काठमाडौं- हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्ने भएको छ। कार्कीले मुख्यमन्त्रीको रूपमा गत पुस २५ गते शपथग्रहण गरेका थिए।
सय दिनको अवधिलाई समेटेर सरकारका मुख्य उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए। हालसम्म सरकारले गरेका राम्रा काम सार्वजनिक गरिने खनालको भनाइ छ।
सबै मन्त्रालयसँग विवरण माग गरिएकोमा आज पत्रकार सम्मेलन गर्दै सय दिनका उपलब्धि सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए। मुख्य उपलब्धिको रूपमा कोशी प्रदेशको नामकरणमा सरकारले गरेको सहजीकरणलाई पनि उल्लेख गरिने छ।
नयाँ सरकार र नयाँ संसद् आएसँगै हालसम्म मन्त्रालय घटाउने र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित भएको छ। सरकारले गठन गरेको एक कार्यदलले प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापनको निम्ति स्थिति पत्र सार्वजनिक गरिसकेको छ। तर, सोही अनुसारका ऐन, कानुन तथा नियमावलीहरू निर्माणमा सरकारको ध्यान जान अझै सकेको छैन।
अन्य प्रदेश सरकारको तुलनामा कोशी प्रदेश सरकार सक्रिय देखिएको र सय दिनमै परिणाम देखिने गरी केही काम भने गरेको छ।