बिहीबार, साउन ७, २०८३

सखिया नृत्य- थारु समुदायको अटूट आस्था र विश्वास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर- मादलको तालसँगै कम्मर मर्काएर थारु युवतीहरुले दशैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट ओतप्रोत छ। सामूहिक रुपमा सबैका घरघर गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पुर्‍याएको छ। 

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्भ र अन्त्य गर्ने गरिन्छ। यस नृत्यमा कञ्चनपुरका थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ। 

थारु समुदायले कृष्ण जन्माष्टमीको दिनदेखि सखिया नृत्यको शुरुआत गरेर दशैंसम्म निरन्तरता दिने गर्दछन्। तर, आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना गर्ने गरिएको पाइन्छ। पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आइएकामा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीहरुलाई पट्यार लाग्ने भएपछि हाल छोट्याएर दशदेखि पन्ध्र दिनसम्म मात्रै नाच्ने गरिँदै आइएको थारु अगुवाहरु बताउँछन्।
 
थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाबारे छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाँजोपाँजो मिलाइने गरिन्छ।
 
गुरुवा (झाँक्री) ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवकयुवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको शुक्लाफाँटा नगरपालिका ३ जोनापुर गाउँका थारु अगुवा मनिराम चौधरीले बताए।
 
सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ। नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीच बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ। 

मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ। अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिने बडघर चौधरीले बताए। नृत्यमा गीत गाउने महिलाहरुको अगुवाइ गर्नेलाई “मोह्रिन्या” भन्ने गरिन्छ। मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीहरुलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरु नृत्य पस्कने गर्दछन् जसलाई थारु भाषामा खोट (पैंया) भनिन्छ। 

थारु राजनीतिकर्मी दानसिंह दहितले भने, “पैंया २२ प्रकारको हुने भए पनि हाल मदारीहरुले आफैं सिर्जना गरेर पैंयाको तरीकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्छ।” 

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन्। यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भीड लाग्ने गरेको छ । सप्तमीको दिनसम्म रात्रि समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ। 

अष्टमीको रात आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भन्ने गरिन्छ। थारु संस्कृतिका जानकार परदेशी चौधरीले भने,“यस दिन थारु समुदायले कुभिण्डोको भेंडा बनाई बलि दिने चलनसमेत रहेको छ।”
 
पञ्चमीको दिन अघि सादा पोशाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीहरुले रङ्गिबिरङ्गी ऐना जडान गरिएका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन्। 

हातमा मैजरी लिएर मादलको तालसँगै महिलाहरुले बजाउने समेत गर्दछन्। अष्टमीको दिन पछि राति नाचिइँदै आइएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ। 
दिउँसो नाचिने सखिया नृत्यमा थारु युवतीहरुले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन्। 

बचपनसे कान्हा गुल्ली डण्डा (खेलनै रे हाँ) 
ओइसे तरपे जीया मोर हाई रे सँवारिया रे हाँ । 

तिरछी बईठी कान्हा (बसिया बजाबै रे हाँ) 
ओइसे तरपे जीया मोरे साँबरिया रे हाँ । 

छतिया चिहुरी चिहुरी कान्हा (मामा मरनै रे हाँ) 
कन्सा मुवल भैनक हात हाई रे साँबरिया । 


गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंस वध गरिएको प्रसंग उल्लेख गरिएको पाइन्छ। यस नाचलाई दशैंका दिन धनी, गरीब, गाउँका मान्यजन सबैका घरघरमा गएर देखाइने भएकाले विगतका रिसराग बिर्सेर सबैले हेर्ने गर्दछन्। बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ। 

दशैंपछि गाउँमा नृत्यमा सहभागी सबैजनालाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताए। यसलाई थारु भाषामा ‘ख्यारा’ खाने भन्ने गरिन्छ। यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने पिपलाडीका वडघर नरेन्द्र चौधरीले बताए।

धार्मिक मान्यता अनुरुप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधि हट्ने र वर्षभरीका लागि अन्न खान पुग्ने विश्वास थारु समुदायमा रहेको छ। यसलाई अर्को शव्दमा थारु समुदायले धर्ती जाग्ना भन्ने गर्दछन्। 

सखिया नृत्यको आयोजनाले धर्ती जागेर प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा रहेको छ । विदेशी पर्यटकहरुलाई समेत यस नृत्यले गाउँसम्म तानेर तस्वीर खिच्न बाध्य पारेको छ। 

थारु समुदायका धार्मिक आस्था बोकेका गीत र नृत्यप्रति युवा वर्गले चासो देखाउन थालेपछि थारु संस्कृतिको संरक्षणमा टेवा पुगेको थारु सामाजिक कार्यकर्ता रेवन चौधरी बताउछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।