काठमाडौं- दशैंका बेलामा बजाइने मालश्री धुनको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषता छ । नेपालीको महान चाड बडादशैंको समयमा जताततै मालश्री धुन छाएको छ । बजारमा दशैंको रौनक शुरु भइसकेको छ ।
मालश्री धुन दशैंलाई स्वागत गर्न बजाइन्छ । यो धुन प्रायः नेवार समुदायले बजाउँछन् । विशेषगरी काठमाडौंका नेवार समुदायमा मालश्री धुन बजाउने चलन छ । ग्रिष्म ऋतुको अन्त्य र शरदको आगमनसँग यो धुन बजाउने गरिन्छ ।
मालश्री धुनले नयाँ यामको शुरुवात भएको आभाष दिलाउँछ । ६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दशैं आएको आभाष दिलाउँछ । ६ वटा ऋतुका धुनमध्ये पहिलो हार्भेस्ट, दोस्रो हेमन्त, तेस्रो शरद, चौथो वसन्त, पाँचौं ग्रिष्म र छैटौं मनसुनका हुन्छन् ।
मालश्री शरद ऋतुको धुन हो । इन्द्रजात्रा सकिएलगत्तै मनसुनको अन्तिम र शरद ऋतुलाई स्वागत गर्दै बजाइन्छ । नेवार समुदायको धुन भइकन पनि सबै जातजातिले आफ्नै धुनका रूपमा मालश्रीलाई लिन्छन् ।
मालश्रीलाई सुख, शान्ति र समृद्धिको प्रतिक पनि मानिन्छ । र, यो धार्मिक उपासनाको ज्योति फैलाउने माध्यम पनि हो । त्यसै पनि हिन्दु संस्कृतिमा संगीत भन्नाले धार्मिक उपासनाका लागि प्रेरित गर्ने माध्यम मानिन्छ ।
बडादशैंका १५ दिनमा यो सुरिलो धुन बजाउने गरिन्छ । मालश्रीको ‘माल’ले खाना र फलफूलको अर्थ जनाउँछ भने ‘श्री’ले सुख, समृद्धि, धन र कृषिलाई जनाउँछ । यसले नेपाल कृषिप्रधान मुलुक भएको संकेत पनि गर्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई यसले लठ्ठ बनाउँछ ।
रेडियो र टेलिभिजनहरूमा मालश्री धुन बज्न नथालेसम्म दशैं आएको आभाष नहुने सर्वसाधारणको सोच पाइन्छ । यो गन्धर्व संगीतअन्तर्गत् पर्छ ।
६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दशैं आएको आभाष दिलाउँछ ।
फूलपातिको दिन घर–घरमा फूलपाति भित्र्याउने चलन छ । यस दिन मालश्री धुनलाई देवताहरूका राजा इन्द्रलाई भेटीको रूपमा बजाउने गरिन्छ । इन्द्रलाई वर्षाका देवता पनि मानिन्छ । र, बालीको सुरक्षा र अन्न उब्जाउन सहयोगी देवताका रूपमा उनको पूजा हुन्छ ।
रेडियो नेपालले ०२७ सालदेखि हरेक दशैंमा मालश्री नियमित रूपमा बजाउँदै आएको छ । ०४१ सालमा नेपाल टेलिभिजन सञ्चालनमा आएलगत्तै यसलाई श्रव्यदृश्यका रूपमा विकास गरिएको छ ।
मालश्री धुनको आफ्नै मौलिकता छ । यो धुनमा सप्त मातृकाको गुणगान झल्किन्छ । नवदुर्गाको आराधनाका लागि पनि मालश्री धुन अनिवार्यझैं बनेको छ । संस्कृतिविद तेजेश्वरबाबु ग्वँगका अनुसार संस्कृतमा मालश्रीको ‘माल’ भन्नाले आमा बुझिन्छ भने श्री भन्नाले श्रीयन्त्र भन्ने बुझिन्छ ।
दशैंमा दुर्गा भवानीको पुजा गरिन्छ, जसमा संसार चलाउने क्षमता रहेको धार्मिक विश्वास छ । तिनै दुर्गा भवानीको आराधना गर्ने धुनका रूपमा पनि नेवार समुदायले लिएको पाइन्छ । नेवारहरूले तन्त्र विद्याको आधारमा पनि यसलाई स्वीकार गरेका छन् । सबैमा श्रीयन्त्रको ज्ञान भने हुँदैन ।
सुर अर्थात् देवताहरूले असुर अर्थात् राक्षसहरूलाई पराजय गरेको खुशीयालीमा बडादशैं मनाउने चलन शुरु भएको धार्मिक विश्वास छ । खासगरी, दुर्गा भवानीले राक्षसहरूको विनास गरेको खुशीमा बडादशैंको शुरुवात भएको मानिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४