काठमाडौं- नेपाली कांग्रेसका संस्थापनइत्तरका नेताहरुले पार्टीको विधानमार्फत एक व्यक्ति एक पदको अवधारणालाई अघि बढाउने भएका छन्।
विजया दशमीको अवसरमा पार्टी महामन्त्री डा. शशांक कोइरालाले निजी निवास महाराजगञ्जमा आयोजना गरेको दिवाभोजमा नेताहरुले एक पद एक व्यक्तिको अवधारणालाई विधानमा समेट्ने बिषयमा एकमत भएर नेतृत्वलाई दबाब दिने सहमति भएको छ। बैठक विधान संशोधन मस्यौदा समितिका सदस्यहरुसँग सु्झाव दिने र छलफल गर्ने बिषयमा केन्द्रीत भएको नेता अर्जुननरसिंह केसीले बताए।
नेताहरुबीच भएको छलफलमा पार्टीलाई सामूहिक नेतृत्वमा लैजानु पर्ने, केन्द्रीय पदाधिकारी, संसदीय समिति, अनुशासन समिति र निर्वाचन समितिको गठन निर्वाचन प्रकृयाबाटै चयन गर्नु पर्ने निष्कर्ष निकालिएको थियो। बैठकमा समानुपातिक कोटाबाट अवसर पाउने सदस्यलाई दोहोर्याएर अवसर नदिने र कार्यकारी पदमा एकै व्यक्ति रहन नहुने गरी विधान संशोधन गर्ने सहमति भएको केसीले बताए।
उनले संविधानको धारा २६९ को उपधारा ४ (ख) बमोजिम कुनै पनि राजनीतिक दलको संघीय र प्रादेशीक संगठनका पदाधिकारी निर्वाचन माध्यमबाटै गर्नुपर्ने भएकोले कांग्रेसको विधान पनि सोही बमोजिम हुनु पर्ने निष्कर्ष निकालेको बताए। नेता केसीले १२ औं महाधिवेशनदेखि नै पदाधिकारीका सबै पद निर्वाचनबाटै गठन गर्नु पर्ने वताउँदै आएका थिए।
बैठकमा कांग्रेको विधान मस्यौदा समितिका सदस्यहरु दिलेन्द्रप्रसाद बढु, नविन्द्रराज जोशी, प्रदीप पौडेल र अमरसिंह पुनको उपस्थित थियो। बैठकमा महामन्त्री कोइरालासहित बरिष्ठ नेता रामचन्द्र पौडेल अर्जुननरसिंह केसी, दीलबहादुर घर्ती, दीपक गिरी, डा. रामशरण महत लगायतको उपस्थिति थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४