शनिबार, भदौ ६, २०८३

बालकोटको ढलमा पुरिंदा एक जनाको ज्यान गयो, एक घाइते

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

भक्तपुर- कौशल्टार–सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिँदा आज अपराह्न एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भीर घाइते भएका छन्।

सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाइटस्थित भित्री बस्तीमा नयाँ ढल विस्तारका लागि खाल्डो खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को खसेर पुरिँदा सुनसरी गढी गाउँपालिका–२ घर भई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो। 

माटोको ढिस्कोले पुरिँदा सुनसरी गढी गाउँपालिका–२ घर भई हाल बालकोट बस्ने ३० वर्षीय सियाराम ऋषिदेवको कौशल्टारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। 

घटनापछि प्रहरी वृत्त थिमिबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी समेतको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएको थियो। उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले बताए।
 

प्रकाशित: Apr 16, 2023| 20:45 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्