पोखरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् ।
सुशासनका लागि नागरिक समाज कास्कीले आयोजना गरेको अन्तरक्रियामा घिमिरेले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिने बताए ।
आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उनले अख्तियार आफ्नो क्षेत्राधिकारअनुरुप भ्रष्टाचार नियन्त्रणमा निरन्तर लाग्ने उल्लेख गरे । ठेक्का लिएपछि लामो समयसम्म आफ्नो नियन्त्रणमा लिने र काम नगर्ने प्रवृत्ति बढेकामा जोड दिँदै उनले त्यस्तालाई अनुसन्धानको दायरामा ल्याइने बताए ।
राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गर्ने बताउँदै प्रमुख आयुक्त घिमिरेले ती योजनामा हुने भ्रष्टाचार नियन्त्रण गर्न आयोग लाग्ने बताए । अख्तियारमा वार्षिक २० हजारको हाराहारीमा उजुरी पर्ने गरेको र आयोगका कामको प्रभावकारिता बढाउन समयसापेक्ष तालीम प्रदान गर्ने गरिएको पनि कार्यक्रममा जानकारी दिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको र त्यसतर्फ अख्तियारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४