शनिबार, भदौ ६, २०८३

विस्थापित भएको २३ वर्षपछि विद्यालय पुनःस्थापना

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय २ दशकपछि पुनःस्थापना भएको छ।

सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विक्रम संवत् २०५७ सालमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो। विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनःस्थापना गरिएको छ। 

नारायणीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित बन्न पुगेको थियो। विद्यालय विस्थापित भएको २३ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयको उद्घाटन गरे। विक्रम संवत् २०२६ सालमा स्थापना भएको जनतासिद्ध निमावि विक्रम संवत् २०५७ सालको बाढीका कारण सीतापुरबाट विस्थापित भएपछि लुसलहरिको तत्कालीन अमर प्रावि भएको स्थानबाट सञ्चालन भएको थियो।

एउटै परिसरबाट २ वटा विद्यालय सञ्चालन भएको केही वर्षपछि २ विद्यालय गाभिएर जनतासिद्ध अमर माध्यामिक विद्यालय बनेको थियो। त्यसबीचमा बाढी र डुबानका कारण विस्थापित भएका स्थानीय क्रमशः बस्ती फर्किए पनि गाउँबाट विस्थापित विद्यालय भने फर्किएन। विद्यालय विस्थापित भएपछि सीतापुर नन्दपुर सेहरीका विद्यार्थीले अहिले अध्ययनका लागि अन्य क्षेत्र जानुपर्ने बाध्यता छ। विद्यालय स्थापनापछि गुणस्तरीय शिक्षाका लागि अन्य क्षेत्र पुग्नुपर्ने बाध्यता हट्ने विश्वास अभिभावकको छ।

विगतमा विद्यालय सञ्चालनमा रहेको र भौतिक संरचनासमेत भएको स्थानमा विद्यालय स्थापनापछि अब गाउँमै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने नगर प्रमुख अधिकारीले बताए। जनतासिद्ध विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने भन्दै उनले अभिभावकले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताए।
पहिलो चरणमा स्थापना भएको जनतासिद्ध र मध्यविन्दु नगरपालिकाको पहाडी क्षेत्र वडा नम्बर १४ का सबै विद्यालयमा सबै व्यवस्थापन नगरपालिकाबाट गर्ने गरी काम भइरहेको उनले बताए। मध्यविन्दु नगरपालिकाको शैक्षिक अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राखेर अहिले काम भइरहेको जनाउँदै उनले सबै पक्षको सकरात्मक सहयोगको नगरपालिकाले अपेक्षा राखेको बताए।

मध्यविन्दु नगरपालिका शिक्षा अधिकृत कृष्ण रेग्मीले अभिभावकको माग, नगर शिक्षा समिति र नगर कार्यपालिकाको निर्णयानुसार विद्यालय स्थापना भएको बताएका छन्।

प्रकाशित: Apr 16, 2023| 23:17 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्