काठमाडौं- 'मी टू' अर्थात् महिलामाथि हुने यौन दुर्व्यवहारको शिकार 'म पनि' अभियान शुरु भएको १२ वर्षपछि यसले चर्चित कलाकार, प्रसिद्ध पत्रकारदेखि मन्त्री र व्यापारीसम्मका काला कर्तुतहरूको पर्दा उघारिरहेको छ।
अफ्रो-अमेरिकी महिला टाराना बुर्क (नागरिक अधिकारकर्मी) ले यौनहिंसामा परेका पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले सन् २००६ मा 'मी टू मुभमेन्ट' सञ्चालन गरेकी थिइन्। उनले विशेषगरी काला जातिका महिलाहरू, जोसँग उनीहरूले भोगेको पीडा बाहिर ल्याउने अन्य कुनै माध्यम थिइन्, तिनीहरूका लागि टाराना बुर्कले शुरु गरेको अभियानले अहिले संसारभर तरंग पैदा गरेको छ।
यो अभियान विशेषगरी सहानुभुतिमार्फत सशक्तीकरण गर्ने उद्देश्यले शुरु गरिएको थियो। यसको मुल मर्म भनेको पीडित महिलाहरू एक्लो छैनन्, उनीहरूको साथमा अरू पनि छन् भन्ने आभाष दिलाउने उद्देश्यले यो अभियानको शुरुवात गरिएको थियो।
हलिउड अभिनेत्री अलिसा मुलानोले १५ अक्टोबर २०१७ मा ट्विटरमा प्रवेश गराएपछि यो अभियानले व्यापकता पायो। जसले अमेरिका, युरोप हुँदै दक्षिण एसियासम्म तरंग पैदा गरेको छ।
यो अभियान हलिउड हुँदै बलिउड प्रवेश गरेको एक महिना मात्र भएको छ। तर, यसले भारतका नाम चलेका पत्रकारदेखि कलाकारसम्मका यौन दुर्व्यवहारको पर्दाफास गरिदिएको छ।
पितृ सत्तात्मक समाजमा कुनै उपल्लो ओहोदाको पुरुषमाथि आरोप लगाउँदा कसैले पनि पनि गम्भीरतापूर्वक लिँदैनन्। तर, मीटू अभियानले पीडितको मौनता चिरिदिएको छ र बन्द भएका यौनहिंसा र दुर्व्यवहारका दर्दलाई बाहिर ल्याउन सहयोग गरेको छ।
गत सेप्टेम्बरमा बलिउड अभिनेत्री तनुश्री दत्ताले चर्चित अभिनेता नाना पाटेकरमाथि फिल्म सुटिङका क्रममा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएपछि भारतका महिलाले मुख खोल्न शुरु गरे। सन् २००८ मा फिल्म 'हर्न ओके प्लिज'को सुटिङका बेला नाना पाटेकरसँगै निर्माता विवेक अग्निहोत्रीले पनि आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप उनले लगाइन्। विवेकले आफूलाई कपडा खोल्न लगाएको र नानाले जबर्जस्ती अन्तरंग दृश्य लिन खोजेको आरोप उनको छ।
तनुश्रीपछि कमेडियन अदिति मित्तलले मुख खोलिन्। उनले कमेडियन उत्सव चक्रवर्तीले 'न्युड तस्बिर' पठाउन कर गरेको आरोप लगाएकी छन्। ती महिलाले भनेकी छन्, 'उत्सवले मेरो नांगो तस्बिर पठाउन भन्दै आफ्नो गुप्तांगको फोटो पठाएको थियो।' उत्सव एआईबी वेब सिरिजका कलाकार हुन्।
त्यसपछि भारतीय मिडियाकर्मीदेखि मनोरञ्जन क्षेत्रका महिलाले आफूमाथि लगातार भइरहेको यौन दुव्र्यवहारका बारेमा सार्वजनिक रूपमा मुख खोल्न थाले। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका विदेश राज्यमन्त्री पनि यही विवादमा तानिएका छन्। विदेश राज्यमन्त्री एमजे अकबर सम्पादक हुँदा महिला पत्रकारमाथि गरेको दुव्र्यवहार पर्दाफास भएको छ। अहिलेसम्म आठ महिला पत्रकारले अकबरलाई आरोप लगाएका छन्।
सन् २०१४ सम्म पत्रकारकै रूपमा सक्रिय अकबरलाई महिलामाथि हिंस्रक यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। 'मी टू' अभियानमा अहिलेसम्म मुछिएकाहरूमध्ये उनी सबैभन्दा माथिल्लो पदका भारतीय हुन्। दी टेलिग्राफ, दी एसियन एज र इन्डिया टुडेजस्ता पत्रिकाको नेतृत्व गरेका अकबरलाई भारतीय पत्रकारिताका सबैभन्दा सिर्जनशील र सफल सम्पादक मानिन्छ। उनी ५६ वर्षको हुँदा दी एसियन एजमा इन्टर्न गर्न आएकी १८ वर्षीय युवतीलाई जबर्जस्ती गरेकोसमेत आरोप लागेको छ।
अफ्रो-अमेरिकी महिला टाराना बुर्कले शुरु गरेको अभियानले अमेरिका, यरोप तथा दक्षिण एसियाली मुलुकभारत हुँदै नेपालसम्म तरंग पैदा गर्दैछ।
राज्यमन्त्री अकबरबारे सबैभन्दा पहिले वरिष्ठ पत्रकार प्रिया रमानीले करिब एक वर्ष पहिले 'भोग इन्डिया'मा लेखेको 'टू दी हार्वे विन्स्टेनस अफ दी वल्र्ड' शीर्षकको लेखलाई रि-ट्विट गर्दै आफ्नो कथा सार्वजनिक गरेकी थिइन्।
इन्डिया टुडे, दी इन्डियन एक्सप्रेस र दी मिन्टमा काम गरिसकेकी प्रियाले अकबरलाई सम्बोधन गर्दै लेखेकी छन्, 'म २३ वर्षकी थिएँ, जब तपाईं ४३ वर्षको एक सम्पादक हुनुहुन्थ्यो, दी एसियन एजका लागि मैले जागिरको आवेदन दिएपछि अन्तरवार्ताका लागि तपाईंले मलाई बोलाउनुभएको थियो तर एक होटेलमा। दक्षिणी मुम्बईको एक होटेलमा पुगेर फोन गरेपछि तपाईंले मलाई कोठामा बोलाउनुभएको थियो। तर, त्यो अन्तरवार्ता कम र डेट ज्यादा थियो।'
दी इन्डियन एक्सप्रेसमा काम गरेकी पत्रकार सुमा राहाले पनि प्रियाको पोस्ट सेयर गर्दै एसियन एजमा जागिरका लागि अन्तरवार्ता दिन कोलकाताको ताज बंगालामा बोलाएर दुव्र्यवहार गरेको बताएकी छन्। यससँगै पत्रकार कनिका गहलोत, सुपर्णा शर्माले पनि अकबरले आफूलाई अनुचित व्यवहार गरेको बताएकी छन्।
फोर्स म्यागेजिनकी कार्यकारी सम्पादक गजाला वहाबले पनि एसियन एजमा काम गरेको समयमा अकबरले यौन शोषण गरेको बताएकी छन्। अकबरले आफूलाई मानसिक यातना दिएको र त्यसैकारण राजिनामा दिनुपरेको उनको भनाइ छ।
पत्रकारितामा सफल अकबर सन् २०१४ को लोकसभा चुनावताका भारतीय जनता पार्टीमा प्रवेश गरे । र, सन् २०१५ मा झारखण्डबाट राज्यसभाको चुनाव जिते। अकबर स्वयं भने यो विषयमा केही बोलेका छैनन्।
महिला पत्रकार सन्ध्या मेननले ट्विट गरेर टाइम्स अफ इन्डियाका हैदरावादमा कार्यरत रेजिडेन्ट सम्पादक केआर श्रीनिवासले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। जुन आरोप श्रीनिवासले स्वीकारसमेत गरिसकेका छन्। टाइम्स अफ इन्डियाकै सम्पादक गौतम अधिकारी डीएनएमा प्रधानसम्पादक हुँदा अनुमतिबिनै किस गर्न खोजेको आरोप सहकर्मी पत्रकारले लगाएकी छन्।
हफिङटन पोस्टमा काम गरेका भारतीय पत्रकार अनुराग बर्माले पनि स्न्याप च्याटमा अश्लील म्यासेज पठाएको बताउँदै केही महिलाले स्क्रिन सट सार्वजनिक गरे। रमाइलोका लागि आफूले ती म्यासेज पठाएको बताउँदै अनुरागले सार्वजनिक रूपमै माफी मागे।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झा यौन दुव्र्यवहारको आरोप लागेपछि पदमुक्त भएका छन्। पूर्वसहकर्मी अवन्तिका मेहताले दुव्र्यवहारको आरोप लगाएपछि पत्रकार झाले हिन्दुस्तान टाइम्सको ब्युरो चिफ र राजनीतिक सम्पादकको पदबाट राजिनामा दिएका हुन्। मेहताले केही दिनअघि आफूलाई झाले अनुपयुक्त म्यासेज पठाएको आरोप लगाएकी थिइन्।
व्हाट्स एपमा च्याट गर्ने क्रममा झाले मेहतालाई आफूलाई उक्त म्यासेजहरू पठाइएको आरोप लगाएकी छन्। मेहताले प्रमाणका लागि आफू र झाबीचको व्हाट्स एप संवादको स्क्रिन सर्टहरू ट्विट गरेकी थिइन्।
बलिउडको चर्चित कम्पनी फ्यान्टममा काम गरेकी एक महिलाले निर्देशक विकास बहलले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाइन्। मे २०१५ मा गोवाको एउटा होटेलमा विकासले यौनहिंसा गरेको उनको आरोप छ। हफिङटन पोस्टलाई अन्तरवार्ता दिँदै विकासले आफ्नो गल्ती स्वीकार पनि गरेका छन्।
यसअघि अभिनेत्री कंगना रनावतले पनि विकास बहलमाथि फिल्म 'बम्बै वेलवेट' सुटिङका क्रममा दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्। कंगनाको सफल फिल्म 'क्विन' का निर्देशक पनि विकास नै हुन्। 'बम्बै वेलवेट'मा भने सुटिङ नै छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
भारतीय चर्चित टेलिभिजन सो 'तारा'का मुख्य कलाकार आलोक नाथले आफूलाई बलात्कार गरेको आरोप निर्माता-निर्देशक बिन्ता नन्दाले लगाएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, 'यो कस्तो विडम्बना हो, जसले मलाई बलात्कार गर्यो, उसैलाई यहाँ संस्कारी अभिनेता भनिन्छ।'
त्यसैगरी, चर्चित लेखक चेतन भगतलाई पनि यस्तै आरोप लागेको छ। चेतन विवाहित भए पनि आफूलाई प्रेम प्रस्ताव राखेको स्क्रिन सट एक महिलाले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। चेतनले तुरुन्तै फेसबुकमा गल्ती स्वीकार्दै आफूले यस विषयमा श्रीमतीसँग पनि माफी मागेको प्रतिक्रिया दिएका छन्।
भारतीय विपक्षी पार्टी कांग्रेस आईका सभापति राहुल गान्धीले ट्विट गर्दै लेखेका छन्, 'यो महिलालाई आदर र सम्मानपूर्वक व्यवहार गर्ने समय हो भनेर सबैले भन्न सक्नुपर्छ।'
नेपालमा पनि यसको प्रभाव
भारतमा महिलाद्वारा आफूमाथि भएको दुव्र्यवहार सार्वजनिक गर्ने क्रम जसरी बढ्दै गएको छ, त्यसको कम्पन नेपालसम्म पनि आइपुगेको छ। केही महिला लेखक तथा पत्रकारले सामाजिक सञ्जालमा यसको छनक दिए पनि यथेष्ट प्रमाण कसैले पनि सार्वजनिक गरेका छैनन्।
नेपालका महिलाहरूले सरकारका मन्त्री एवं पत्रकारले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। मूलधारको पत्रकारितामा संलग्न महिला पत्रकारहरूले ट्विटरबाट शक्तिशाली व्यक्ति तथा पुरूष सहकर्मीहरूबाट भएका यौन दुव्र्यवहारका घटनाहरू सार्वजनिक गर्न थालेका छन्।
अन्तर्राष्ट्रिय न्युज च्यानल अलजजिराका लागि नेपालस्थित संवाददाता सुबिना श्रेष्ठले दुई दशकअघिको एउटा घटना उल्लेख गर्दै आफूलाई तत्कालीन मन्त्रीले यौन दुर्व्यवहार गरेको सार्वजनिक गरेकी छन्। सन् २००० तिर सार्वजनिक कार्यक्रममै तत्कालीन एक मन्त्रीले आफूमाथि यौन दुर्व्यवहार गरेको उनले लेखेकी छन्। १८ वर्षअघिको उक्त घटनाबारे ट्विट गर्दै सुबिनाले उपत्यकाको पर्यटकीय क्षेत्र नगरकोटमा त्यस्तो घटना भएको बताएकी छन्।
'सहस्राब्दी, नगरकोट। म उदघोषक थिएँ। त्यो साँझ तत्कालीन युवा मन्त्रीले आफ्नो हात मेरो तिघ्रामा राख्न खोजे। त्यो यौन दुर्व्यवहार थियो। मैले उनको हात पन्छाएँ। मेरा वरिष्ठ सहकर्मीहरू त्यहाँ थिए तर उनीहरूले यो विषयमा केही बोलेनन्। त्यो पनि उनीहरूको सहअपराध नै हो,' सुबिनाले ट्विटरमा लेखेकी छन्।
यसैगरी, पूर्वपत्रकार मीना कैनीले पनि कार्यक्षेत्रमा सहकर्मीबाट यौन दुर्व्यवहार झेल्नुपरेको बताउँदै ट्विट गरेकी छन्। कुनै समय नेपालका ठूला मिडिया हाउसमा काम गरेकी उनले एक वरिष्ठ सहकर्मीले आफूलाई उनकै कारमा चुम्बन गर्न खोजेको घटना सार्वजनिक गरेकी छन्। ती व्यक्ति को थिए भन्नेबारे कैनीले खुलाएकी छैनन्।
'मी टू'को सकारात्मक प्रभाव
- यस अभियानले यौनहिंसा र दुव्र्यवहारमा परेका महिलालाई संगठित हुन, जीवनमा भोगेका तीतोसत्यका विषयमा आपसमा सेयर गर्न र समाजमा सहज रूपमा घुलमिल हुन सहयोग गर्छ।
- महिलाहरूलाई उनीहरूको अधिकारको विषयमा सचेत गराउनुका साथै जनचेतना बढाउन सहयोग गर्छ।
- पुरुषहरूलाई उनीहरूले गर्ने दुर्व्यवहारको परिणामका विषयमा सचेत गराउन सहयोग गर्छ।
- पुरिएका अपराध तथा तीतोसत्यलाई उजागर गरी कानूनी दायरामा ल्याउन सहयोग गर्छ। यसले यौन, जाति वा धर्मका अलावा व्यक्तिगत पीडालाई कम गर्न मद्दत गर्छ।
'मी टू' अभियान अहिले संसारमा सबैभन्दा चर्चाको विषय बनेको छ। तर, यसको निश्चित कुनै लक्ष्य नभएको र केवल पीडित र पीडकको प्रतिशत बढाउने काम मात्रै भएको बताएँदै आलोचनासमेत हुन थालेको छ। यो अभियानले पीडितलाई थप पीडा दिनसक्नेतर्फ पनि सचेतता अपनाउनुपर्ने सुझाव दिइएको छ। यो अभियानले व्यावसायिक रूपमा यौन पेशामा लागेका महिलाहरूका सवालहरूलाई उनीहरूले भोगेका चरम यातनाका विषयलाई समेट्ने नसकेकोसमेत टिप्पणी हुन थालेको छ।
एक अध्ययनअनुसार सार्वजनिक भएका यौनहिंसा तथा बलात्कारका घटनामा १० प्रतिशत झुठा भएको देखिएको छ। त्यसकारण यस्ता गलत आरोपहरूप्रति पनि सचेतता अपनाउनुपर्ने सुझाव आउन थालेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४