काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जानकारी दिएका हुन्।
‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ। अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन,’ उनले भनेका छन्।
अध्यक्ष ओलीले एमालेले योग्य उम्मेदवार उठाएको बताउँदै उनीहरूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरेका छन्। उनले भनेका छन्, ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं। तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ। उहाँहरूलाई विजयी गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरू समक्ष म विनम्र आग्रह गर्दछु।’
उनले स्वास्थ्य अवस्था ठिक भएपछि उपयुक्त समयमा मतदाताहरूसँग भेट्न आउने बताउँदै तीनैजना उम्मेदवारलाई विजयको शुभकामनासमेत दिएका छन्। तीनै क्षेत्रमा यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ।