काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेस १४औं महाधिवेशनको घनचक्करमा छ। पार्टी विधानअनुसार १३औं महाधिवेशनबाट निर्वाचित सबै तहका समितिले म्याद गुजारिसकेका छन्। विधानले दिएको एक वर्ष कार्यकाल थप गर्न पाउने सुविधा उपभोग गरिसकेपछि संवैधानिक व्यवस्थाको फेरो समातेर कांग्रेसले भदौ २३ गतेसम्म म्याद थप गरेको छ।
थपिएको समयसीमामा पनि महाधिवेशन हुने कुनै ग्यारेन्टी छैन। एकथरी नेताहरू महाधिवेशन सार्न कानुनी छिद्र खोज्न जुटेका छन्। अर्का थरी सके नियमित महाधिवेशन नसके विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन्। महाधिवेशनका लागि आवश्यक प्राथमिक र महत्त्वपूर्ण विषय क्रियाशील सदस्यताको छिनोफानो हो। तर, यसमा देखिएको विवाद सुल्झिन सकेको छैन। देशको जेठो दल कांग्रेस संवैधानिक अड्चन, त्यसलाई टार्न खोजी भइरहेका कानुनी छिद्र, क्रियाशील विवादसँगै विशेष महाधिवेशनको बहसको विरोधाभासमा फसेको छ।
भदौ २३ अघि र पछि कांग्रेसको राजनीतिमा कुन मोड आउला, जसले कांग्रेसको वैधानिकता रक्षा गरिदियोस्। यसको उत्तर समयक्रममा पाइएला। तत्कालका लागि बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसको वैधानिकता र महाधिवेशनको सन्दर्भमा निर्णय गर्ने नै छ।
पार्टीले वैधानिकता गुमाउने खतरा, भ्रातृसंस्था भइसके अवैधानिक
१४औं महाधिवेशनको कार्यतालिका यसअघि पाँच पटक फेरबदल भइसकेको छ। छैटौं पटक कार्यतालिका फेरबदल गर्ने तयारीमा जुटेको कांग्रेस महाधिवेशनको प्रसव पीडाले छटपटिएको छ। पार्टीको वैधानिकता र महाधिवेशनको विषयले कांग्रेसलाई ज्वरो आएको छ। तर, यसका भ्रातृ संस्थाका कोख भने बाँझोपनले ग्रस्त बनाइसकेको छ। एक हिसाबले भन्दा अधिकांश भ्रातृसंस्था कोमामा छन्। कांग्रेस उत्पादन गर्ने कारखाना बाँझोपनले ग्रस्त हुँदा कांग्रेसलाई न चिन्ता छ, न ग्लानि। लोकतन्त्र र लोकतान्त्रिक चरित्रको हिमायती ठान्ने कांग्रेसले न समयमा आफ्नो महाधिवेशन गर्न सकेको छ। न त यसका भ्रातृसंस्था लोकतान्त्रिक विधिअनुसार चल्न सकेका छन्।
कांग्रेसका ११ भ्रातृसंस्थाको नियमित अधिवेशन नभएको वर्षौं भइसकेको छ। ती भ्रातृसंस्थाको म्याद पार्टीले पटकपटक थपिदिएको छ।
कांग्रेसका ११ भ्रातृसंस्थाको नियमित अधिवेशन नभएको वर्षौं भइसकेको छ। ती भ्रातृसंस्थाको म्याद पार्टीले पटकपटक थपिदिएको छ। २०७७ साउन १६ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज गरी ९ वटा भ्रातृसंस्थाको म्याद ६ महिना थपेको थियो। तर, थपिएको समयभित्र ती भ्रातृसंस्थाको महाधिवेशन हुन सकेन। बरु त्यो ६ महिनामा थप तीन भ्रातृ संस्थाले म्याद गुजारे।
गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले पुनः भ्रातृसंस्थाको म्याद ६ महिना थप्ने निर्णय गरेको थियो। म्याद थपिने भ्रातृ संस्थामा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज छन्। तर, थपिएको म्यादसमेत साउन १३ मै समाप्त भइसकेको छ। ती भ्रातृसंस्था अहिले अवैधानिक भएका छन्। शुभेच्छुक संस्थाको हालत पनि उस्तै छ। आफैं समयमा महाधिवेशन गर्न नसक्ने स्थितिबाट गुज्रिएको माउ पार्टीले ती भ्रातृसंस्थाबारे कुनै निर्णय गर्न सकेको छैन।
प्रवक्ता विश्वप्रकाश शर्मा पार्टीको महाधिवेशन र भ्रातृसंस्थाको म्याद थपबारे केन्द्रीय समितिले निर्णय लिने बताउँछन्। ‘अहिले पार्टीको महाधिवेशनबारेमा निर्णय लिनुपर्नेछ। त्योसँगै भ्रातृसंस्थाका बारेमा के गर्ने भन्ने प्रश्न पनि सँगै छ,’ शर्माले भने, ‘यी सबै विषयमा बिहीबारको केन्द्रीय समितिमा प्रस्ताव आउँछन् र छलफल गरेर टुंगोमा पुग्छौं।’
‘भ्रातृसंस्थाको यो अवस्था हुनुले कांग्रेसको नर्सरी मरेको देखिन्छ। खेतमा बूढा रूख छन्। बिरुवा देखिए पनि ती प्राकृतिक छैनन्। बाहिरको प्लान्ट ल्याएर जबरजस्ती रोप्न खोजेको जस्तो देखिन्छ।'
राजनीतिक विश्लेषकहरुले भने कांग्रेसमा यस्तो प्रवृत्ति देखिनु लज्जाको विषय भएको टिप्पणी गर्छन्। लोकतान्त्रिक दल महाधिवेशन गर्ने विषयमा विवादमा उत्रनु र भ्रातृसंस्थालाई लामो समयसम्म आफ्नो स्वार्थअनुरुप कोमामा राख्ने प्रयास गर्नुलाई कांग्रेसमा ‘क्रेन संस्कृति’ को विकास भएको विश्लेषक डा. विष्णु दाहालको भनाइ छ। ‘भ्रातृसंस्थाको यो अवस्था हुनुले कांग्रेसको नर्सरी मरेको देखिन्छ। खेतमा बूढा रूख छन्। बिरुवा देखिए पनि ती प्राकृतिक छैनन्। बाहिरको प्लान्ट ल्याएर जबरजस्ती रोप्न खोजेको जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘क्रेनले जसरी बाहिरको सामान लोड गर्छ, त्यही प्रवृत्ति कांग्रेसमा छ।’
भ्रातृसंस्थाको रोग : १६ वर्षदेखि एउटै नेतृत्व
नेविसंघ : कांग्रेसको नर्सरी भनेर चिनिएको विद्यार्थी भ्रातृसंस्था नेविसंघको महाधिवेशन प्रत्येक २ वर्षमा गर्नुपर्ने वैधानिक व्यवस्था छ। तर, विगत पाँच वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन। २०७३ सालमा भएको महाधिवेशनबाट नैनसिंह महर अध्यक्ष भएका थिए। उनले दुई वर्ष र थप गर्न मिल्ने ६ महिना गरी साढे दुई वर्ष नेविसंघ चलाए। महरले नियमित अधिवेशन गराउन सकेनन्। फलस्वरुप उनले राजीनामा दिए।
महरको राजीनामा पछि २०७६ माघ १६ मा कांग्रेसले नेविसंघको कार्यसमिति भंग गर्दै राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति बनायो। समितिलाई ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिइएको थियो। तर, ढुंगाना नेतृत्वको समितिको २ पटक थप भएको म्याद सकिँदासम्म पनि महाधिवेशन हुन सकेको छैन। तेस्रो पटक म्याद थप्नुपर्ने अवस्थामा पुगेको नेविसंघ कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्था हो । गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल अवस्थामा छ।
तरुण दल : कांग्रेसले तरुण दलको म्याद दुई पटक थपिसकेको छ। २०७३ सालमा तरुण दलको पोखरामा भएको महाधिवेशनबाट जितजंग बस्नेत सर्वसम्मत अध्यक्ष चुनिएका थिए। सहमतिकै आधारमा उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान् गुरुङ चुनिए। कार्य समितिको म्याद सकिएर २ पटक थपिएको म्यादसमेत सकिएको छ। ६ वर्ष अवधिमा न तरुण दलको ९५ सदस्यीय समिति बन्न कार्यसमितिले पूर्णता पायो, न त नियमित महाधिवेशन हुन सक्यो।
किसान संघ : किसान संघ झन् हरिबिजोग अवस्थामा छ। १६ वर्षदेखि नेतृत्व फेरिएको छैन। भानु सिग्देल सभापति भएर दुईपटक उनी नै नेतृत्वमा दोहोरिए । उनको कार्यकाल सकिएको १६ वर्ष बढी भइसकेको छ। तर, न किसान संघ कतै देखिन्छ, न त महाधिवेशन भएको छ।
प्रजातन्त्र सेनानी संघ ः किसान संघकै नियति सेनानी संघले भोगिरहेको छ। संघको अधिवेशन १४ वर्षअघि वीरगन्जमा भएको थियो। संघको नेतृत्वमा टंकप्रसाद शर्मा कँडेल छन्। ०६९ साल फागुनमा नवलपरासीको गैंडाकोटमा महाधिवेशन गर्ने अन्तिम तयारी भएको थियो। तर, पार्टी नेतृत्वले महाधिवेशनको चार दिनअघि रोकिदिएपछि संघको अहिलेसम्म महाधिवेशन भएको छैन।
आदिवासी जनजाति संघ : ०६४ सालदेखि आदिवासी जनजाति संघको नेतृत्व एकै व्यक्तिको हातमा छ। ०६४ सालमा पार्टी एकीकरण भएदेखि नै इन्द्रबहादुर गुरुङ सभापति छन्।
दलित संघ : दलित संघको अध्यक्षमा विगत नौ वर्षदेखि मीन विश्वकर्मा छन्। ०६९ सालमा भएको चौथो महाधिवेशनबाट विश्वकर्मा अध्यक्ष बनेका थिए। तर, अहिलेसम्म महाधिवेशन हुन सकेको छैन। पटकपटक म्याद थप भइरहेको छ। तर, विश्वकर्माले महाविधेशन गरेर नेतृत्व हस्तान्तरण गर्न सकेका छैनन्। उनी पार्टीको केन्द्रीय सदस्य पनि हुन्।
अपांग संघ : कांग्रेसले ०६६ वैशाखम केन्द्रीय समितिको निर्णयअनुसार अपांग संघ गठन गरेको थियो। तर, गठन भएयता संघको महाधिवेशन हुन सकेको छैन। भोजराज श्रेष्ठको अध्यक्षताको समिति अहिलेसम्म पनि कायमै छ।
तामाङ संघ : कवेलबहादुर तामाङ अध्यक्ष रहेको संघको पनि महाधिवेशन हुन सकेको छैन । उनको चारवर्षे कार्यकाल सकिएको दुई वर्ष वितिसकेको छ। तर, महाधिवेशन कहिले हुन्छ? टुंगो छैन।
ठाकुर समाज : ठाकुर समाजले कांग्रेसको १२औं महाधिवेशनबाट भ्रातृ संस्थाका रूपमा मान्यता पायो। सोही वर्ष समाजको महाधिवेशन भयो । सहमतिमा निर्विरोध रूपमा ११ सदस्यीय समितिमा पाँच पदाधिकारी चयन भएका थिए। समाजको नेतृत्वमा अनिरुद्रप्रसाद ठाकुर छन्। तर, महाधिवेशन कहिले हुन्छ टुंगो छैन।
महिला संघ : २०७३ सालयता महिला संघको महाधिवेशन हुन सकेको छैन। उमा रेग्मी नेतृत्वको संघको पटकपटक म्याद थप भए पनि महाधिवेशनको अत्तोपत्तो छैन।
भ्रातृसंस्था मात्रै होइन, शुभेच्छुक संस्थाको हाल पनि उस्तै छ। कांग्रेसनिकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन भएको सात वर्ष बितिसकेको छ। तर, बद्री सिग्देल नेतृत्वको कार्यसमितिले महाधिवेशन गराउन सकेको छैन। यस्तै सांस्कृतिक संघले समेत आफ्नो कार्यकाल गुजारी सकेको छ।
कांग्रेस मोटाए जस्तो देखिए पनि सुन्निएको हो : डा. विष्णु दाहाल
कांग्रेस अहिले महाधिवेशनको किचलोमा फसेको छ। भ्रातृसंस्थाको अधिवेशन १६ वर्षसम्म भएका छैनन्। यसले कांग्रेसको आफ्नो नर्सरी मरेको जस्तो देखिन्छ। खेतमा बूढा बिरुवा छन्। अलिअलि बिरुवा भए पनि ती बाहिरबाट ल्याएर रोपेको जस्तो देखिन्छ। प्राकृतिक बिरुवा जन्मने, हुर्कने अवस्था छैन। यो क्रेन संस्कृति हो। जसरी क्रेनले बाहिरको सामान लोड गर्छ, कांग्रेसमा अहिले त्यस्तै देखिएको छ।
भ्रातृसंस्थामा लोकतान्त्रिक अभ्यास भएका छैनन्। टीका लगाउने प्रवृत्ति छ। यसले गुट बलियो बनाउने, पार्टीभित्रकै विपक्षीमाथि हमला गर्ने र आफ्नो पक्षमा वकालतबाहेक अरू केही गर्दैन।
कांग्रेस आवरणमा मोटाएको देखिन्छ। मोटाएकाले स्वस्थ नै हो कि भन्ने पनि पर्छ। तर, वास्तवमा सुन्निएको हो। भ्रातृसंस्थाको स्वास्थ्य ठिक नभइ कांग्रेस ठिक हुन सक्दैन। त्यो एक किसिमको बिरामी नै हो।
भ्रातृसंस्था अहिले गुटअनुसार बनेका छन्। नीतिअनुरुप छैनन्। नेतृत्वअनुरुपका संस्था बनेका छन्। यसले नीतिको बहसलाई असान्दर्भिक बनाइदिन्छ। कांग्रेस हेर्दा लोकतान्त्रिक देखिन्छ। तर, संस्कारचाहिँ अलोकतान्त्रिक छ।
मातृ पार्टी नै महाधिवेशनका विषयमा यस्तो ठूलो किचलो गरेर बसेको छ। अहिले नेतृत्वमा भएकाहरुले महाधिवेशन गर्दा युवा आउने र आफू विस्थापित हुने खतरा देखेका छन्। त्यसैले प्राकृतिक महाधिवेशन नगरेर अस्वाभाविक महाधिवेशनका प्रस्ताव आइरहेका छन्। विशेष महाधिवेशनको जुन प्रस्ताव छ, त्यो विशेष होइन। म त्यसलाई अस्वाभाविक महाधिवेशन भन्छु। नीतिसहितको महाधिवेशन स्वाभाविक र प्राकृतिक हो। तर विशेष महाधिवेशन नीतिविनाको हो।
मातृ पार्टीको जग भनेको भ्रातृसंस्था हो। भ्रातृसंस्था अहिले गुटअनुसार बनेका छन्। नीतिअनुरुप छैनन्। नेतृत्वअनुरुपका संस्था बनेका छन्। यसले नीतिको बहसलाई असान्दर्भिक बनाइदिन्छ। कांग्रेस हेर्दा लोकतान्त्रिक देखिन्छ। तर, संस्कारचाहिँ अलोकतान्त्रिक छ। फरक मत राख्न पाइँदैन। आलोचनाको संस्कृति हराउँदै गएको छ। नेताहरुमा दोहोरो होइन, तेहोरो चरित्र देखिन थालेको छ। सत्य एउटा छ, भन्ने अर्के कुरा अनि व्यवहार सत्य र बोलीभन्दा पर छ। यो लज्जाको विषय हो।
[दाहाल राजनीतिक विश्लेषक हुन्]