काठमाडौं- दशैं, तिहारको अर्थतन्त्र ९ खर्बको हुने देखिएको छ। नेपालमा दशैं-तिहारलार्इ सबैभन्दा ठूलो चाडपर्वको रुपमा मनाइन्छ। यस बेला सार्वजनिक विदा पनि सबैभन्दा बढी दिइन्छ।
दशैं तिहारमा विदेशिएका नेपालीहरु फर्कने, रेमिट्यान्स आप्रवाह बढ्ने, अटोमोबाइलको बिक्री बढ्ने, यात्रुको चाप, लत्ताकपडाको व्यापार, मासु तथा मदिराको बिक्रीलगायत सम्पूर्ण कारोबार ह्वात्तै बढ्ने भएकोले पनि दशैं, तिहार तथा छठमा साढे ९ खर्ब रुपैयाँ बराबरको अर्थतन्त्र चलायमान हुने अनुमान गरिएको छ।
देशको अर्थतन्त्रलाई नजिकबाट नियालिरहेका अर्थशास्त्री केशव आचार्यले वर्षभरको सम्पूर्ण अर्थतन्त्रको करिब ४० प्रतिशत अर्थतन्त्रको हिस्सा दशैँ, तिहार र छठको रहेको बताउँछन्। ‘सामान्य अवस्थामा मात्रै पनि प्रत्येक महिना ८.३ प्रतिशतको दरले दुई महिनामा १६.७ प्रतिशत उपभोग गरिन्छ,’ उनले भने, ‘त्यसको दाँजोमा दशैं तिहार तथा छठको समयमा दुई गुणाभन्दा बढी उपभोग बढ्ने भएकोले समग्र वर्षभरको अर्थतन्त्रमध्ये उक्त चाडवार्डमा ४० प्रतिशत हिस्सा ओगट्ने भएको हो।’
त्यसैले पनि वर्षदिनको अर्थतन्त्रमध्ये दशैंतिहारमा मात्रै ४० प्रतिशत हिस्सा ओगट्ने उनको दाबी छ। अर्का अर्थशास्त्री पिताम्बर शर्माले भने वर्षभरीको अर्थतन्त्रमध्ये दशैंको अर्थतन्त्रको हिस्सा ३० प्रतिशतसम्म हुने बताए। उक्त चाडवार्डमा दैनिक उपभोग्य सामाग्रीदेखि अटोमोबाइलसम्मको खरिद बिक्री बढ्ने भएकोले प्रत्येकमहिना समग्र कारोबारको तुलनामा अत्यधिक बढ्ने उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकले पनि दशैं तिहारमा वर्षदिनको अर्थतन्त्र मध्येको २० प्रतिशत हिस्सा ओगट्ने तथ्यांक सार्वजनि गरेको विभिन्न अर्थशास्त्रीहरुको बताउँछन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणअनुसार आर्थिक वर्ष ०७४-७५ मा २५ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको मुलुकको कुल उपभोग थियो।
अघिल्लो आवमा २३ खर्ब २६ अर्ब रुपैयाँको थियो भने आव ०७२-७३ मा २१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर मुलुकमा कुल उपभोग गरिएको मन्त्रालयको तथ्यांकमा देख्न सकिन्छ।
तथ्यांक अनुसार हालसम्म बर्षैपिच्छे दुई खर्बले मुलुकको उपभोग दर बढेको छ। आव ०६७-६८ मा मुलुकको उपभोग ११ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो। त्यसयता गएको वर्षसम्म प्रत्येक वर्ष कुल उपभोग दुई खर्ब रुपैयाँ वृद्धि भएको छ।
यी पछिल्लो वर्षहरुको ट्रेन्डलाई आधार मान्ने हो भने चालु आव ०७५-७६ मा झन्डै साढे २७ खर्ब बराबरको मुलुकमा कुल उपभोग खर्च हुने देखिन्छ। अर्थविज्ञ तथा अर्थशास्त्रीहरुकाअनुसार वर्षभरी हुने अर्थतन्त्र मध्ये दशैं, तिहार र छठको उपभोग हिस्सा करिब ३५ प्रतिशत छ । जसअनुसार यो दशैं, तिहार र छठको अर्थतन्त्र ९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको हुने देखिन्छ।
त्यस्तै दशैंको यस दुई महिनाको अबधिमा प्रत्येक एक जना नेपालीले औसतमा ३४ हजार ४ सय रुपैयाँ खर्च गर्ने देखिन्छ। दशैं, तिहार तथा छठको अर्थतन्त्र करिब ९ खर्ब ६४ अर्ब रुपैयाँलाई नेपालको पछिल्लो जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ ले भाग गर्दा उक्त खर्च निस्किएको हो।
विश्व जनसंख्या दिवसको अवसर पारेर ०७२ सालमा केन्द्रीय तथ्यांक विभागले पछिल्लो नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २०२ पुगेकोे सार्वजनिक गरेको थियो।
चलयमान अर्थतन्त्र
दशैं, तिहार तथा छठको अबधिमा अर्थशास्त्री आचार्यले करिब ७ खर्ब रुपैयाँ नगत कारोबार हुने भने साढे दुई खर्ब जिन्सीमा खर्च हुने बताउँछन्। दशैंमा राजधानी छाडेर करिब २५ लाख संख्यामा बाहिरिदै छन्। प्रत्येक एक जनाको आते-जाते भाडा औसतमा ५ हजार रुपैयाँ मात्रै हिसाब गर्ने हो भने पनि १२ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने देखिन्छ।
त्यस्तै राजधानीमा ६२ हजारभन्दा बढी खसीबोका तथा च्याङ्ग्रा भित्रिने चौपाया खरिद-बिक्री सेवा संघका संरक्षक दिपक थापाले बताएका छन्। उनकाअनुसार खसीबोका च्याङ्ग्राको कारोबार मात्रै एक अर्ब रुपैयाँभन्दा बढीको हुन्छ।
दशैंमा नेपाल राष्ट्र बैंकले राजधानीमा मात्रै करिब डेढ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ। त्यो पनि अपुगर रहेको गुनासा गरिरहेका छन्। दशैंलाई नजिकैबाट नियालेका अर्थविज्ञ तथा अर्थशास्त्रीहरु दशैं, तिहार तथा छठ यस्तो पर्वले समग्र अर्थतन्त्र चलायमान मात्र नबनाएर गाउँतिर बगाउने बताउँछन्। उपभोग्य सामग्रीको व्यापक प्रयोगका कारण यस अवधिमा अर्थतन्त्र पनि उपभोगमा आधारित हुने उनीहरुको भनाइ छ।
दशैं र तिहारलाई लक्षित गर्दै भदौदेखि नै वस्तु तथा सामाग्रीको आयात शुरु हुने गरेको छ। चालु आवको पछिल्लो दुई महिनामा दुई खर्ब ३० अर्ब रुपैयाँको आयात भएको भन्सा विभागको तथ्यांकमा देख्न सकिन्छ। नेपाली अर्थतन्त्र व्यापारमुखि बन्दै गएको कारण त्यस्ता आयात उत्पादन नभई उपभोगका लागि हुने गर्दछ।
लत्ताकपडा व्यवसायीहरुले दशैं तिहारमा कपडाको व्यापार वार्षिक कारोबारको ४० प्रतिशतभन्दा बढी गर्ने बताउछन् । साथै मदिराको खपत समेत उच्चतम् रुपमा बढ्ने गरेको छ। यसपालि दशैं तिहारलाई लक्ष्य गरी साढे दुई महिनाको अबधिमा बीरगन्ज नाकाबाट मात्रै करिब दुई अर्ब रुपैयाँ मूल्य बराबरको मदिरा र इनर्जी ड्रिङ्स तेस्रो मुलुकबाट नेपाल भित्रिएको छ।
विगतमा नेपाली आफैंले गरेको उत्पादनको लेनदनमा दशैं सीमित हुन्थ्यो। दशैंकै लागि भनेर कृषि उपज र खसी बोका पहिलेदेखि तयार पार्ने चलन थियो । अहिले परिस्थित बदलिएको छ। आयको स्रोत बढेसँगै नेपलीहरु उपभोगको संस्कृतितर्फ उन्मुख भएको देखिएको छ।
दशैं, तिहारमा चल सम्पत्ती जोड्नेदेखि घुमघाममा रमाउने संस्कृति बढ्न थालेको छ। घर र देशबाहिर रहेकाहरु चाडपर्व मनाउन फर्किने पुराना चलनलाई सपरिवार घुम्न निस्किने संस्कृतिले विस्थापित गर्न थालेको देखिन्छ।
लामो छुट्टि सदुपयोग गर्दै प्रतिव्यक्ति लाख रुपैयाँसम्म खर्च गरेर नेपालीहरु सिंगापुर, मलेसिया, बैंकक, थाइल्यान्डजस्ता गन्तव्यमा घुम्न निस्किन्छन्। यो पछिल्लो फेरिदो जीवनशैली भएको अर्थशास्त्री आचर्यको भनाइ छ। ‘खासगरी हुनेखाने वर्गका लागि विदेश भ्रमण संस्कृतिको रुपमा परिवर्तन हुदै गएको छ,’उनि भन्छन्।
ट्राभल तथा टुर एजेन्सीहरुले यही मौकामा भ्रमणका विभिन्न स्किम ल्याउने गरेका छन्। आन्तरिक उडानतर्फको जहाजको टिकटै नपाएको गुनासो यात्रुहरु गर्छन्।
दशैं, तिहारका यस्ता नयाँ आयामलाई वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिट्यान्सले पनि सहयोग पुर्याएका छन्।
रेमिट्यान्स, तलबलगायत शीर्षकमा यस समयमा २० अर्बबढी रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिने गरेको राष्ट्र बैंकले बताउदै आएको छ। त्यस्तै महालेखा नियन्त्रकको कार्यालयका अनुसार दशैंलगायत चाडपर्वमा सरकारी कर्मचारी (निजामति, सेना र प्रहरी) ले मात्र ६ अर्ब रुपैयाँ बढी पेश्की बुझ्छन्।
सन् २०११ को राष्ट्रिय जीवनस्तर सर्वेक्षणले देशमा १० वर्षभन्दा माथिका ४८ प्रतिशत मानिसले रोजगार पाएको देखाउँछ। अधिकांश संस्थामा दशैंकै लागि भनेर अतिरिक्त तलब दिने चलन छ। सरकारी कार्यालयहरुले भने अतिरिक्त तलबको पूरा एक महिनाको तलब भत्तास्वरुप दिने गरेको छ।
त्यस्तै जीवनस्तर सर्वेक्षणले देशका ५६ प्रतिशत घरघुरीले रेमिट्यान्स भित्र्याउने गरेको उल्लेख गरेको छ। रेमिट्यान्सका रुपमा भित्रिने रकममध्ये दैनिक उपभोगको लागि नै लगभग २४ प्रतिशत खर्च हुने गरेको छ भने २४.३ क्रिण तिर्नमा प्रयोग हुने गरेको राष्ट्र बैंकको सर्वेक्षणले देखाउँछ।
राष्ट्र बैंककाअनुसार बर्षभरी भित्रिने रेमिट्यान्स मध्ये दशैंमा मात्र करिब ३० देखि ३५ प्रतिशतसम्म पुग्ने गरेको छ । रेमिट्यान्स कम्पनीहरु दशैं तिहार, छठलाई अवसरकै रुपमा सदुपयोग गर्दछ।
अर्थशास्त्रीहरुले भने झै दशैंमा चल सम्पत्ती जोड्ने परिपाटी पनि बढेर गएको छ। गाडी व्यवसायीहरुले दशैंलाई लक्षित गर्दै भदौदेखि नै नाडा अटो शोको रुपमा गाडी मेलाको आयोजना गर्नेदेखि दशैंमा विभिन्न छुट योजनाहरु सर्बजनिक गर्ने गर्छन्।
अटोमोबाइल व्यवसायीहरुकाअनुसा वर्षभरि हुने कुल सवारीको कारोबारमध्ये करिब ३० प्रतिशत दशैंकै बेला हुने गर्छ। सस्तोदेखि महंगो, नगददेखि किस्ताबन्दीमा ग्राहकहरुले गाडी खरिद गर्ने गरेको देखिन्छ।
त्यस्तै दशैं, तिहारको अवसर पारेर ग्राहकहरुले विभिन्न इलेक्ट्रीकल सामाग्रीहरु टीभी, मोबाइललगायत खरिद गर्ने गरेको पाइन्छ। त्यस्ता सामाग्रीहरुको व्यापार पनि ह्वात्तै बढ्ने इलेक्ट्रीकल सामाग्री कम्पनीहरुको भनाइ छ।
दशैंमा दैनिक उपभोग्य सामाग्रीदेखि गाडी भाडादर, हवाई भाडादरलगायत महंगिने र कालोबजारी मौलाउने गरेको देखिन्छ। यसप्रकारको कुरीतिले मूल्यवृद्धिलाई बढवा दिने देखिन्छ।
नियन्त्रणका तमाम प्रयासका बावजुद अन्य महिनाको तुलनामा दशैंजस्ता चाडबाडमा मूल्यवृद्धि उच्च हुने सरकारी तथ्यांकले नै देखाउँछन्। राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि असोजमा महँगी १० प्रतिशतसम्म हुने गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४