बिहीबार, साउन ७, २०८३

ओलीजी, के बालुवाटार खाली गर्ने त?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
देश फेरि दोधारमा छ। सरकार निष्क्रिय प्रायः। स्वयं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आफूले भनेको कसैले नमानिरहेको बताइरहेका छन्। प्रधानमन्त्री देशको कार्यकारी प्रमुख, उनी नै यति असहाय, निरीह छन् भने राज्य संयन्त्र कसरी सञ्‍चालित भइरहेको, कसको आदेश र निर्देशनमा चल्दै होला अनुमानै गर्नु पनि कहालीलाग्दो हुन्छ। यसले राज्य विधिसंगत तरिकाले नचलेको र जथाभावी भइरहेको, जसले पनि आफूखुशी गरिरहेकोतर्फ प्रस्टै संकेत गर्छ र छ पनि त्यस्तै। प्रधानमन्त्रीले नै ‘मैले भनेको कसैले मान्दैनन्’ भनिसकेपछि कसले भनेकोचाहीं मान्छन् भन्ने प्रश्न स्वतः उठ्छ। त्यसो हुँदा देश विधि, नियमअनुसार चलिरहेको छैन भन्ने आरोप नाहकमा लागिरहेको होइन भन्ने स्वतः पुष्‍टि हुन्छ।

हो नै, दशैंको मुख छ तर देश अनेक दुर्दशाले आक्रान्त छ। अक्कासिएको महँगीले पर्वलाई गिज्याइरहेको छ। सुनुवाइ कतैबाट भइरहेको छैन। काठमाडौंबाहिर जाने यात्रुहरूमाथि खुलेआम लुट चलिरहेको छ। सरकारले तोकेको भाडादरमा बिरलैले यात्रा गर्न पाएका होलान्। दशैं आउँछ, यात्रुको चाप बढ्छ भन्‍ने हरेकलाई थाहा छ तर यसको स्थायी प्रबन्धन के हो, के गर्नुपर्छ भन्ने विषयमा गम्भीरता कहिल्यै भएन र यसपालि बलियो सरकार भनेको यो झन् निरीह भएको छ। अनुगमन छैन, जहाँ छ भनिन्छ त्यहाँ मिलिभगत छ। सवारी साधनको सिन्डिकेट हट्यो भनियो तर हटेन। सडकको स्याहार सम्भारको कुरा गर्यो भने प्रधानमन्त्री ‘मैले खाल्डा पारेको हो र?’ भनेर ओठे जवाफ दिन्छन्। तैपनि अचम्म के भने एकथरी यसैमा दंग छन्। सबै ठीकठाक चलिरहेको देख्छन्। गुणगानमा मस्त छन्।

दिनहुँजसो जघन्य कृत्य भइरहेको छ (छन्)। तर सरकार प्रमुख नै अपराधी समात्‍न नसकिरहेकामा निरीहता प्रदर्शन गर्छन् र भन्छन्, प्रहरीले टेर्दैन। प्रधानमन्त्रीलाई प्रहरीले टेर्दैन भने शान्ति सुरक्षाप्रति कसरी आश्‍वस्त हुने? जनता कसको भरमा सुरक्षित भएको महशुस गर्ने र साँच्चै सुरक्षित हुने प्रश्‍न स्वतः उठ्ने नै भए र उठ्छन् नै। प्रहरी कोअन्तर्गत पर्छ, समग्र प्रशासन कोअन्तर्गत पर्छ? देशको शान्ति सुरक्षाको प्रथम र अन्तिम जिम्मेवारी कसको? गृह प्रशासन प्रमुख अर्थात् गृहमन्त्री रामबहादुर थापा देशमा भइरहेका अनाचार पुँजीवादको टाउकामा थोपर्छन्। यसको अर्थ त जिम्मेवारी लिनुपर्दैन, नसके पनि पदमा बसिरहनुपर्छ भन्ने लाग्छ। थापालाई थाहा छ कि छैन? किन बस्‍ने भनेर कसैले सोधे उनीसित उत्तर छैन। हुने कुरै भएन।

साथै, सार्थक आलोचनालाई समेत अर्घेलो देख्‍ने र अरूको मानमर्दन गर्ने प्रवृत्ति बढ्दो, मौलाउँदो छ। पालित प्रशंसकहरू जो कसैमाथि पनि खनिएका देखिन्छन् र कतिपय त हदै तल गिरेर आक्षेप लगाइरहेका पाइन्छन्। सग्लो मान्छेमा असल भएकोलाई असल देख्‍ने र खराबलाई खराबै देख्‍ने नजर हुन्छ। निश्‍चय नै यदि कोही गम्भीर रोगले आक्रान्त छ भनेचाहीं उसले सबै उचितै उचित अथवा अनुचितै अनुचित मात्र भइरहेको देख्‍न सक्छ। के शासकका प्रशंसकहरू गम्भीर बिरामी छन्? त्यसो भए जथाभावी छोड्नु भएन, उपचार गर्नु, गराउनुपर्यो। किनभने, आलोचनात्मक दृष्‍टिकोणलाई चटक्कै परित्याग गरेर प्रशंसा गर्दा जसको हित गर्न खोजिएको हो, उसको हित हुँदैन, अहित मात्रै हुन्छ। यसमा प्रशंसा गर्नेले भन्दा पनि प्रशंसित हुने सचेत हुनुपर्छ।

भनिरहनु नपर्ला प्रशासनले घुसखोरीमा नाम कमाएको छ। प्रहरी स्वयं ओलीकै शब्दमा उनलाई टेर्दैन। एकातिर गुण्डाहरू व्यवसायीहरूबाट हप्ता असुली गर्छन्। तर, त्यति मात्र होइन, यहाँसम्म कि प्रहरीले नै हप्ता असुली गरिरहेका समाचारसमेत आएका छन्। यस्तो प्रतीत हुन्छ, फेरि पनि भनौं, हरेक क्षेत्र विधि विधानरहित भएको छ। नागरिकले गुनासो लिएर जाने ठाउँ छैन, जुन ठाउँमा गुनासो लिएर जानुपर्ने हो त्यहीं मानिस प्रताडित हुनुपर्छ। दुई तिहाइ के, संघीय समाजवादवादी फोरमसमेत समावेश भएकाले तीन चौथाइकै सरकार छ। काम गर्न सरकारलाई योभन्दा बढी के चाहियो? तर, प्रधानमन्त्री ओली भन्छन्, ‘म रुमाल देखाएर अण्डा निकाल्ने, अण्डा देखाएर त्यसलाई रुमाल बनाउने जादूगर हुँ र !’

निश्‍चय नै, प्रधानमन्त्री र मन्त्रीका नजिक हुनेहरू सन्तुष्‍ट छन्। सन्तुष्‍ट मात्र होइन, परितुष्‍ट छन्। एउटा झुण्ड छ परितुष्‍ट तर प्रधानमन्त्री जो स्वयं सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयमध्ये एक हुन्, उनकै दलको अर्को कित्ताबाट लगातारजसो असन्तुष्‍टि चुहिन थालेको छ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमै बोले। नामुद ‘कम्युनिस्ट-बुद्धिजीवीहरू’ पनि कम्युनिस्ट पार्टीकै अध्यक्षसँग ‘खुश’ छैनन्। समाचार माध्यममा नाम चलेका अरू कम्युनिस्टै नेताका असन्तोष दिनहुँ पोखिएका देखिन्छन्। पत्रकारले टिपेका होइन, उनीहरू आफैं प्रत्यक्ष बोलेका र हस्ताक्षरका भनाइहरू। किन यस्तो हुँदैछ? किनभने यो सरकार जिम्मेवार भएन, उत्तरदायी भएन। आउरे बाउरे कार्यक्रममा जाने, मान्छे हँसाउने, फर्किने। शुरुका पाँच महिना दुई तिहाइ पो छ त, के कसले गर्न सक्ला भनेर बित्यो। इन्डिया र चाइना घुम्दा बित्यो। लौ आइहाल्यो, आइहाल्यो रेल भन्दाभन्दै बित्यो।

त्यति मात्र होइन, कसैले गुनासो गर्यो कि कतिपय जाइलाग्‍ने मन्त्री पालेर राखिएका छन्। जे होस्, परिणाम नभए पनि बोली मीठो भइदिए हुन्थ्यो तर मन्त्री आफैं, हप्किदप्की र गालीगलौजमा पारंगत छन्। कल्पना गर्नुहोस्, ती मन्त्रीअन्तर्गतका सहयोगी कस्ता होलान्? सातमध्ये ६ प्रदेशमा नेकपाकै सरकार छन्, अधिकांश स्थानीय तहमा पनि नेकपाकै रजगज छ। काममा स्फूर्ति होइन, बोल्नमा चाहीं खुब फूर्ति छ।  यो वृत्ति-प्रवृत्तिका चल्ते देशको दुर्दशा नभएर सकारात्मक हुने कल्पना गर्न धेरै गाह्रो छ।

प्रतिपक्ष दह्रो भए, अलि आशा हुन्थ्यो। गर्नैपर्ने दबाब त पर्थ्यो। निम्सरो छ। साह्रै निम्सरो। आकारले मात्र होइन, सार र सन्दर्भका हिसाबले पनि। तैपनि लाजगाल प्रतिपक्ष हुनुको लाज राख्‍न झिनो स्वरमा बेलाबेला, बोली पो सुनिन्छ कि भनेर सचेत हुँदै बोल्छ। राम्ररी सुनिने गरी बोल्दैन। तर, प्रधानमन्त्री भने त्यति निम्सरो स्वरबाट पनि त्रसित हुन्छन् र अरिंगालको आव्हान गर्न पुग्छन्। अब जिज्ञासा उत्पन्न हुन्छ, यति निम्सरो प्रतिपक्षबाट त्रस्त हुने प्रधानमन्त्रीको मुटु कति दह्रो होला?

एकछिन मानिलिउँ सामाजिक सञ्जाल र सञ्चारका परम्परागत माध्यमहरूको काम बढाइचढाइ गरेर प्रचार गर्ने रहेछ तर प्रधानमन्त्रीकै पार्टीबाट चुहिएका असन्तुष्‍टिचाहीं के नि? यसरी नै अरू चार वर्ष बित्‍न सक्छ कि सुध्रिनुपर्छ? यही हाल रहे के हुन्छ? प्रधानमन्त्री कि भने बन्नु हुँदैन, बनेपछि मैले भनेको कसैले मान्दैनन् भन्न मिल्दैन। प्रधानमन्त्रीले पनि विधि व्यवस्था मान्‍नु र आफू मातहतको सम्पूर्ण राज्य संयन्त्रलाई मान्‍न र डेलिभर गर्न लगाउनैपर्छ। यो सुनिश्‍चित गर्न सकिन्छ कि सकिँदैन?

सकिँदैन भने अर्को बाटो छ। अन्यथा नलिनु होला, त्यो बाटो हो बालुवाटार खाली गर्ने र त्यो ठाउँमा निरीहता प्रदर्शन नगर्ने, आफूमा भन्दा राज्य सञ्चालनमा रुचि भएको ऊर्जाशील पात्र ल्याउने। राज्य सञ्‍चालन गर्न सकिँदैन, डेलिभर गर्न सकिँदैन भने ठीक छ, यो त गर्न सकिन्छ। तर के ख्याल रहोस् भने विगतमा डेलिभरी दिन नसकेर फालिएका पात्रहरू दोहोर्याउनेचाहीं होइन। यस्तो भन्‍ने अवस्था किन आयो भने बढ्दो बेथिति देखिरहँदा प्रधानमन्त्री ओली आफूले सम्हाल्न नसकेको स्वयं स्वीकारिरहेका छन्। जब निरीह छन् त किन बस्‍नु? यो राज्य सञ्चालनको काम हो, यसरी त चल्दैन। देश फेरि दोधारमा छ र यो दोधारको कारण, अरू कोही होइन, स्वयं प्रधानमन्त्री हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।