वीरगञ्ज- शहरी क्षेत्रका उपभोक्तामाझ चाडपर्वका बेला मदिरा सेवन गर्ने र अतिथिलाई समेत त्यसबाटै स्वागत गर्ने प्रवृत्ति बढ्दै गएको छ। पारिवारिक जमघट होस् वा अतिथि सत्कार, सपरिवार वा साथीभाइसँग रेस्टुराँमा मदिराको चुस्कीसँगै भलाकुसारी गर्न मन पराउने जमात ठूलो छ।
सरकारले मदिराको उपभोगलाई निरुत्साहित गर्न अन्तःशुल्कको दर वृद्धि गर्दै लगे पनि मदिराको चुस्की मन पराउनेहरूको समूह विस्तारित बन्दै गएकाले मदिरा उत्पादकदेखि व्यापारी सबै दंग छन् । काठमाडौं उपत्यका, पोखरा, चितवन, भैरहवाजस्ता पर्यटकीय गन्तव्यमा मात्र नभर्इ होटेल तथा रेस्टुराँहरू अहिले सबैजसो साना-ठूला शहरमा उल्लेखनीय रूपमा बढ्दै गएका छन्। यससँगै व्यावसायिक सम्बन्ध मजबुत बनाउन विभिन्न संघसंस्थाले मदिरालाई सौगातका रूपमा प्रयोग गर्न थालेका छन्। अन्य समयमा मदिरा वितरण गर्दा उपयुक्त बहाना नमिल्ने भएकाले नियामक निकाय, सरोकारवाला संस्थाको नीति निर्माण तहमा रहने अधिकारीलाई कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, विदेशी कूटनीतिक नियोगले पनि मदिरा वितरण गर्ने प्रचलनले मान्यता पाएझैं भएको छ।
उद्योग-व्यापारसँग सम्बन्धित कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाको बढ्दो संख्याका कारण पनि चाडपर्वमा मदिराको माग बर्सेनि बढ्दो क्रममा देखिन्छ। जति बढी स्टक राख्न सक्यो उति बढी कमाइ हुने भएकाले दशैं, तिहार र फागू पर्व अगावै मदिराको उत्पादन र आयात दुवै बढ्ने गरेको वीरगञ्ज मदिरा बिक्रेता संघका अध्यक्ष रामाधार साह बताउँछन्। 'यो समयमा उपभोक्ता खर्च गर्ने मुडमा हुन्छन्,' साह भन्छन्, 'निश्चित वर्गमा मदिरालाई स्टाटस सिम्बोलको रूपमा हेरिन थालेकाले यसबिनाको जमघट खल्लो हुन्छ।'
तराईका जिल्लामा फागू पर्वको समयमा मदिराको सेवन उच्च हुने भए पनि पहाडी क्षेत्र र पहाडी समुदाय बाहुल्य समाजमा दशैंतिहारमा खपत उच्च हुने गरेको व्यवसायीको भनाइ छ। चाडपर्वको मौकामा हुने मदिरा तथा अन्य पेय पदार्थको उच्च मागलाई व्यावसायिक अवसरमा बदल्न व्यापारीले कुनै कसर बाँकी छाडेका छैनन्।
अढाइ महिनामै दुई अर्बको आयात
मुख्य स्थलनाका वीरगञ्जबाट मात्रै पछिल्लो अढाइ महिनामा दुई अर्ब ६० लाख रुपैयाँका मदिरा र हल्का पेय पदार्थ आयात भएको छ। चालु आर्थिक वर्ष ०७५/७६ को १५ असोजसम्ममा वीरगञ्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाहबाट कूल दुई अर्ब ६० लाख रुपैयाँ बराबरको एक करोड ६ लाख २६ हजार लिटर मदिरा र एनर्जी ड्रिंक्स आयात भएको छ।
मदिराको आयात महशुल चालू आवदेखि वृद्धि गरिए पनि परिमाण र मूल्य दुवैमा वृद्धिले पनि मदिराको बढ्दो बजारलाई इंगित गर्छ। यो नाकाबाट गत आव ०७४/७५ को पहिलो अढाइ महिनामा एक अर्ब १६ करोड ५८ लाख रुपैयाँ बराबरको ८६ लाख ८८ हजार लिटर मात्र मदिरा र एनर्जी ड्रिंक्स आयात भएको थियो।
यस वर्ष सुख्खा बन्दरगाह भन्सारबाट कूल एक अर्ब २० करोड ७२ लाख र वीरगञ्ज भन्सारबाट ७९ करोड ८८ लाख रुपैयाँ बराबरको मदिरा र एनर्जी ड्रिंक्स आयात भएको छ। सात करोड ३७ लाख रुपैयाँको एक लाख ६७ हजार दुई सय तीन लिटर वाइन, ७८ लाखको सात हजार सात सय लिटर व्हिस्की, रम, भोड्का र जिन तथा ५४ लाखको २९ हजार चार सय लिटर बियर बन्दरगाह हुँदै भित्र्याइएको छ ।
कहाँबाट आउँछ मदिरा?
नेपालमा छिमेकी मुलुक चीनका साथै तेस्रो मुलुकबाट विदेशी मदिरा आयात हुने गरेको छ। व्हिस्की, भोड्का, रम र जिन अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, स्कटल्यान्ड र चीनबाट आयात हुन्छ। वाइन स्पेन र अस्ट्रेलियाबाट, बियर स्पेन, ब्राजिल, बेलायत, थाइल्यान्ड र स्कटल्यान्डबाट ल्याइन्छ। एनर्जी ड्रिंक्स थाइल्यान्ड, भियतनाम र युरोपेली मुलुकहरूबाट आयात गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४