सान्दर्भिक पनि हो ।

दशैं लागेसँगै जनकपुरमा चहलपहल बढेको छ । अन्य वर्षहरूझैं पूजाअर्चना गर्नेहरूको भीड छ, यहाँका मन्दिरहरूमा । धर्म र संस्कृतिको थलो मानिएको जनकपुर अहिले भक्तिमय बनेको छ । विभिन्न मन्दिरहरूमा बिहान ४ बजेदेखि बज्ने माता दुर्गाका स्तुति र भजनहरूले यहाँका सर्वसाधारणमा भक्तिभावको वातावरण बनाएको छ । र, दशैंको मौसममा गरिने पूजाआराधनाले जनकपुरको दशैंलाई विशेष बनाउने गरेको छ ।

जनकपुरस्थित राममन्दिर परिसरमा रहेको राजदेवी मन्दिर अहिले बेहुलीझैं सजाइएको छ । राजा जनकको कुलदेवता भनिएकी राजदेवी मन्दिरमा पूजा गर्न बिहान ४ बजेदेखि श्रद्धालुहरूको घुइँचो हुन्छ । राजदेवी मन्दिरझैं जनकपुरका दर्जनौं स्थानमा दशैंमा दुर्गा पूजा गरिन्छ ।

रामानन्द चोक, मुरली चोक, भ्रमरपुरा चोकलगायत स्थानमा माटोको प्रतिमा बनाएर दुर्गा पूजा गरिन्छ । आकर्षक तरिकाले निर्माण गरिएका दुर्गालगायत प्रतिमाको पूजा गर्न सर्वसाधारणको व्यापक भीड हुने गर्छ ।

यसका साथै बौधीमाई, अन्नपूर्णा मन्दिर, रजौल, कदम चोकलगायत स्थानहरूमा समेत आस्थापूर्वक दुर्गा पूजा भइरहेको छ । जनकपुर मात्र नभएर वरिपरिका ग्रामीण क्षेत्रहरूमा समेत दुर्गाको प्रतिमा बनाएर पूजा गर्ने पुरानो परम्परा छ । दशैं अवधिभर दुर्गापूजा हुने स्थानहरूमा बिहान र साँझ हुने आरती तथा भजनले सर्वसाधारणलाई आकर्षित गरिरहेको हुन्छ ।
 
जनकपुरका बौधीमाई, अन्नपूर्णा मन्दिर, रजौल, कदम चोकलगायत स्थानहरूमा विशेष आस्थापूर्वक दुर्गा पूजा भइरहेको छ ।

दशैंमा माछामासु खाने चलन देशभर व्यापक छ । जनकपुरका अधिकांश मानिस भने अष्टमी तिथिसम्म मांसाहारी आहार खानबाट जोगिने गरेका छन् । अष्टमी तिथिको राति राजदेवी मन्दिरमा बोकाको बली दिइसकेपछि मात्र माछामासु खान सकिने जनविश्वासको आधारमा यसो गरिएको बताइन्छ । वर्षमा एक दिन अष्टमी तिथिको राजदेवी मन्दिरमा हरेक वर्ष १४ हजारदेखि १५ हजारसम्म बोकाबली हुने गरेको छ ।

अन्य स्थानमा मनाइने दशैंभन्दा जनकपुरको दशैं विशेष रहेको केन्द्रीय त्रिभुवन विश्वविद्यालयको मैथिली विभागका पूर्वप्रमुख प्राध्यापक परमेश्वर कापडी बताउँछन् । अन्य स्थानभन्दा जनकपुरको दशैं तात्विक र सांस्कृतिक हिसाबले फरक रहेको उनको भनाइ छ ।

दशैंमा पूजा मात्र नगरी विभिन्न खाले पाठहरू गर्दै दैवी शक्तिलाई जगाउने गरिएकाले यस क्षेत्रको दशैं अन्य ठाउँभन्दा विशेष रहेको कापडी बताउँछन् । भन्छन्, ‘जनकपुरका लागि दशैं जागरणको माध्यम पनि हो ।’

आधुनिकताको प्रभाव बढिरहेका बेला जनकपुरका युवाको प्रयासले धर्म र संस्कृतिको जगेर्ना गर्न ठूलो मद्दत पुगेको स्थानीय राम युवा कमिटीका पूर्वअध्यक्ष प्रमोद चौधरी बताउँछन् । सरकारीस्तरबाट खासै पहल हुन नसकेको अवस्थामा यहाँका युवाले जनकपुरको दशैंलाई भव्यता प्रदान गर्न कुनै कसर बाँकी नराखेको उनको भनाइ छ । जनकपुरका अधिकांश स्थानमा युवा क्लबहरूको पहल र सक्रियतामा दशैंमा दुर्गा पूजा हुने गरेको छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।