काठमाडौं- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जीवितै उद्धार गरिएका आरोहीलाई आज काठमाडौँ लगिएको छ।
सात हजार पाँच सय मिटरको उचाइमा मृत भेटिएका स्कटल्यान्डका नोयल हान्नाको शव हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताए।
उनका अनुसार बेहोस अवस्थामा जीवितै भेटिएका भारतका बलदेव कौरलाई पनि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको सिभिल अस्पतालमा लगिएको छ। सेभेन समिट टेकमार्फत अन्नपूर्ण आरोहणका लागि आएका हान्ना सुतेकै ठाउँमा बिहान मृत भेटिएका थिए।