बिहीबार, साउन ७, २०८३

राजधानीमा भित्रिए २३ हजार खसीबोका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बडादशैंका लागि राजधानीमा २३ हजार दुई सय खसीबोका र च्याङ्ग्रा भित्रिएका छन्। दशैंमा राजधानीमा कुल भित्रिने खसीबोका तथा च्याङ्ग्रामध्ये आइतबारसम्ममा ३८ प्रतिशत ल्याइसकिएको हो ।

अहिलेसम्ममा दशैंकै लागि भनेर १५ हजार खसीबोका भने सात हजार च्याङ्ग्रा राजधानी भित्रिएको चौपाया खरिद-बिक्री सेवा संघका संरक्षक दीपक थापाले जानकारी दिए। ‘बाँकी भित्रिने क्रम जारी छ,’ उनले भने, ‘त्यसबाहेक सामान्यतया राजधानीमा प्रत्येक दिन दुई हजार संख्यामा खसीबोका भित्रिँदै आएका छन् ।’  यो दशैंमा निजी क्षेत्रका चौपाया व्यवसायीले ६० हजारको संख्यामा खसीबोका राजधानीमा भित्र्याउने बताएका छन् । त्यसमा ५० हजार खसीबोका र १० हजार च्याङ्ग्रा छन् । च्याङ्ग्राको संख्या आवश्यकताअनुसार अझ बढ्न सक्ने संघका संरक्षक थापाको भनाइ छ । 

संस्थानले १२ सय भित्र्यायो
 
नेपाल खाद्य संस्थानले हालसम्ममा एक हजार दुर्इ सय २७ खसीबोका र भेडाच्याङ्ग्रा भित्र्याएको छ । आइतबारसम्ममा नौ सय २० वटा भेडाच्याङ्ग्रा र तीन सय सात वटा खसीबोका राजधानीमा भित्र्याएको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।

संस्थानले शुक्रबारदेखि नै राजधानीमा खसीबोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको थियो । ‘हालसम्म खसीबोका र च्याङ्ग्रा दुवै गरी ६० प्रतिशत बिक्री भइसकेको छ,’ उनले भने, ‘बाँकी भित्रिने क्रम जारी छ । खसीबोका भने व्यवसायीहरुसँगको प्रतिस्पर्धाको कारणले केही कम आएको छ ।’ 

तर, लक्ष्यअनुसार भित्र्याउन संस्थान जोडतोडले लागेको प्रवक्ता सापकोटाको भनाइ छ । संस्थाले खसीबोका एक र भेडा च्याङ्ग्रा एक हजारको संख्यामा राजधानी भित्र्याउने लक्ष्य राखेको छ । 

अहिले संस्थानले थापाथलीस्थित धान गोदामबाट खसीबोका र च्याङ्ग्राको बिक्री वितरण गरिरहेको छ ।
 
व्यापारीले चर्को मूल्य लिएर खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दा उपभोक्ता ठगीमा पर्ने बताउँदै बजारमा हस्तक्षेपका लागि संस्थानले दशैंमा खसीबोका र च्याङ्ग्रा राजधानीमा भित्र्याउँदै आएको हो । सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरी बिक्री गरिरहेको छ । प्रवक्ता सापकोटाका अनुसार अहिले संस्थाले जिउदो च्याङ्ग्राको मूल्य प्रतिकिलो सात सय र खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेको छ । 

उक्त मूल्य खुला बजारको तुलनामा च्याङ्ग्रामा प्रतिकिलो करिब ५० र खसीबोकामा ३० रुपैयाँसम्म कम रहेको प्रवक्ता सापकोटाको दाबी छ । एक जनाले एउटा मात्र खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न पाउने उनको भनाइ छ । 

व्यवसायी र संस्थानले ६२ हजारभन्दा बढी खसीबोका बिक्री गरेवापत दशैंमा एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने देखिन्छ ।

 व्यवसायीहरूले खसीबोका भारतबाट मात्रै ७० प्रतिशतभन्दा बढी राजधानी भित्र्याउने बताएका छन्। च्याङ्ग्रा ४० प्रतिशतभन्दा बढी केरुङ नाका हुँदै तिब्बतबाट भित्र्याउने संरक्षक थापाको भनाइ छ । 

सिन्धुली, जनकपुर, बाँके, बर्दिया, सुर्खेत, सल्यान, जाजरकोट, दाङलगायत स्थानबाट व्यवसायीहरूले खसीबोका ल्याइरहेका छन् । संस्थानले तुलसीपुर, मकवानपुर, पर्सालगायत स्थानहबाट खरिद गरिरहेको छ । च्याङ्ग्रा मुस्ताङबाट भित्र्याइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्