विराटनगर- मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना सोमबार राति पक्राउ परेका छन्।
विश्वास धिमालको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धिमालसहित २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्कालाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार तीनै जनालाई राति ११:३० बजेतिर पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुको साथबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको एसपी पोखरेलले बताए। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको उनको भनाइ छ।
पक्राउ परेकाहरु लागूऔषधका प्रयोगकर्ता र कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।