काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना निजी सवारीचालक घरको छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन्।
सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, 'आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो। सिएमसीमा उहाँ उपचाररत हुनुहुन्छ। बिहानैदेखि निरन्तर र भर्खरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर छ।
यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेकाले आफूले धेरै नबोल्ने उनले बताएका छन्। रविले भनेका छन्, ‘म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आँशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला। सक्नुहुन्छ भने मलाई सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिंगो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला।’
लामिछानेका ड्राइभर छतबाट खसेको घटनाबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि लामिछानेका ड्राइभरसँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर कालुराम राजवंशीलाई प्रहरी कार्यालयमा ल्याइएको छ।
सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ। तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले अचेत छन्।