काठमाडौं- वैदेशिक रोजगारीबाट फर्किएका एक पीडितलाई साउदी अरब रियाल देखाई पीडितको साथबाट ५० ग्रामको सुनको ब्रासलेट ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१० नसिथौंली घर भई काठमाडौं मुलपानी बस्ने ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानीसिंह घिसिङ रहेका छन्।
पासपोर्ट नभएका कारणले साउदी अरब रियाल साट्न मिलेको छैन तपाईले लगेर साट्नु भन्दै पीडितलाई प्रलोभनमा पारी पीडितको साथबाट सुनको ब्रासलेट लिई फरार भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं चाबाहिलबाट पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
गाडी चोरीमा संलग्न दुई समातिए
कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि पार्किङ गरी राखेको बा.५ च ९६५७ नम्बरको गाडी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-२ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने २८ वर्षीय अशोक लामा र काठमाडौं चोभार बस्ने मकवानपुर थाहा नगरपालिका-१२ घर भएका २३ वर्षीय किरण स्याङतान रहेका छन्।
गत चैत ३० गते राति उक्त गाडी हराएको र कीर्तिपुर नगरपालिका-६ चारघरेस्थित सुवर्ण महर्जनको चक्रतिर्थ मल्टिपरपोज प्रालिको गोदाममा राखिएको सवारी साधनको पाटपुर्जाहरु चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा काठमाडौं चोभार डाँडास्थित खाली चौरमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको अवस्थामा उक्त गाडीसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।
थप सोधुछको क्रममा उक्त गाडी र सुवर्ण महर्जनको गोदामबाट चोरी भएका सामानहरु समेत उनीहरूले चोरी गरेको खुल्न आएको हो। उनीहरू उपर चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा- १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिवास नगरपालिका-५ बस्ने २९ वर्षीय कुल बहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। कुल बहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबसताक्षी नगरपालिका-३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।