जनकपुरधाम- अहिले हरेक नेपालीलाई महान चाड दशैंको चटारो छ। बाहिर रहेकाहरुलाई घर पुग्न हतार छ भने घर पुगि सकेकाहरुलाई किनमेल किन्न हतार छ। जनकपुरमा अहिले दशैंको उत्कर्ष चरममा पुगेको छ । यहाँ एक दर्जनभन्दा बढी ठाउँमा धुमधामका साथ दुर्गाको पुजा गरेर दशैं मनाइँदै छ।
जनकपुरको प्रमुख आकर्षणका केन्द्र राजदेवी मन्दिरसहित दशैं मनाइने विभिन्न स्थानहरुमा अहिले पुजागर्ने श्रद्धालुहरुको भिड छ। यसैगरी राजदेवी मन्दिर नजिकै रहेको गोपाल धर्मशालामा जनकपुर उद्योग वाणिज्य संघले लगाएको सस्तो बजारमा उपभोक्ताहरुको घुइँचो व्यापक छ।
मन्दिरमा पुजागर्ने श्रद्धालु, सस्तो बजारमा किनमेलका लागि पुग्ने उपभोक्ता र मेला घुम्न पुगेका सर्वसाधारणका कारण राम मन्दिर, राजदेवी मन्दिरसहित पुजा मनाइने जनकपुरको विभिन्न ठाउँहरुमा ट्राफिक समस्या देखिएको छ। यसबाहेक दशैंकोबेला अत्याधिक भिडभाड हुने राजदेवी मन्दिरदेखि जानकी मन्दिर पुग्न बाटो नहुँदा झन समस्या बल्झिएको छ। सडक विस्तारका लागि त्यस क्षेत्रमा रहेका पसलहरु भत्काइकोले बाटो अवरुद्ध अवस्थामा छ।
अत्याधिक भिडभाडका कारण सडक जाम हुने समस्या देखिएपनि व्यवस्थापन गर्न ट्राफिक प्रहरी सक्रिय देखिएको छैन्। खास गरेर राम मन्दिर क्षेत्रमा अधिकांश समय गाडी, मोटरसाइकलका कारण सडक जाम हुने गरेको छ। तर, त्यस क्षेत्रमा ट्राफिक प्रहरीको सक्रियता न्युन रहेको स्थानीयहरुको गुनासो छ।
राम मन्दिर र राजदेवी मन्दिर क्षेत्रमा अत्याधिक भिडभाड रहेकोले मोटरसाइकल, गाडीजस्ता सवारी साधनको प्रवेश निषेध भए यस्तो समस्या नदेखिने स्थानीय प्रमोद साहले बताए। अधिकांश समय त्यस क्षेत्रमा ट्राफिकको समस्या देखिएपनि ट्राफिक प्रहरी ड्युटी गरेको कमै देखिएको उनको भनाइ छ।
दशैं अवधिभर हरेक वर्ष मन्दिर वरपर भिडभाड बढ्ने गरेको जानकारी हुँदाहुँदै पनि व्यवस्थापनका लागि ट्राफिक प्रहरीले खासै तयारी गर्न नसकेको स्थानीय सुरेश ठाकुरले बताए। यस्तो समस्या हुन नदिन भिडभाड हुने समय ट्राफिक प्रहरीको नियमित उपस्थिति हुनुपर्ने ठाकुरको सुझाव छ।
यसैगरी अव्यवस्थित रुपमा सञ्चालित ई-रिक्सा, अटो रिक्साजस्ता भाडाका सवारी साधनहरुले पनि जनकपुरको ट्राफिकलाई असहज बनाएको छ । निश्चित स्थान नहुँदा ई–रिक्सा, अटो रिक्सा, मोटरसाइकल, गाडीजस्ता सवारी साधनको जथाभावी पार्किङले ट्राफिकको थप समस्या देखिएको छ।
यता एकजना ट्राफिक प्रहरीले सीमित संख्यामा रहेको जनशक्तिका कारण आफुहरुलाई भ्इयाइ नभ्याइ रहेको बताए। ‘जनकपुर प्रदेशको राजधानी बनेको छ, भिआइपीहरुको आवतजावत भइरहन्छ,’ उनले भने,‘हाम्रो संख्या सीमित छ। उपलब्ध जनशक्तिले जिल्ला भ्याउनु परेको छ।’ चाडवाडको बेला भिडभाड बढेकोले समस्या आउन नदिन ट्राफिक प्रहरी सकभर प्रयास गरिरहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४