काठमाडौं- नेपाल सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीका लागि नयाँ आलिसान बंगला किनिदिएको छ।
वासिङ्टन डीसीसँगै रहेको महँगो रियल स्टेट फक्स हल प्यालिसेड अमेरिकाको ९७ प्रतिशतको सबैभन्दा महँगो रियल स्टेट हो। उक्त, भवन ६. ८ मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ ८१ करोड) बराबरको हो। उक्त रकम भवन मिलार्इ दिने एजेन्टलाई दिइने तीन प्रतिशत कमिसनबाहेकको हो।
उक्त घरलार्इ तिरिएको रकम पूर्वअमेरिकी राष्ट्रपतिको भवनभन्दा केही मात्र कम हो। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का पनि सोही घरको छिमेकमा बस्छिन्। जबकि, उनको भवन नेपाली राजदूतका लागि किनिएको भन्दा केही सस्तो हो।
अर्जुन कार्कीको नयाँ घर ६ हजार आठ सय ७० वर्गफिटको घरमा ६ वटा बेड रूम, सात बाथरूम छन्। यस घरका पूर्वमालिक अर्बपति थिए, जसले साढे पाँच करोड डलरमा किनेका थिए। अर्को भवन '२९११ युनिर्भसिटी टेर एनडब्लु वासिङटन' १० हजार एक सय ३५ वर्गफिटमा फैलिएको छ। यस भवनमा भने सात बेडरूम र १० बाथरूम छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई राजदूत कार्कीले दुवै भवन राजदुत निवासका लागि प्रयोग हुने जानकारी दिएका छन्। कार्कीका अनुसार पहिले बस्दै आएको घर, राजदूत कार्यालयका रूपमा प्रयोग हुने भएको छ।
कार्कीलाई यसअघिको केपी ओली नेतृत्वको सरकारले राजदूत नियुक्त गरेको थियो। उनी प्रधानमन्त्री ओलीका नजिकका व्यक्ति भएको र यसै आधारमा नियुक्त गरिएको भन्ने टिप्पणीसमेत गरिएको थियो।
अमेरिकामा रहेका अन्य प्रवासी तथा कूटनीतिज्ञले भवन खरिदको पारदर्शितामा प्रश्न गरेका छन्। वासिङ्टन डीसीमा रहँदै आएका एक पूर्वकूटनीतिज्ञले भवन खरिदमा आपत्ति जनाएका छन्। यस प्रकारको महँगो भवनको तुलनामा राम्रो अन्य सस्ता भवन पनि पाउने उनले बताएका छन्।
मन्त्री ज्ञवालीले भने उक्त भवनको मूल्य चार लाख अमेरिकी डलर घटाएर किनिएका कारण खरिद पारर्दशी रहेको बताउँदै आएका छन्।
उक्त भवन खरिदका लागि नेपाली राजदूत, एक क्यानेडेली सिनियर स्टाफ, केही प्रशासनिक व्यक्तिहरू र फाइनान्स मन्त्रीको टिमले छनोट गरेको थियो। नेपाल सरकारले जम्मा साढै आठ मिलियन अमेरिकी डलर (नेपाली १० अर्ब) बजेट दिएको थियो। अर्को भवन भने युएस स्टेट डिर्पाटमेन्टसँग कानूनी रूपमै किनिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४