काठमाडौं- कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को अन्त्येष्टिअघि आयोजना गरिएको श्रद्धाञ्जली सभामा झडप भएको छ।
विराटनगरको मुख्य बजार रोडशेष चोकमा पदमको शवयात्रामा सहभागी र प्रहरीबीच झडप भएको हो। श्रद्धाञ्जली सभास्थलबाट मुख्यमन्त्री कार्यालयतिर प्रदर्शनकारी प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो।
प्रहरीको निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले लाठी र अश्रुग्यास हानेका छन्। बजार क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ।
बेलबारीमा अन्त्येष्टि गर्नुअघि पदमको शवयात्रासँगै धरान, इटहरी र विराटनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।