बिहीबार, साउन ७, २०८३

यस्तो छ बडादशैं र मालश्रीको 'कनेक्सन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दशैंका बेलामा बजाइने मालश्री धुनको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषता छ । नेपालीको महान चाड बडादशैंको समयमा जताततै मालश्री धुन छाएको छ । बजारमा दशैंको रौनक शुरु भइसकेको छ ।

मालश्री धुन दशैंलाई स्वागत गर्न बजाइन्छ । यो धुन प्रायः नेवार समुदायले बजाउँछन् । विशेषगरी काठमाडौंका नेवार समुदायमा मालश्री धुन बजाउने चलन छ । ग्रिष्म ऋतुको अन्त्य र शरदको आगमनसँग यो धुन बजाउने गरिन्छ ।

मालश्री धुनले नयाँ यामको शुरुवात भएको आभाष दिलाउँछ । ६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दशैं आएको आभाष दिलाउँछ । ६ वटा ऋतुका धुनमध्ये पहिलो हार्भेस्ट, दोस्रो हेमन्त, तेस्रो शरद, चौथो वसन्त, पाँचौं ग्रिष्म र छैटौं मनसुनका हुन्छन् ।

मालश्री शरद ऋतुको धुन हो । इन्द्रजात्रा सकिएलगत्तै मनसुनको अन्तिम र शरद ऋतुलाई स्वागत गर्दै बजाइन्छ । नेवार समुदायको धुन भइकन पनि सबै जातजातिले आफ्नै धुनका रूपमा मालश्रीलाई लिन्छन् ।

मालश्रीलाई सुख, शान्ति र समृद्धिको प्रतिक पनि मानिन्छ । र, यो धार्मिक उपासनाको ज्योति फैलाउने माध्यम पनि हो । त्यसै पनि हिन्दु संस्कृतिमा संगीत भन्नाले धार्मिक उपासनाका लागि प्रेरित गर्ने माध्यम मानिन्छ ।

बडादशैंका १५ दिनमा यो सुरिलो धुन बजाउने गरिन्छ । मालश्रीको ‘माल’ले खाना र फलफूलको अर्थ जनाउँछ भने ‘श्री’ले सुख, समृद्धि, धन र कृषिलाई जनाउँछ । यसले नेपाल कृषिप्रधान मुलुक भएको संकेत पनि गर्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई यसले लठ्ठ बनाउँछ ।

रेडियो र टेलिभिजनहरूमा मालश्री धुन बज्न नथालेसम्म दशैं आएको आभाष नहुने सर्वसाधारणको सोच पाइन्छ । यो गन्धर्व संगीतअन्तर्गत् पर्छ ।
 
६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दशैं आएको आभाष दिलाउँछ ।

फूलपातिको दिन घर–घरमा फूलपाति भित्र्याउने चलन छ । यस दिन मालश्री धुनलाई देवताहरूका राजा इन्द्रलाई भेटीको रूपमा बजाउने गरिन्छ । इन्द्रलाई वर्षाका देवता पनि मानिन्छ । र, बालीको सुरक्षा र अन्न उब्जाउन सहयोगी देवताका रूपमा उनको पूजा हुन्छ ।

रेडियो नेपालले ०२७ सालदेखि हरेक दशैंमा मालश्री नियमित रूपमा बजाउँदै आएको छ । ०४१ सालमा नेपाल टेलिभिजन सञ्चालनमा आएलगत्तै यसलाई श्रव्यदृश्यका रूपमा विकास गरिएको छ ।

मालश्री धुनको आफ्नै मौलिकता छ । यो धुनमा सप्त मातृकाको गुणगान झल्किन्छ । नवदुर्गाको आराधनाका लागि पनि मालश्री धुन अनिवार्यझैं बनेको छ । संस्कृतिविद तेजेश्वरबाबु ग्वँगका अनुसार संस्कृतमा मालश्रीको ‘माल’ भन्नाले आमा बुझिन्छ भने श्री भन्नाले श्रीयन्त्र भन्ने बुझिन्छ ।

दशैंमा दुर्गा भवानीको पुजा गरिन्छ, जसमा संसार चलाउने क्षमता रहेको धार्मिक विश्वास छ । तिनै दुर्गा भवानीको आराधना गर्ने धुनका रूपमा पनि नेवार समुदायले लिएको पाइन्छ । नेवारहरूले तन्त्र विद्याको आधारमा पनि यसलाई स्वीकार गरेका छन् । सबैमा श्रीयन्त्रको ज्ञान भने हुँदैन ।

सुर अर्थात् देवताहरूले असुर अर्थात् राक्षसहरूलाई पराजय गरेको खुशीयालीमा बडादशैं मनाउने चलन शुरु भएको धार्मिक विश्वास छ । खासगरी, दुर्गा भवानीले राक्षसहरूको विनास गरेको खुशीमा बडादशैंको शुरुवात भएको मानिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।