जनकपुरधाम- विजया दशमीको सातौं अर्थात सप्तमीको दिन मंगलबार जनकपुरसहित वरिपरीका ग्रामीण भेगहरुमा दर्शनार्थीहरुको भिड देखिएको छ। जनकपुरमा दशैंको अवसरमा पुजा हुने विभिन्न मन्दिरका साथै ग्रामीण भेगमा समेत चहलपहलमा वृद्धि भएको छ।
यसैबीच विजया दशमीको सातौं दिन जनकपुरस्थित राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठहरुमा फुलपाति भित्र्याइएको हो। मंगलबार बिहानै राजदेवी मन्दिरमा हिन्दु धार्मिक परम्परा अनुसार बेलको रुखबाट बेल तोडेर फुलपाति भित्र्याइएको हो।
राम मन्दिरका महन्त राम गिरी वैष्णवको नेतृत्वमा बाजागाजसहित श्रद्धालुहरुको लावालश्कर बेलको रुख नजिक पुगेर बेल तोडेको थियो। राम मन्दिरभन्दा करिब एक किलोमिटर पर रहेको मारवाडी सेवा समिति परिसरबाट बेल तोडेर फुलपाति भित्र्याइएको राजदेवी मन्दिरमा पुजा संयोजन गर्दै आइरहेको महावीर युवा कमिटीका महासचिव अजयकुमार गुप्ताले जानकारी दिए।
फुलपाति भित्र्याउनअघि नेपाली सेनाको टोलीले सात तोपको सलामी दिएको थियो। राजदेवी मन्दिरमा फुलपाति भित्र्याउनुपूर्व नेपाली सेनाले सात तोपको सलामी दिने परम्परा रहेको छ।
फुलपाति भित्र्याउने कार्यक्रमको अवसरमा सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी, नागरिक समाज, युवा क्लबका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेतासहित श्रद्धालुहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो।
यसैगरी राजदेवी मन्दिरसहित जनकपुरको रामानन्द चोक, मुरली चोक, भ्रमरपुरा चोक, पिडडिया माइस्थान, राजदेवी चोक, रजौललगायतका स्थानमा भइरहेको दशैं पुजाघरहरुमा समेत धुमधामका साथ फुलपाति भित्र्याइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४