अछाम- उडान बन्द भएको १३ वर्षपछि साँफेबगर विमानस्थलमा आईतबारबाट अतिरिक्त उडान सेवा सञ्चालन भएको छ। नेपाल वायु सेवा निगमको जहाजले हप्ताको २ पटक आईतबार र बुधवार अतिरिक्त उडान भर्ने भएको छ।
नेपाल वायु सेवा निगमको ९ एन एबीटी नम्बरको विमानले आईतबार दिउँसो १ बजेर १० मिनेटमा साँफेबगर बिमानस्थलमा अवतरण गरेको हो। विमानमा दुई चालक दलका सदस्य र साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुवँर सहित १४ जना सर्वसाधारणलाई लिएर बिमान नेपालगंञ्जबाट उडेको थियो।
साँफेबगरबाट पनी १२ जनाले नेपालगंञ्जका लागी टिकट काटेको प्रवक्ता वालगिरी कुवँरले जानकारी दिए। उनले भने, ‘साँफेबगरबाट एक जना बिरामी सहित ११ जना गएका छन्, साँफेबगरबाट नेपालगंञ्ज ४ हजार ८ सय ३५ र नेपालगंञ्जबाट साँफेबगरसम्मको ४ हजार ७ सय ३५ रुपैंया भाडा ताकेको छ।’ विमानस्थल सञ्चालनमा आएको खुशीयालीमा स्थानीय बाजागाजा सहित बिमान चालक दलका सदस्यहरुलाई स्वागत भब्य गरिएको छ।
साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले बर्षाेदेखिको अछामी जनताको सपना आज पुरा भएको बताए।

उनले भने, ‘बिमानस्थल सञ्चालन हुन्छ कि हुन्न भन्ने शंका आशंका बिचमा जहाज सञ्चालन गर्न सफल भएका छौ , अब यसको निरन्तरताको लागी सबै जनप्रतिनिधिहरुले लाग्नुपर्छ । यहाँका सबै प्रशासनिक कामहरु प्रदेशको राजधानीका हुने भएकाले निकट भबिष्यमा साँफे-धनगढी पनी जहाज सञ्चालन गर्नेछौं। विमानका चालक पेम्बा शेर्पाले जहाज अवतरणका लागी साँफेबगर बिमानस्थल निकै सहज रहेको बताए। उनले भने अवतरणका लागी सहज छ ,टावरमा प्राबिधिक कर्मचारी भईदिएको भए झनै सहज हुने थियो।’
मेल्लेख गाउँपालिकाका बिन्दु कुँवरले बिगतमा गाडीको यात्रा निकै कठिन हुने गरेकोले आजको यात्रा निकै सहज भएको बताईन् । उनले भनिन् नेपालगंञ्जबाट ३० मिनेटमा अछाम पुगियो, गाडीको यात्रा मलाई निकै कठिन हुन्छ यसरी सहजै पुग्न पाउँदा खुशी लागेको छ। केहि दिनलाई मात्र नभएर अब निरन्तर प्लेन सञ्चालन हुनुपर्छ।’ जहाज निरन्तर सञ्चालनका लागी स्थानीयहरुले जोड दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४