भजनी- कैलालीको टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका थिए। दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री गर्छन्।
अरुको बारीबाट मकै खरिद गरेर उनी श्रीमतीसहित दिनभर मकै बेच्न व्यस्त देखिन्छन्। सानो मकै रु २० र ठूलो मकै २५ मा बिक्री हुन्छ। श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता चौधरी मकै पोल्न।
“केही गरेर खानलाई आफूसँग तागत भन्दा अरु कुनै सीप छैन। खेतीपाती गर्नका लागि जग्गा छैन”, कलैया भन्छन्, “अरुको बारीबाट मकै खरिद गरेर पोलेर बिक्री गर्ने गरेका छौंँ। त्यसैबाट आएको पैसाले घरखर्च चलाउन थालेका छौं।” त्यहीँ मकै बेचेर दैनिक एक हजारदेखि दुई हजारसम्मको कमाइ हुनेगरेको कलैया बताउँछन्।
एकतापुर शिविरकी कल्याणी चौधरीले तीन वर्षदेखि मकै बिक्री गर्दै आएकाछन्। अहिले मकैको बेमौसम भएकाले पोलेको मकै बिक्रीमा समस्या छैन। “ज्यालादारीमा भनेबेला काम पाइदैन। पाएको काममा पनि कमाई भन्दा बढी वचन सुन्नुपर्ने”, कल्याणी भन्छन्, “त्यो भन्दा काँचो मकै ल्याएर पोलेर बिक्र गर्दा राम्रो। कमाइ पनि राम्रो, कुरा पनि कसैको सुन्नु नपर्ने।” उनले आफुसँग खेती गर्न जग्गा नभएको बताउँदै अरुबाट काँचो मकै ल्याएर बिक्री गर्ने गरेको बताईन्।
टीकापुर नगरपालिका–२ बन्दीपुरकी सञ्जिवनी चौधरीका दुई छोरा सेनामा र श्रीमान् भारतमा काम गर्छन्।
आफूसँग तागत हुँदासम्म आफ्नै व्यवसायमा व्यस्त सञ्जीवनी पनि दिनभर बजार क्षेत्रमा मकै पोलेर बेच्छन्। उनी भन्छन्, “आफ्नो कामबाट सन्तुष्ट छु।”
उनले पाँच कट्टा जग्गामा मकै खेती गरेकाछन्। आफैले फलाएको मकै ल्याएर उनी बजारमा बिक्री गछैन्। सञ्जीवनी भन्छन्, “एक सिजनमा मकै बेचेर ५० देखि ६० हजार कमाइ हुन्छ। अन्य समयमा तरकारी खेतीबाट पनि आम्दानी हुन्छ।” सिजनमा तरकारी खेतीबाट पनि उनले राम्रो आम्दानी गर्नेगरेको बताईन्।
बजारका विभिन्न ठाउँमा रुखमुनि शीतलमा बसेर मकै पोलेर बेच्ने बढ्दै गएका छन्। पुरुष भन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन्। कतिपयले मकैखेती आफै गरेका छन् भने कतिपयले अरु किसानबाट रु १० मा मकै खरिद गरेर २० देखि २५ मा बेच्छन्।
विपन्न परिवारका पुरुष कमाउनको लागि बाहिर जाने र महिला सिजनमा गाउँमै ज्यालादारी गर्छन्। काम नभएको समयमा किसानबाट मकै ल्याएर दिनभर मकै पोलेर बेच्ने लगायतका काममा व्यस्त हुनेगरेका छन्।
टीकापुर नगरपालिका–३ पुछरीका राधेश्याम चौधरी मकै बेच्नकै लागि पाँच किलोमिटर साइकलको यात्रा गरेर टीकापुर बजार पुग्छन्। श्रीमान्श्रीमती दुबै साइकलमा टीकापुर पुगेर दिनभर मकै पोल्ने र बिक्री गर्ने गछन्। ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका उनी चार वर्षदेखि मकै बेच्छन्। “थोरै मिहेनतमा राम्रो आम्दानी हुनेभएपछि सिजनमा राम्रो आम्दानी हुने गरेको छ। मकै बेचेर केही महिनाको घरखर्च र अहिले छोराछोरीको विद्यालय भर्नाको जोहो भइहाल्छ”, राधेश्याम भन्छन्, “गर्मीयाममा मजदुरी गरेर जीविका चलाउन पनि मुस्किल हुन्छ। मजदुरी गर्नुभन्दा यो सिजनमा मकै बेच्नु राम्रो छ।” -रासस