काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले म्याग्दीको गुर्जा हिमालमा हिमआँधी आउदा ९ जना आरोहीको मृत्यु भएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जना हिमआँधीमा परि मृत्यु भएको छ । पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित नौ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा पुगेका थिए । उनीहरुको खोजीका लागि गएको टोलीले शनिबार साँझसम्ममा नौ जनाको नै शव फेला पारेका हो ।
हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको शव आधार शिविरको खोच र भिरालो ठाउँमा रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेको बताइएको छ ।
यसै विषयलाई मुख्य समाचार बनाउदै कान्तिपुरले हिमआँधीले ९ को मृत्यु शीर्षकमा खबर छापेको छ भने अन्नपूर्ण पोस्ट र नागरिक दैनिकले ८ जनाको मृत्यु भएको खबर लेखेका छन् । मृतकको शवलाई निकाल्ने प्रयास भइरहेको समे पत्रपपत्रिकाले उल्लेख गरेका छन् ।
यो विषय बाहेक आजको कान्तिपुरले प्रदेश २ को प्रदेशसभाले प्रहरी विद्येयक पारित गरेको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । संविधान र संघीय कानुनसँग बाझिएकाले ४ महिनादेखि विचाराधीन विद्येयक नेकपाको असहमतिबीच दुई पटक बैठक डाकेर नियम निलम्बन गर्दै पारित गरिएको समाचारमा उल्लेख छ ।
कान्तिपुरले यस्तै काँग्रेस नेता चक्र बाँस्तोला र कान्तिपुर पब्लिकेशन र रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधन भएको विषयलाई एङ्कर न्यूज बनाएको छ ।
आजको नागरिक दैनिकले भने रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवालीको निधन भएको विषयलाई ब्यानर न्यूज बनाएको छ । नागरिक दैनिकको प्रकाशक संस्था रिपब्लिक मिडियाको अध्यक्षमा हाल हेमराजका छोरा विनोद ज्ञवाली रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४