भैरहवा- हिन्दी चलचित्र हेर्न भारतीय दर्शकहरु सीमावर्ति शहरका नेपाली फिल्म हलमा धाउँछन् भन्दा पत्यार नलाग्ला तर यो सत्य हो। सीमावर्ती शहर भैरहवामा रहेको अत्याधुनिक प्रविधियुक्त काशी सिनेप्लेक्समा आउने अधिकांश दर्शक भारतीय नै रहेका छन्।
५ वर्ष अघि काठमाण्डौं बाहिर पहिलोपटक खुलेको उक्त सिनेप्लेक्समा हिन्दी चलचित्र लाग्ने बित्तिकै सीमावर्ति भारतीय शहर सुनौलि, नौतनवा, कोल्हुई र गोरखपुरसम्मका मान्छेहरु फिल्म हेर्न आउने गरेका छन्।
स्थापनाकालदेखी हाल सम्म करिब ३ करोड लगानीमा सञ्चालित उक्त सिनेप्लेक्समा डेढ महिनादेखी थ्रि डी प्रविधी शुरु भएको छ। टू के प्रोजेक्सनको हाई रिशोलुशन भएको फिल्महलमा प्रयोगमा आउने उक्त प्रविधी विश्वकै नविनत्तम भएको सिनेप्लेक्सका सन्चालक ओम जैसीले दाबी गरे।
जैसीका अनुसार हरेक आइतबार ३० देखी ४० जना सम्म भारतीयहरु उक्त हलमा फिल्म हेर्न आउने गरेका छन्। ९२ सिट क्षमताको उक्त हल खुलेसंगै हेटौडा, बुटवल, चितवनमा पनि आधुनिक सिनेप्लेक्स खुलेका हुन्।
नेपालीको लगानीमा नेपालमै अत्याधुनिक सुविधा सम्पन्न फिल्म हल सन्चालनमा भएसंगै ४५ वर्ष अगाडी फिल्म हेर्न गोरखपुर धाउने चेतन पन्त आजभोली आफ्नै घरआगनमा विदेशी हलमा जस्तै बसेर फिल्म हेर्न पाएकोमा मख्ख छन्।
अग्रज पत्रकार समेत रहेका पन्त भन्छन्, ‘कोल्हुई गोरखपुर सम्मका भारतीयहरु हिन्दी फिल्म हेर्न नेपालका चलचित्र हलमा आएको देखेर म त दंग परेको छु । यसले पर्यटन प्रबद्र्धनमा पनि सहयोग पुर्याउँछ। ’

उनी धेरै पटक फिल्म हेर्न साथीहरुसंग गोरखपुर गएका थिए। ०२४ साल ताका पक्लिहवामा रहेको ब्रिटिस क्याम्पमा हरेक शुक्रबार सर्वसाधरणलाई पनि नयां फिल्म हेर्न दिइन्थ्यो । क्याम्पमा नयां फिल्म आएको त्यतिबेला आकाशतिर हेरेर थाहा पाइने रोमाञ्चक कथा फिल्मका पारखी पन्तले बताए। उनले भने, ‘आकाशमा एक पंखे जहाज उडेको देखेपछि हामी नयाँ फिल्म आयो भनेर पक्लिहवा तिर लाग्थ्यौं। ’ एक पंखे जहाजले नया मुभि लिएर आउने गर्दथ्यो त्यतिबेला।
समय फेरिएसंगै यतिबेला हप्तामा सयौं भारतीयहरु सीमावर्ती भैरहवा, बुटवलका फिल्म हलमा साथीभाई र परिवार सहित आइरहेको देखिन्छ। नेपालका चलचित्र हलको स्तरीयता वृद्धिसंगै यस्तो भएको हो ।
भैरहवामा काशी सिनेप्लेक्सका अतिरिक्त सिद्धार्थ फिल्म हल र पद्मा श्री चलचित्र मन्दिर सञ्चालनमा छन्। तीन सय ७० जना बाल्कोनी र छ सय स्पेशल गरी करिब एक हजारको हाराहारीमा सिटसंख्या रहेको पद्मा श्रीमा पछिल्लो ३ वर्ष यता नियमित रुपमा नेपाली कथानक चलचित्र लाग्दै आएको छ। उक्त हलका सन्चालक राजु पौडेलले भने, ‘हामीले विचमा ब्रजरंगी भाईजान र बाहुबली हिन्दी फिल्म लगायौं नत्र तीन वर्षदेखी नेपाली फिल्म नै चलाउदैं आएका छौं। दर्शकको संख्या पनि उल्लेख्य छ। ’
बुटवलमा मिलन र कालिका चलचित्र हल नियमित सन्चालनमा छन्। ती फिल्म हलमा पनि दर्शकको घुईचो लाग्ने गर्दछ । त्यसका अतिरिक्त आधुनिक प्रविधीयुक्त भ्यू सिनेप्लेक्स बुटवलमा पनि दर्शकको घुईचो नै लाग्ने गर्दछ। बुटवल भैरहवाका फिल्म हलमा शनिबार र आइतबारका दिन भारतीय दर्शकहरुको घुईचो नै लाग्ने गरेको देखिन्छ।
कुर्चिमा चुईगम चप्केर पाइन्ट नै बर्बाद हुने गरेको, हलमा पान पुकार गुट्खा खानेहरुले फोहर गर्ने गरेको पहिलेका हलहरुमा मान्छेको लाग्ने गरेको भीड जत्ति लाग्दथ्यो त्यसको दोब्बर हलहरुले स्तरीयता वृद्धि गरेसंगै भएको अनुभूति पत्रकार माधव ढुंगानाले सुनाए। उनले भने, ‘आधुनिक प्रविधयुक्त फिल्म हलले पर्यटन प्रबद्र्धनमा पनि टेवा दिईरहेका छन्।’
फिल्म हेर्न नियमित हलमा जाने गरेका मेघा बैंक क्षेत्रीय कार्यलय भैरहवाका प्रबन्धक रामु पन्थि काशि सिनेप्लेक्स जस्ता आधुनिक प्रविधीयुक्त फिल्म हलको कारण आफु जस्तो फिल्मका पारखीलाई हौसला प्रदान गरेको बताए। उनले भने, ‘म परिवारसंगै हलमा गइरहने मान्छे, । हलमा गयो , रक्सी खाएकाहरुको हल्ला , हलभित्र झगडा लफडा, फोहोर र दुर्गन्धित सबै सास्ती खेपेर फिल्म हेरिन्थ्यो। तर अब अहिले थ्री डि प्रविधीमा आनन्दले एसीमा बसेर परिवारसंगै फिल्म हेर्नको मज्जा नै बेग्लै छ। ’
राम्रो हलमा बसेर फिल्म हर्ने इच्छा पुरा गर्न काठमाण्डौं धाउनुपर्ने बाध्यता आधुनिक प्रविधीयुक्त फिल्म हलको भैरहवामा सन्चालनसंगै टरेको फिल्मका पारखी विनोद खरेलले बताए।
पुराना हलहरुमा ०६७-०६८ सालसम्म रिल मार्फत फिल्म सञ्चालन गरिन्थ्यो। जसको कारण फिल्म रिलीज भएको ३ , ४ महिनापछि मात्रै हलहरुले फिल्म पाउदथें । अहिले डिजीटल प्रविधीको शुरुवात भएसंगै देशैभर एकैपटक फिल्म हलमा फिल्म रिलीज हुने गर्दछ।
सीमावर्ति क्षेत्रका हलहरुमा पछिल्लो समय नेपाली फिल्मले कब्जा जमाउन थालेको पनि देखिन्छ। इन्टुपीन्टु नेपाली फिल्मले सुई धागा हिन्दी फिल्मीलाई चलचित्र बजारबाट आउट गराईदिएको थियो। यसैगरी एकैचोटी रिलीज भएका २ रुपैयां नेपाली फिल्मले जग्गा जासुस हिन्दी फिल्मलाई पनि टिक्न नदिएको उदाहरण छ।
चाडपर्व नजिकिएसंगै नेपाली फिल्म छक्का पन्जा र जयभोले रिलीज हुने तयारीमा छन्। यी दुबै फिल्म रिलीज हुनेभएपछि दशैभरी कुनैपनि हिन्दी फिल्म नेपालका हलहरुमा नलाग्ने निश्चित भएको छ।
गुणस्तरीयता र राम्रा नेपाली फिल्मका कारण नेपालको चलचित्र उद्योग पनि दिनप्रतिदिन सबल बन्दै गएको देखिन्छ। शनिबारका दिन नेपाली फिल्म हलमा विद्यार्थि परिचय पत्रको आधारमा पचास प्रतिशत सहुलियत पनि रहेको छ। सामन्य हलमा ५० रुपैयादेखी १ सय ५० रुपैयासम्म टिकट दर भएकोमा आधुनिक प्रविधीयुक्त सिनेप्लेक्सहरुका २ सय देखी ५ सय रुपैया सम्म रहेको छ।
हातहातमा युट्युब मार्फत फिल्म हेर्न सकिने नया नया प्रविधी भएता पनि हलमा बसेर फिल्म हेर्नेको मज्जा बेग्लै भएकोले हलमा दर्शकको संख्या कहिल्यै नघट्ने हलमा फिल्म हेर्न नियमित गईरहने दर्शक इरफान वारिश बताउछन्। युवा पुस्तासंगै पाका पुस्ताहरु पनि फिल्म हलमा गइरहने सन्चालक राजु पौडेल बताउंछन् । उनी भन्छन् , ‘पछिल्लो समय फिल्म वितरकहरुले नेपाली फिल्मलाई पनि प्राथमिकता दिएका छन्। तर हामी सन्चालकहरुले नाइट शो पनि सन्चालन गर्नुपर्छ । फिल्म राम्रो भएपछि हिन्दी नेपाली दुबै फिल्म नेपालमा मज्जाले चल्छ।’
भैरहवामा ०३६ सालताका दुर्गा क्लोनीमा पन्चरत्न फिल्म हल सन्चालनमा आएको थियो। सो हल ०४८ साल ताका बन्द भयो । ०४७ सालमा बसडिलवामा भगवति फिल्म हल शुरु भयो। सो पनि हाल बन्द छ। ०५४ सालमा हाटबजारमा स्मृति फिल्म हल सन्चालन भयो। उक्त हल पनि ४ वर्ष चलेर बन्द भयो ।
बुटवल फिल्म हल, सालझण्डीको जय सन्तोषी, तौलिहवाको गौतमबुद्ध र कृष्णनगरको उदय सिनेमा हल पनि बन्द छन्। फेरिएको समयसंगै हलहरुले स्तरीयता बृद्धि नगर्दा दर्शकको संख्या एकातिर घट्न गएको छ भने अर्कोतिर घरमै बसेर मोबाइल तथा ल्यापटप मार्फत फिल्म हेर्ने प्रचलन बढेकोले पनि पुराना फिल्म हल बन्द हुनुपर्ने अवस्थामा पुगेको हल सन्चालक पौडेलले बताउँछन्। केही वर्ष पहिले माओवादीहरुले नेपाली फिल्म हलमा हिन्दी फिल्म सन्चालन गर्न नदिदां पनि सीमावर्ति क्षेत्रका हलहरु नियमित सन्चालनमा आउन नसकेका हुन्।
दशैंको अवसर पारेर यहांका फिल्म हलमा यतिबेला छक्का पन्जा ३ लागीरहेको छ। उक्त फिल्म हेर्नेको पनि निकै घुईचो देखिन्छ। दशैं मनाउन रुपन्देही आएकाहरुले यतिबेला बुटवल भैरहवाका फिल्म हलमा छक्का पन्जा हेर्न पाउनेछन्। भोली देखी देशैभरी एकैसाथ रिलीज हुन लागेको जय भोले पनि हलमा लाग्नेछ। हलहरुले दशैंलाई मध्यनजर गरी दैनिक चार शो फिल्म सन्चालन गर्ने तयारी गरेका छन्। रुपन्देहीका फिल्म हलहरुमा भारतीय दर्शक र नवलपरासी, कपिलवस्तु तथा रुपन्देहीका दर्शकहरु आउने गर्दछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४