आइतबार, साउन ४, २०८२

अंग्रेजी आक्रमण अनि राष्ट्र भाषाको भ्रम

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं- नेपालको राष्ट्र भाषा के हो? एउटा रेडिमेड जवाफ आउँछ- नेपाली। तर, नेपालको संविधान २०७२ मा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ उल्लेख छ। ०६८ सालको जनगणनाअनुसार नेपालमा एक सय २३ भाषा मातृभाषाका रूपमा बोलिन्छ।

यसरी मातृभाषालाई संख्यात्मक रूपमा हेर्दा नेपाल विशाल राष्ट्र लाग्छ तर यी सबै भाषाको स्तर र उपयोग उत्तिकै व्यापक छैन। यी भाषामध्ये एक सय १० वटाका वक्ता एक प्रतिशतभन्दा कम छन्। बाँकी १३ वटा भाषाका वक्ता एक प्रतिशतभन्दा बढी छन्। यीमध्ये कतिपय भाषा व्याकरण, कोश, साहित्य सिर्जनाका हिसाबले प्रायः शून्य छन्। कतिपय भाषा त बोलचालमै सीमित छन्।

राष्ट्र भाषाका बारेमा हामीकहाँ अनेक खालका भ्रम छन्। ती भ्रममा हामी निरन्तर अल्झिएका छौं। हरेक भाषा मानिसको अस्तित्व र पहिचानसँग जोडिएको हुन्छ। भाषाको सोझो प्रभाव शिक्षा र रोजगारीलगायत क्षेत्रमा पर्ने गर्छ। नेपालमा बोलिने १२३ वटै भाषा र अझै कतिपय लोप भएका भाषालाई समेत खोजी गरेर बोलीचालीमा ल्याउनुपर्छ र राज्यको आँखा पर्नुपर्छ।

तर, नेपाल भन्नेबित्तिकै कसैको पनि जिब्रोमा एक सय २३ वटा भाषा बस्दैनन्, बिनाकुनै हिच्किचाहट सजिलै नेपाली आउँछ। नेपालीको पहिचान प्रष्ट पार्न आँखामा सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतमबुद्ध, नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा महाकाली, उत्तरको अग्ला हिमशिखर र दक्षिणको सुन्दर फाँट झल्किन्छ। यही आँखामा झल्किने परिधिभित्र पर्छन्, अवधि, नेपाल, थारू, मगर, मैथिली, भोजपुरी, किराँती, तामाङलगायत  एक सय २३ वटा भाषा।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘नेपाली हामी रहँला कहाँ नेपालै नरहे’ भनेजस्तै जब नेपाल रहन्छ, तब मात्र सबै जातजाति, भाषा र संस्कृति अस्तित्वमा आउँछन्। नेपाल रहनका लागि नेपाली हुन जरुरी छ। नेपाली हुनका लागि पहिलो आधार भनेकै भाषा हो। भाषा भए मात्रै पहिचान स्थापित हुन्छ।
 

पहिले साम्राज्यवादले भूसतहमा बन्दुक र तोप लिएर किल्लाबाहिरबाट प्रहार गर्थ्यो । र, अहिले किताब र इन्टरनेटका माध्यमबाट आउँछ र हाम्रो दिमागलाई प्रहार गरिरहेको छ।



प्रश्न आउँछ, नेपालको संविधान २०७२ ले भनेबमोजिम मान्ने हो भने के नेपालमा बोलिने एक सय २३ मातृभाषा नै राष्ट्रभाषा हुन त? कुनै नेपाली विदेश गयो र त्यहाँ उसलाई कसैले तिम्रो राष्ट्रभाषा के हो भनेर सोधियो भने उसले के जवाफ दिन्छ ? के उसले नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने जवाफ दिन्छ? कि उसको आफ्नो मातृभाषालाई मात्रै राष्ट्रभाषा हो भन्छ ? या त नेपाली नै मेरो राष्ट्रभाषा हो भनेर जवाफ दिन्छ?

यदि नेपाली नै राष्ट्रभाषा भएको जवाफ उसले दियो भने संविधानविपरित बोल्यो। किनकि, संविधानमा प्रष्ट उल्लेख छ, ‘नेपालमा बोलिने सबै भाषा राष्ट्रभाषा हुन्।’

भाषा शोधकर्ताहरूका अनुसार पन्ध्रौं शताब्दीसम्म नेपालको पश्चिमी भूभागको कर्णाली प्रदेशको सिँजा साम्राज्यमा यो भाषा प्रचलित थियो। त्यसअघि यसलाई ‘खस कुरा’ भनिन्थ्यो भने पन्ध्रौं शताब्दीपछि त्यसैलाई नेपाली भाषा भन्न थालियो। नेपालमा बहुसंख्यक मानिसले नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्छन् र बहुसंख्यकले यो भाषा बुझ्छन्।

२०१५ सालको संविधानमा नेपाली भाषाले राष्ट्रभाषाको मान्यता पाएको थियो भने ०४७ को संविधानमा राष्ट्रभाषा र सरकारी कामकाजको भाषाको मान्यता पायो। नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपाललाई बहुभाषिक राष्ट्र भनिएसँगै नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा भनिएको छ।

देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने, नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानूनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने उल्लेख छ।

मुलुकमा भएका सबै भाषालाई उत्तिकै महत्व दिएर अगाडि बढ्नु राज्यको दायित्व हो। राज्यले मातृभाषाका लागि संविधानमा स्थान दिएको छ। बहुसंख्यक जनताले बोल्ने भाषालाई प्रदेशस्तरमा कानूनबमोजिम सरकारी कामकाजको भाषा बनाउने र सबै मातृभाषालाई पठनपाठनको माध्यम बनाइने प्रावधान छ। सबै मातृभाषाका लागि भाषा आयोगबाट आवश्यक प्रावधान तर्जुमा गरी सरकारलाई सिफारिस गर्न सकिने ठाउँ संविधानले दिएको छ।

हामी हत्केलामा विश्व राखेर हिँड्ने युगमा बाँचिरहेका छौं। हरेक कुरा विश्वव्यापीकरण भइसक्यो भन्ने भ्रममा अगाडि बढिरहेका छौं। तर, विश्वव्यापीकरणले हामीलाई कता लैजाँदैछ भनेर सोच्ने फुर्सद छैन र चेष्टा कहिल्यै गरेनौं।

यहाँ विशेष रूपमा अंग्रेजी भाषाले नेपालमा पारेको प्रभावको विषयमा चर्चा गर्न खोजिएको छ। विभिन्न नाममा जबर्जस्ती अंग्रेजीमा धकेल्ने काम भइरहेको छ।

राष्ट्रभाषा अंग्रेजी?

नेपालको संविधानबमोजिम मातृभाषा नै राष्ट्रभाषा हुन्। मानवले जन्म लिएपछि सबैभन्दा पहिलो बोल्ने र सिक्ने भाषालाई उसको ‘मातृभाषा’ भनिन्छ। ०६८ सालको जनगणनाअनुसार नेपालमा दुई हजार ३२ जनाको मातृभाषा अंग्रेजी हो। अर्थात्, ०.००७६६९ प्रतिशतको राष्ट्रभाषा अंग्रजी हो।

प्रायः आम नेपाली परिवारमा बच्चाको बोली फुट्न नपाउँदै आफ्नो मातृभाषा कसैले सिकाउँदैन। उसलाई मातृभाषामा ‘आमा’ भन्न सिकाइँदैन तर ममी सिकाइन्छ। बुबा भन्न सिकाइँदैन, सिकाइन्छ ड्याडी। स्कुल जाँदा नेपाली बोल्न निषेध गरिएको हुन्छ। गुणस्तरको नाममा स्कुलका भित्ता वा विज्ञापन प्लेटमा लेखिएको हुन्छ, Students are not allowed to speak in Nepali । अर्थात्, विद्यार्थीलाई नेपाली बोल्न निषेध गरिएको छ।

यदि मातृभाषा नै राष्ट्रभाषा हो भने उसले आफ्नो मातृभाषा बोल्न स्कुलमा किन निषेध गरिएको छ। राष्ट्रभाषा बोलेकै आधारमा बच्चाले पिटाइ खान्छ र उसको अभिभावकले स्कुलमा अंग्रेजी बोल्नुपर्छ भनेर नसिकाएकामा जरिवाना तिर्नुपर्छ। यसरी जबर्जस्ती अंग्रेजीमा किन धेकेलिँदैछ?

अन्दाजी २४-२५ वर्षीया एक महिला ४-५ वर्षको बच्चा लिएर पसलमा बसेकी थिइन्। बच्चाले भन्यो, ‘आमा आज एप्पल नखाने बिस्किट खाने।’ पसलकी साहुनीले सोधिन्, ‘तपाईंको नाति हो र?’ उनले त्यसरी सोध्नुको आशय थियो, हिजोआज हजुरआमालाई ‘आमा’ भनिन्छ भने जन्मदिने आमालाई ‘ममी’।

विभिन्न बहानामा नेपाली भाषामाथि अतिक्रमण र आक्रमण भइरहेको छ। शैक्षिक रूपमा नेपाली भाषालाई नेपालभित्रै उपेक्षा गरिएको छ। भाषाकै कारण शिक्षामा रुचि घट्ने बनाइएको छ। एकातर्फ राज्यले नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा संवैधानिक मान्यता दिएको छ भने अर्कातर्फ यो भाषालाई विभिन्न तहका पाठ्यक्रमबाट क्रमशः हटाउँदै लाने नीति राज्यले लिएको छ।

स्नातकोत्तर र स्नातक तहमा यो भाषाको बीउ निमोठिइसक्यो भने कक्षा ११ र १२ मा सास मात्रै धान्ने काम भइरहेको छ। अहिले यसलाई अझ घटाउने प्रपञ्च रचिँदैछ। विडम्बना, युवालाई कलेजहरूमा जबर्जस्ती अंग्रेजी लादिएको छ। वर्षभरि नेपालीमा पढाइन्छ तर परीक्षामा लेख्दा अंग्रेजी अनिवार्य गरिएको छ। एक विद्यार्थीले आफ्नो मातृभाषामा परीक्षा दिन पाउने कि नपाउने? बहस यहाँ जरुरी छ।

विभिन्न सेवा प्रवेशका परीक्षामा यो विषय हटाइसकियो। एउटा १० कक्षा उत्तीर्ण गरेको विद्यार्थी आफ्नो लब्धांक पत्रमा बिग्रिएको हिज्जे सच्याउन कार्यालयलाई पत्र लेख्न सक्दैन। १२ कक्षा उत्तीर्ण गरेको एउटा व्यक्तिले सवारी चालकका लागि आवेदित विज्ञापनमा आवेदन भर्न अर्कालाई लगाउनुपर्छ। स्नातक उत्तीर्ण गरी सरकारी कार्यालयमा भर्ना भएको कर्मचारी आफ्नो बिदा माग फाराम भर्न सक्दैन।

राज्यले उत्पादन गरिरहेका यस्ता शिक्षित जनशक्तिले देशको विकास र शिक्षा नीतिको उपहास गर्छन्। नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा साथै सरकारी कागजात सबै यसै भाषामा तयार गरिन्छन् भनिरहँदा यी तथ्यले भाषिक नीतिमाथि अतिक्रमणको बोध हुन्छ। यसले संविधानप्रदत्त सार्वभौम नेपाली भाषाको सार्वभौम अधिकारमाथि पनि प्रहार भएको बोध हुन्छ। यो नेपाली भाषाको मात्र होइन, नेपाल राष्ट्रमाथिको अपमान हो।

यिनै प्रसंगबाट प्रष्ट हुन्छ, नेपाली समाज कतातिर जाँदैछ ? हामी आगामी पुस्तालाई के सिकाउँदैछौं। त्यो पुस्ताको बोलीमा नेपालीपन, नेपालीत्व र मातृत्वको खै ?

वर्गभेदको नयाँ रूप

 

नेपाल भन्नेबित्तिकै कसैको पनि जिब्रोमा एक सय २३ वटा भाषा बस्दैनन्, बिनाकुनै हिच्किचाहट सजिलै नेपाली आउँछ।


अहिले शहरमा बस्ने नेपालीले भात खान छोडिसके, पिजा, बर्गरसित लन्च-डिनर त छँदैछ, भात खाँदैनन्, राइस खान्छन्। जसले भात खान्छ, त्यसलाई ‘पाखे’ को बिल्ला भिराइन्छ। राइस खाने उपल्लो वर्ग र भात खाने तल्लो वर्ग भनेर आँखा तरेर हेर्ने प्रवृत्ति झनै मौलाउँदै गएको छ।

लामो समय वर्ग विभेदका लागि नेपालीहरूले संघर्ष गरे। थुप्रैले ज्यानको आहुति दिए। कुनै पनि जाति, भाषा, लिंग, धर्म र धनसम्पत्तिका हिसाबमा विभेद हुनु हुँदैन भन्ने संघर्षको उद्देश्य थियो। तर, भाषाका माध्यमबाट वर्ग विभेदको नयाँ रूपमा जन्म भएको छ। जसले नेपाली भाषा बोल्छ, त्यो निच र जसले अंग्रेजी बोल्छ, त्यो उच्च वर्ग मान्न थालिएको छ। वर्गभेदको नयाँ रूपको जन्म भइरहेको छ।

हामीले प्रयोग गर्ने आइफोनदेखि कम्युटरसम्म सबै अंग्रेजी भाषामा छन्। हामी त्यसमा अभ्यस्त भइरहेका छौं। तर, अंग्रेजीमा अभ्यस्त हुँदै गर्दा आफ्नो मौलिकता र धरातललाई लत्याउन मिल्दैन। यदि त्यसो गरियो भने त्यसले अस्तित्व नै नामेट पार्नेछ।

नेटिभ अमेरिकी लेखक लेस्ली मर्मन सिल्कोको उपन्यास सेरेमोनीमा लेखिएको छ, ‘जबसम्म तिम्रो इतिहास र तिम्रो कथा बाँकी रहन्छ, तबसम्म तिमीलाई कसैले जित्न सक्दैन। तर, जब तिम्रो इतिहास र कथा नासिन्छ, त्यसपछि तिमीले कसैले हराउन सक्दैनौ।’

त्यसकारण नेपालमा पनि वैज्ञानिक छन्, उनीहरूले नेपाली भाषालाई त्यही कम्प्युटरमा नेपाली भाषा इन्पुट गर्नसक्ने क्षमता राख्छन्। आईबीएम कम्प्युटर बनाउनुभन्दा दुई वर्षअघि सन् १९७९ मा वैज्ञानिक मुनिबहादुर शाक्यले नेपालमा माइक्रो कम्प्युटर बनाएका थिए। उनले माइक्रोसँगै सुपर कम्प्युटर र देवनागरी कम्प्युटर बनाइसकेका छन्। देवनागरी लिपीमै सबै काम गर्न सकिने कम्प्युटर बनाए, उनले। तर, राज्यले यस्ता विषयमा चासो राखेको छैन।

कस्तुरीले विना नचिनेझैं राज्यले आफैंभित्रको प्रतिभाबाट भाषाका क्षेत्रमा ठूलो फड्को मार्न सक्छ। तर, विभिन्न एनजीओ र आईएनजीओको प्रभाव र दबाब भाषा मास्ने, इतिहास मेटाउने र आधुनिक वर्गभेदको जन्म गराउनेतर्फ उद्यत छ।

भाषा आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थीले अंग्रेजीको मोह राख्ने र भाषा संरक्षणमा चासो नदिने हो भने नेपाल नाम मात्रै रहने तर पहिचान मेटिने बताउँदै आएका छन्। अंग्रेजी भाषाको मोह र सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको प्रभावले नेपालका मातृभाषा लोपोन्मुख रहेको बताउँदै भाषाविदहरूको टाउको दुखाइको विषय बनिरहेको छ। नेपाली भाषा वा मातृ भाषाको संरक्षण गर्नुको साटो अंग्रेजी माध्यमको नाममा पढाइने अंग्रेजी भाषाले नेपालका मातृभाषा तथा पूर्वीय दर्शनको क्षयीकरण भइरहेको बताउँदै उनीहरूले आवाज उठाइरहेकै छन्।

यसो भनिरहनुको अर्थ अंग्रेजी भाषा बहिष्कार नै गर्नुपर्छ भन्ने कदापि होइन। मानिसले जति भाषाको ज्ञान लिन सक्छ, त्यति नै अब्बल र योग्य बन्छ। भाषाले एकअर्कोलाई नजिक ल्याउने काम गर्छ। तर, अंग्रेजी भाषाका नाममा हुने विभेद र नेपाली पहिचान नै समाप्त पार्ने गरी भइरहेको अभियानलाई निस्तेज पारिएन भने भोलिको पुस्ताले नेपालको पहिचान, मौलिकता र संस्कृति एकादेशको कथा हुनेछ।

पहिले साम्राज्यवादले भूसतहमा बन्दुक र तोप लिएर किल्लाबाहिरबाट प्रहार गथ्र्यो। र, अहिले किताब र इन्टरनेटका माध्यमबाट आउँछ र हाम्रो दिमागलाई प्रहार गरिरहेको छ। यस्ता सामान्य लाग्ने संवेदनशील विषयमा राज्य गम्भीर हुनैपर्छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।