भैरहवा- भारतबाट वर्षेनी लाखौंको संख्यामा खसीबोका नेपाल भित्रिने गरेका छन्।
पशु क्वारेन्टाइन कार्यलय भैरहवाका अनुसार भदौं र असोज अन्तिम साता सम्म ५८ हजार ६ सय ५८ गोटा खसीबोका नेपाल भित्रीएका छन्। बेलहिया, कृष्णनगर र महेशपुर भन्सार नाकाबाट मासु प्रयोजनकोलागी खसीबोका भित्रीने गरेको वरिष्ठ पशुचिकित्सक डा गान्धीराज उपाध्ययले जानकारी दिए।
पशु क्वारेन्टाइन कार्यलय भैरहवा मातहत रहेका बेलहिया, कृष्णनगर र महेशपुर भन्सार नाकाबाट गत आर्थिक वर्षमा ७९ हजार ६ सय ८ गोटा खसी बोका भित्रीएका थिए। औषतमा २० केजीका उक्त खसीबोकालाई केजीमा रुपान्तरण गर्दा १५ लाख ९२ हजार १ सय ६० केजी हुन आउँछ। यसैगरी भदौं असोजमा मात्रै भित्रिएको खसीबोका सरदरमा ११ लाख ७३ हजार १ सय ६० केजी हुन आउँछ।
बेलहिया नाकाबाट खसीबोका भित्राउने काम कमरुद्धिन मुसलमान, ईरफान मुसलमानले गर्ने गर्दछन् । भन्सार एजेन्ट समेत रहेका कमरुद्धिनले भने ‘मैले गत आर्थिक वर्षमा २९ करोड भन्दा बढीको खसीबोका आयत गरेको थिए। ’
बेलहिया नाकाबाट भित्रीने खसीबोकाको मुख्य बजार काठमाण्डौं, बुटवल, पोखरा, चितवन र स्थानिय बजार भएको मुसलमानले जनाए। भारत उत्तर प्रदेशको फैजावाद, सुल्तानपुर, कानपुर, रानीगन्ज लगायतको क्षेत्रमा लाग्ने खसीबजारबाट नेपाली व्यापारीहरुले खसीबोका खरिद गरेर ल्याउने गर्दछन्।
भारतबाट ल्याइएका खसीबोकाको स्वास्थ्य चेंकजांच गरेर मात्रै नेपाली बजारमा लैजान दिने गरेको क्वारेन्टाईनले जनाएको छ।
यसैबीच चाडपर्वको मौकामा अस्वथ मासु तथा मासुजन्य पदार्थको ओसारपसार नहोस् भन्ने हेतुले पशु क्वारेन्टाइन कार्यलय भैरहवाले बेलहियामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले पशुलाई यातना दिने गरी गरिने कुनै पनि कृयाकलापलाई नियन्त्रण गरिनुपर्ने बताए। सो कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले चोरी तस्करी गरेर ल्याउने पशुपंक्षि नियन्त्रणमा प्रहरी तदारुकताका साथ लाग्ने बताए।
पशुहरुको ओसारपसारको क्रममा नाकमा , घाटीमा बांधेर , एउटा गाडीमा कोची कोची हालेर , पशु चौपयालाई दिईएको पाईएमा तत्काल ५० हजार जरिवाना र अन्य थप जरिवाना हुने पशुचिकित्सक डा. प्रवेश शर्माले बताए। अन्तरक्रियामा कृर्षी तथा पशुपंक्षि मन्त्रालयका झबिन्द्र मरासीनि, भैरहवा भन्सार प्रमुख भुपालराज शाक्य, नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष डा. शान्त कुमार शर्मा लगायतको सहभागीता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४