जनकपुरधाम- धनुषाको औरही गाउँपालिका-२ बस्ने १० वर्षीया बालिका मनिता यादवको सामूहिक बलात्कारपछि हत्या भयो। मनिताको हत्या भएको १४-१५ घण्टापछि धनुषा प्रहरीले बलात्कार र हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्यो। घटना भएको केहिबेरमै अभियुक्त गिरफ्तार हुनु प्रहरीको लागि ठुलो सफलता हो।
धनुषा प्रहरीले मनिता हत्यामा संलग्न दुवैजनालाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। मनिता हत्यामा संलग्न औरही ५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोहि गाउँपालिका वडा नम्बर ३ बस्ने ३० वर्षिय नथुनी पंडीतलाई प्रहरीले सार्वजनिक गरेको हो।
पक्राउ परेका दुवैजनाले पत्रकार सम्मेलनमा आफुहरुले मनिताको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। गाउँकै छिमेकी रहेका दुवैजनालाई मनिताले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन्।
रक्सीले मातेका विनोद र नथुनीले मनितालाई पालैपालो बलात्कार गरेर हत्या गरेको पत्रकार सम्मेलनमा धनुषाका एसपी गोविन्द थपलियाले बताए। गत शुक्रबार साँझ सातबजे खाना खाएर मनिता साथीहरुसँग गाउँमै लागेको दशैं मेला हेर्न गएकी थिइन्। तर शनिबार बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि परिवार तथा छिमेकीले इलाका प्रहरी कार्यालय औरहीलाई जानकारी गराई खोजी शुरु गरे। खोजी गर्ने क्रममा मनिताका शव घरबाट १ किलोमिटर पश्चिममा रहेको धान खेतमा टाउको गाडेको अवस्थामा बरामद भयो।
बलात्कार योजना
विनोद र नथुनी दुवैजना गाउँकै एक भट्टीमा रक्सी खान छिरेका थिए। साँझ सात बजे रक्सी खान भट्टीमा छिरेका उनीहरु मातिसकेपछि कुनै बालिकालाई बलात्कार गर्ने योजना बनाए। एक घण्टापछि करिब ८ बजे भट्टीबाट निस्केका उनीहरु पनि मेलामा पुगेका थिए। मेलामा विनोद र नथुनीले गाउँकै एक बालिकालाई पैसाको प्रलोभन दिई फकाउने प्रयास गरेका थिए। तर ती बालिका विनोद र नथुनीको प्रलोभनमा नपरेपछि उनीहरुले अर्को बालिकाको खोजी शुरु गरेको थियो।
त्यसपछि आफ्नै छिमेकी १० वर्षीया बालिका मनितामाथि उनीहरुको नजर पर्यो। र, दुवैजनाले मनितालाई १० रुपैयाँ, चाउचाउ, चकलेट लगायतका खानेकुरा दिएका थिए। आफ्नै छिमेकी काकाले चाउचाउ, चकलेट किनिदिने भनेपछि मनिता उनीहरुको पछिपछि लागिन्।
मेलाबाट करिब १ किलोमिटर पर खेतमा लगेर दुवैजनाले मनिताको मुख थुनेर बलात्कार गरे। उनीहरुले बलात्कार गर्ने क्रममै मनिताको मृत्यु भएको थियो। बालिकाको ज्यान गइसकेपछि विनोद र नथुनीली नजिककै धान खेतमा शव फ्यालेर भागेका थिए।
तर मनिता बाँचिन भने आफुहरु फस्ने भन्दै केहिबेरपछि दुबैजना उनी जिउँदै रहेको नरहेको पक्का हुन फेरी शव फ्यालेको ठाउँमा पुगे । त्यहाँ पुगेपछि मनिता जिवितै रहेको उनीहरुलाई शंका लाग्यो। र, धानको खेतमा मनिताको टाउको तल घोप्टो पारेर भागे।
यसरी प्रहरीको फन्दामा परे विनोद र नथुनी
मनिताको हत्या अभियोगमा पक्राउ पर्ने डरले विनादे शनिबार बिहानै घरबाट भागेर जनकपुर पुगे। जनकपुरमा दिउँसो विनोदले सिनेमा हल पुगेर फिल्मपनि हेरेका थिए। त्यसअघि प्रहरीले खोजी शुरु गरिसकेको थियो । गाउँमा सोधपुछको क्रममा मनितालाई विनोसँग हेरेको बताएका थिए।
विनोद गाउँमा फेला नपरेपछि प्रहरीले उसलाई खोज्न परिवारका सदस्यहरुलाई दबाब दिए। र, विनोद जनकपुरस्थित भ्रमरपुरा चोकमा रहेको उसको भाइले प्रहरीलाई जानकारी गरायो । भ्रमरपुरा चोकमा आफ्नो भाइलाई देखेपछि विनोदले भाग्ने प्रयास गर्यो। तर, अन्ततः उ प्रहरीको फन्दामा पर्यो।
विनोद पक्राउ परेपछि उसले बलात्कारको घटनामा आफुसँग नथुनीपनि रहेको प्रहरीलाई बयान दिएका थिए। विनोदको बयानको आधारमा प्रहरीले नथुनीलाई घरबाटै गिरफ्तार गर्यो।
प्रहरीका अनुसार विनोद र नथुनी यसअघि पनि आपराधकि घटनामा संलग्न रहेको खुलेको छ। विनोद यसअघि लुटपाटसम्बन्धी घटनामा दश वर्ष जेल सजाय काटि सकेका छन्। यसैगरी नथुनी गाउँमा साइकल, खँसी, बाख्रा चोर्ने घटनामा संलग्न देखिएको एसपी थपलियाले बताए।
पक्राउ परेको दुबैजनाविरुद्ध कर्तव्यज्यान तथा जर्बजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४