वीरगंज- बारामा ४५ वर्षीया महिलाको हत्याको आरोपमा संलग्न फरार यूवकलाई प्रहरीले तीन सातापछि पक्राउ गर्न सफलता पाएको छ।
६ असोजमा घाँटी रेटी हत्या गरिएकी कलैया उपमहानगरपालिका १३ बलिरामपुर निवासी ४५ वर्षिया सियापति देवी धोबिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २८ वर्षिय रविन महत्तो धानुकलाई पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरका अनुसार हत्यापछि फरार रहेका रविनलाई कलैया १० मटिअर्वाबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको हो।
बलिरापुरदेखि १ किलोमिटर दक्षिणपूर्वमा अवस्थित पसाहा खोला नजिकै आफ्नै खेतमा घाँस काट्न गएकोबेला सियापतिलाई नियन्त्रणमा लिएर रविन र उनकी श्रीमतिले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
प्रहरी नियन्त्रणमा रहेका रविनले सियापति देवी र आफ्नो पिताबीच लामो समयदेखि गैरवैवाहिक सम्बन्धको कारणले पारिवारिक किचलो बढेकोले बदलास्वरुपत सियापति देवीको हत्या गरेको बयान दिएको प्रहरी नायब उपरिक्षक राठौरले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४