वीरगञ्ज- भूकम्पपछिको पुनर्निर्माण र मुलुक संघीयतामा प्रवेश गरेसँगै ठूला परियोजनामा उल्लेखनीय विदेशी लगानी भित्रिन थालेको छ ।
विदेशी लगानीसँगै सरकारले जलविद्युत्, विमानस्थल, पुल, अस्पताललगायत ठूला परियोजनालाई प्राथमिकता दिएपछि निर्माण सामग्रीको बजार क्रमशः विस्तार हुँदै गएको छ । बजार विस्तारिँदै जाँदा अहिले देशैभर मुख्य औद्योगिक करिडोरहरूमा सिमेन्ट, डण्डी र फलामे पाइप उत्पादन गर्ने स्टिल उद्योगको लहर चलेको छ ।
देशकै सबैभन्दा ठूलो बजार राजधानीबाट सबैभन्दा छोटो दूरीमा अवस्थित मुख्य औद्योगिक करिडोर वीरगञ्ज-पथलैया करिडोरमा समेत आधा दर्जन नयाँ स्टिल उद्योग थपिँदैछन् । क्याल समूह, सौरभ समूह, गोल्छा समूहसँगै केही नयाँ उद्योगीसमेत स्टिल उद्योगमा लगानी गरिरहेका छन् ।
नयाँ लगानीकर्ताका रूपमा युवा उद्यमी प्रेम जाटियाको नेतृत्वमा सात युवाले रियल स्टिल्स उद्योग सञ्चालनमा ल्याउँदैछन् । उद्योगका प्रबन्धक निर्देशक जाटिया औषधी उत्पादक पृष्ठभूमिका हुन् भने कार्यकारी निर्देशक दिपल खन्ना फलामे डण्डीको व्यापार पृष्ठभूमिबाट आएका हुन् ।
वीरगञ्ज-२८ बगहीमा करिब ४२ करोड रुपैयाँ लगानीमा निर्माणाधीन यो उद्योग आगामी ६ महिनाभित्र सञ्चालनमा आउँदैछ। उद्योगले वार्षिक ३० हजार टन स्टिल पाइप, १६ हजार टन सटर पत्ति, नौ हजार टन सटर गाइड र नौ हजार टन फलामे तार उत्पादन गर्नेछ । यी उत्पादनहरू भवन निर्माण तथा औद्योगिक निर्माणमा प्रयोग हुन्छन् ।
उद्योगको प्रबर्द्धकमध्येका सन्दीप तुल्स्यानले भने, 'विकास निर्माणका ठूला योजनासँगै निर्माण सामग्री उद्योगको सम्भाव्यता देखिएपछि अग्रसर भएका हौं।'
क्याल समूहको लगानीमा बाराको लिपनीमालमा ८७ करोड रुपैयाँ लगानीको नारायणी इस्पात उद्योग सञ्चालनमा समेत आइसकेको छ । वार्षिक दुर्इ लाख टन डण्डी उत्पादन क्षमताको यो उद्योगले क्याल समूहकै स्वामित्वमा रहेको नारायणी ब्रान्डमै डण्डी उत्पादन गरिरहेको छ ।
पहिलो चरणमा नारायणी स्पातबाट डण्डी उत्पादन थालेको यो कम्पनीले चाँडै एमएस बिलेटसमेत उत्पादन गर्ने भएको छ । डण्डी उत्पादनका लागि एमएस बिलेट मुख्य कच्चा पदार्थ हो ।
क्याल समूहकै सवा एक अर्ब रूपैयाँको लगानीमा गत माघदेखि सञ्चालनमा आएको वार्षिक एक लाख मेट्रिक क्षमताको नारायणी स्ट्रिप्स प्रालिले जस्तापाता उत्पादन गरिरहेको छ । सौरभ समूहको अगुवाइमा परवानीपुर-ड्राइपोर्ट सडक खण्डको बगहीमा तीन अर्ब २८ करोड लगानीमा सर्वोतम स्टिल्स प्रालि निर्माणाधीन छ । गोल्छा समूहको ८९ करोड लगानीमा बिन्दवासिनी गाउँपालिकामा हुलास आइरन इन्डस्ट्रज प्रालि सञ्चालनमा आउने भएको छ ।
उद्योग विभागका अनुसार स्टिलका भाँडाकुँडा उत्पादनमा फर्च्युन स्टिल इम्पेक्सले २१ करोड र एंगल पट्टी, वर्गाकार पाइप उत्पादनका लागि जय मातादी स्टिल्स प्रालिले पाँच करोड रूपैयाँ लगानी गर्दैछन् ।
शालिमार समूहले सिमरास्थित आफ्नो सिमेन्ट उद्योगलाई स्तरोन्नतीसँगै उत्पादन क्षमतासमेत वृद्धि गरिरहेको छ । नयाँ प्लान्ट पुससम्ममा सञ्चालनमा आइसक्ने शालिमार समूहका अध्यक्ष अशोक वैधले नेपाल समयलार्इ जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४