सुर्खेत- जिल्लाको बाबियाचौर बजार नजिकै टिनको पाताले छाएका दुई वटा कच्ची भवन छन् । चौरमा एउटा प्रतीक्षालय छ र वरिपरी रंगविरंगी धजाहरू । त्यही कच्ची भवनको अगाडि लस्करै सुकाइएका केही थान कपडा देख्न सकिन्छ । झट्ट हेर्दा कुनै कटेज हो वा कसैको घर भन्ने छुट्याउन गाह्रो हुन्छ । तर, यो कसैको घर वा कटेज नभई गुरुकुल शिक्षा अध्ययन हुने एउटा विद्यालय हो ।
यो विद्यालय हरेक वर्ष दुई पाथी अर्थात १६ माना खाद्यान्न उठाएर चलेको छ । आधुनिक शिक्षा पद्धतिको विकाससँगै गुरुकुल शिक्षा लोप हुँदै गइरहेका बेला सुर्खेतमा भने खाद्यान्न उठाएर गुरुकुल सञ्चालनमा छ ।
पञ्चपुरी नगरपालिकास्थित शिवधाम मन्दिर व्यवस्थापन समितिले गाउँमा खाद्यान्न उठाएर विद्यालय सञ्चालन गरेको हो । समितिले विद्यालय सञ्चालनका लागि प्रतिबाली १/१ पाथी खाद्यान्न संकलन गर्ने गरेको छ । नगरपालिकाका पाँच वडामा रहेका प्रत्येक घरबाट अन्नबाली संकलन गरेर गुरुकुल विद्यालय सञ्चालन गरिएको हो ।
सरकारले दिने अनुदान रकमबाट मात्रै विद्यालय सञ्चालन गर्न कठिनाइ भएपछि बालीघरे प्रथा अवलम्बन गरिएको हो । शिवधाम मन्दिर व्यवस्थापन समितिले ०६३ सालमा गठन गरेको गुरुकुल विद्यालय तदर्थ समितिले झण्डै एक दशक लगाएर ८ वैशाख ०७२ देखि विद्यालयको व्यवस्थापन गरिरहेको छ ।
गुरुकुल सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतले ०७३ सालमा अनुमति दिएको थियो । दुई कक्षासम्म सञ्चालन गर्ने अनुमतिप्राप्त विद्यालयमा हाल कक्षा चार कक्षासम्म अध्ययन/अध्यापन हुँदै आएको छ ।
'शैक्षिक सत्र शुरु हुनासाथ प्रत्येक वैशाखमा भर्ना लिइन्छ । विद्यार्थीलाई धर्मकर्म गर्दा आवश्यक पर्ने गम्छा, धोतीदेखि गाँस, बाससहितको सबै सुविधा छ,' प्रधानाध्यापक वासुदेव शर्मा भन्छन् । उनका अनुसार छात्रहरूका लागि ६ महिनामा प्रतिपरिवार १/१ पाथी बाली उठाउने गरिएको छ ।
मन्दिरमा आउने भक्तजनबाट उठ्ने भेटी, मन्दिरमा चढाइने चामल र पिठोसमेत विद्यालयले लिने गरेको उनले जानकारी दिए । त्यसका लागि पञ्चपुरी नगरपालिका वडा नम्बर ३, ५, ६, ८ र ९ बाट खाद्यान्न संकलन गरिन्छ । यसरी संकलन गरिएको अन्नबालीबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खानाको व्यवस्था मिलाइएको छ ।
विद्यालयमा धार्मिक ग्रन्थका साथै सरकारी विद्यालयमा पढाइ हुने पाठ्यक्रम पनि पढाउने गरिएको छ । 'बिहान एक घण्टा धार्मिक ग्रन्थ पढाइ हुन्छ,' शर्माले भने, 'दिउँसो सरकारी विद्यालयमा पढाइ हुने अंग्रेजी, गणित, विज्ञान विषय पनि पढाइ हुन्छ ।'
विद्यालयमा गुरुकुल नेपाली र गुरुकुल सामाजिक सहित ६ विषय अध्यापन हुन्छन् । बिहान आठदेखि नौ बजेसम्म वेद, पुराण, गीतालगायत धर्मग्रन्थहरू पढाइ हुन्छन् । विद्यालयमा हाल १८ छात्र छन् ।
गुरुकुलमा अध्ययनका लागि कर्णाली र सुदुरपश्चिम प्रदेशबाट विद्यार्थीहरू आउने गरेका छन् । प्रधानाध्यापक शर्माका अनुसार विद्यालयमा अध्ययनरत छात्रमध्ये सुर्खेतबाहेक दैलेखबाट तीन जना र कैलालीबाट एक जना छन् ।
गुरुकुलमार्फत् शास्त्री, आचार्यलगायत उपाधि प्राप्त गरेपछि ज्योतिषी, वैद्य, कविराजलगायत लोकसेवामा समेत अवसर मिल्ने प्रधानाध्यापक शर्माको भनाइ छ । तर, पछिल्लो समय हराउँदै गएको गुरुकुल शिक्षामा विद्यार्थी संख्या भने न्यून रहेको उनले बताए । विद्यालयमा दलित, जनजाति, पिछडा वर्गलगायतले समेत पढ्न पाउने व्यवस्था छ ।
तर, हालसम्म ब्राम्हण समुदायका छात्रहरू मात्रै आउने गरेका छन् । 'विद्यालयमा कुनै विभेद छैन तर अन्य समुदायका बालबालिका शास्त्रीय शिक्षा लिन आएका छैनन्,' उनले भने, 'प्रचार अभावका कारण पनि विद्यालय ओझेलमा परेको छ ।'
विद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा एक लाख ८८ हजार रुपैयाँ सरकारले अनुदान दिएको छ । विद्यालयमा तीन शिक्षक, एक कार्यालय सहयोगी र एक भान्सेसहित पाँच कर्मचारी छन् । पर्याप्त दरबन्दी नहुँदा पनि विद्यालय सञ्चालनमा चुनौती हुने गरेको प्रधानाध्यापक शर्माको भनाइ छ ।
भौतिक पूर्वाधारको अभाव पनि उत्तिकै छ । मन्दिर व्यवस्थापन समितिले वृद्धाश्रमका लागि बनाएको भवनमा कक्षा सञ्चालन भइरहेको छ । आश्रमका लागि मन्दिर परिसरमा टिन लगाइएको चारकोठे भवन बनाइएको छ ।
भौतिक पूर्वाधार, शैक्षिक सामग्री र प्रविधिको अभाव विद्यालयका समस्या हुन् । विभिन्न अभाव र कठिनाइका बीच लोप हुने अवस्थामा पुगेको गुरुकुल शिक्षालाई निरन्तरता दिइएको उनले बताए । गुरुकुल शिक्षालाई सरकारले पनि प्राथमिकता दिएको पाइँदैन । पञ्चपुरी नगरपालिकाले चालु आर्थिक वर्षमा समग्र शिक्षा क्षेत्रको सुधारका लागि भनेर ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
गुरुकुल शिक्षाका लागि भने बजेटले सम्बोधन गरेको छैन । नगरपालिका मेयर उपेन्द्र थापाले गुरुकुलको भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने जनाए ।