काठमाडौं- कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा शनिबार राति निधन भएको छ।
ललितपुर खुमलटारस्थित निवासमा राति नौ बजेर २० मिनट जाँदा नेता बाँस्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्ले पुष्टि गरे। उनी ६ वर्षदेखि अचेत अवस्थामा थिए। झापाको बुधबारे स्थायी घर भएका उनी लामो समयदेखि खुमलटारमा पत्नीसहित बस्दै आएका थिए।
१४ पुस ०६९ मा मोरङको विराटचोकमा आयोजित कुल पूजामा भाग लिँदै गर्दा उनलार्इ मस्तिष्काघात भएको थियो। भारतको सिलिगुडी, नयाँदिल्लीको मेदान्त अस्पताल र बाँसबारीको न्युरो अस्पताल हुँदै पछिल्ला दिनमा घरमै उपचारमा राखिएको थियो। त्यतिबेलैदेखि उनी अर्धचेत अवस्थामा थिए।
तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसका तर्फबाट बाँस्तोलाले निर्वाह गरेको भूमिकाको स्मरण गर्ने गरिएको छ। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र रहेका उनी कांग्रेसका पुराना नेता हुन्। र, भारतका लागि नेपाली पूर्वराजदूत पनि हुन्।
नेता बाँस्तोलालाई अघिल्लो महिना मात्रै प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिएवापत बीपी कोइराला स्मृति ट्रस्टले यस वर्षको सेनानी सम्मान प्रदान गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४