काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल एपीएफ महिन्द्रा क्लबबिचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरीमा रोकिएका हुन् ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले केही सुन्दर अवसरहरु गुमाएका थिए । १० औं मिनेटमा हिमालयनका अमर डंगोलले फितलो प्रहार गरेलगत्तै एपीएफका युवराज खड्काले पनि गोलपेस्टको जालि चुम्न सकेनन् ।
निरज बस्नेतले पेनाल्टीक्षेत्र बाहिर पाएको दुई फ्रिकिकमा कुनै खतरा सिर्जना गर्न सकेनन् । हिमालयनका कर्ण लिम्बू, अमर डंगोल, राज पौडेलको आक्रमणमा तालमेलको कमी देखिएको थियो । दोस्रो हाफको सुरुवातमै एपीएफले अग्रता लिने मौका चुकायो ।
सुदिप सिख्राकारको क्रसमा युवराजले बलसम्म पुग्न नसक्दा स्कोर गोलरहित नै रहयो । त्यसको तीन मिनेटपछि कर्णले गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् । विश्वास श्रेष्ठको क्रसमा उनको हेडर सिधै गोलरक्षकको हातमा पुगेको थियो । ७८ औं मिनेटमा एपीएफका युवराजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४