काठमाडौं- थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा दशैंका लागि नयाँ नोट साट्न लागेको भीड बढेको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको छ।
सर्वसाधारणले जनही २७ हजार रुपैयाँका नोट साट्न सक्नेछन्। नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल शाखा, गौशालाबाट नयाँ नोट वितरणको व्यवस्था मिलाइएको छ। यसैगरी, कृषि विकास बैंकका कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ। राष्ट्र बैंकले यस वर्ष करिब डेढ अर्ब रुपैयाँका नयाँ नोट सटही गर्ने जानकारी दिएको छ।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४