आइतबार, भदौ २३, २०८१

nespernesper

प्रविधिमैत्री बन्दै कैलाली कांग्रेस, पेपरलेस बनाउने लक्ष्य

युवा पुस्ता प्रविधिसँग अभ्यस्त हुन खोजिरहेको छ। मानिसले अहिले आफ्ना अफिस, कार्यालयलाई पनि प्रविधिमैत्री बनाउन खोजिरहेका छन्। सोही कार्यमा उद्दत छ नेपाली कांग्रेस कैलाली।
 |  बुधबार, चैत २२, २०७९

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, चैत २२, २०७९

धनगढी- प्रविधि आधुनिक सभ्यताको महत्त्वपूर्ण अंग बन्न पुगेको छ। प्रविधिको विकाससँगै कठिन काम पनि निकै सहज र सरल रुपमा गर्न सकिने भएको छ। प्रविधिले कामको गुणस्तरमा वृद्धि गर्नुका साथै समय र लागतको पनि बचत गर्छ। प्रविधिसँग विज्ञान जोडिएको छ, विज्ञानसँग आधुनिकता। त्यसैले त अहिलेको समयलाई वैज्ञानिक र प्रविधिमैत्री युगको रुपमा चित्रण गर्न खोजिएको होला।

triton college

युवा पुस्ता प्रविधिसँग अभ्यस्त हुन खोजिरहेको छ। मानिसले अहिले आफ्ना अफिस, कार्यालयलाई पनि प्रविधिमैत्री बनाउन खोजिरहेका छन्। सोही कार्यमा उद्दत छ नेपाली कांग्रेस कैलाली। केही वर्ष भयो कांग्रेस कैलालीको आफ्नै भवन छ। पहिले भाडाको घरमा बस्दा धेरै कुराको रेकर्ड छैन।

कांग्रेस कैलालीका सचिव केशव मिश्रका अनुसार अहिले पार्टीमा योगदान पुर्याएका सबै नेताहरूका बारेमा सोधिखोजी थालिएको छ। उनीहरूले पुर्याएको योगदानलाई लिपिवद्ध गर्ने काम भइरहेको छ। पार्टीले केन्द्रदेखि जिल्लासम्मका दिवंगत नेताहरूको जन्म दिवस र स्मृति दिवस मनाउन क्यालेन्डरमै तिथिमिति राख्ने काम गरिरहेको छ। ‘जिल्लादेखि केन्द्रसम्म पार्टीमा योगदान पुर्याउने नेताहरूलाई हामीले भुल्न थालेका छौं। इतिहासलाई भुल्ने होइन। राम्रा कुराहरूलाई आत्मसाथ गर्दै इतिहासलाई गर्विलो र बलियो बनाउँदै लैजानुपर्छ,’ सचिव मिश्रले भने। 

मिश्रलाई इतिहासमा टेकेर अघि बढ्दा त्यसले जिवन्तता पाउँछ झै लाग्छ। उनी युवा हुन्। मिश्रलाई युवा र अहिलेको मान्छे प्रविधिमैत्री र पारदर्शी हुनुपर्छ भन्ने लाग्छ। ‘जनमत संग्रहमा कैलाली पञ्चायतसँग जितेको जिल्ला हो। यस जिल्लाले लोकतन्त्रका लागि पुर्याएको ठूलो इतिहास छ। श्याम बाजेहरू यसका इतिहास हुन्। त्यस्ता व्यक्तिहरूको योगदानलाई इतिहासले भुल्नु हुँदैन,’ उनले भने।

उनले जिल्लाका १२६ वडा र १३ पालिका हुँदै जिल्लामा कांग्रेसका संगठन बलियो बनाउन पनि नवीन ढंगले अगाडि बढ्नुपर्ने बताए। पार्टी सभापति नारायणदत्त भट्ट पनि प्रविधिसँग सहकार्य गरेर अगाडि बढ्न सकारात्मक रहेको र त्यसको जिम्मेवारी आफूलाई दिएको उनले बताए।

Metro Mart
vianet

‘मैले जिम्मेवारी पाउँदा अभिलेखिकरणका लागि पुराना नेताहरूसँग गोष्ठी नै गर्ने योजना बनाएको छु। कांग्रेस कैलाली जिल्लाको पहिलो सभापतिदेखि अहिलेको सभापतिसम्म र उहाँसँग जोडिएका मान्छेहरूबाट पुराना दस्तावेज संकलन गर्ने काम भइरहेको छ। हामी आएको एक वर्ष भयो। पार्टीका अन्य काम पनि गर्नुपर्ने भएकाले अपेक्षित रुपमा ती काम गर्न नसके पनि काम भइरहेको छ,’ मिश्र भन्छन्।

उनले कैलाली कांग्रेसलाई पेपरलेस बनाउने उद्देश्यका साथ काम गरिरहेको जानकारी दिए। तेह्रौं महाधिवेशनसम्म कांग्रेसमा सीमित नेतासँग लेबी लिने गरेको पाइए पनि १४औं महाधिवेशनले विधानमै आर्थिक व्यवस्थापनको कुरा राखेकाले नवीकरण, नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने र पुराना दस्तावेज संकलन गर्ने काम भइरहेको उनी बताउँछन्। पार्टीमा मूल्यांकन पद्धति, काम गरेको समयावधिलगायत विषयको पनि दस्तावेजीकरण नभएकाले त्यसको व्यवस्थापनमा पनि आफू गम्भीर रहेको मिश्रले बताए।

‘अहिले कैलालीमा १८ हजार क्रियाशील सदस्य छन्। हामी उनीहरूको प्रोफाइल बनाएर कैलाली कांग्रेसको बेवसाइटमा नै राख्न चाहन्छौं। उनीहरूले गरेका काम, आवद्ध सामाजिक संस्था, प्राप्त गरेका सम्मान र पुरस्कार पनि हामी त्यहाँ राख्न चाहन्छौं। यसले उनीहरूको मनोबल बढाउनेमा हामी विश्वस्त छौं,’ उनले भने। सबैले नेतृत्व गर्ने अवसर नपाए पनि गरेका कामको सम्मान गर्न पार्टी चुक्न नहुने उनले धारणा राखे। कुनै पार्टीलाई किन पार्टी सभापति, सांसद, मन्त्री बनाउन पर्यो भन्ने कुरा कांग्रेसका सबै क्रियाशील सदस्यले जान्न पाउनुपर्ने उनी बताउँछन्।

‘अब जिल्ला कार्यसमितिका सबै पदाधिकारी र सदस्यको इमेल बनाउनुपर्छ र त्यसैबाट पत्राचार गर्नुपर्छ। अहिले एउटा बटन थिच्ने बित्तिकै सबै साथीभाइलाई एकै पटक मेल जान्छ। एकै पटक एसएमएस जान्छ। यस्तो जमानामा कागज पठाउने कुरालाई निरुत्साहित गर्नुपर्छ। साथीहरूलाई यसैमा अभ्यस्त बनाउन खोजिरहेका छौं,’ उनले भने। अहिले पनि पत्र नपठाउँदासम्म आफूलाई खबर नआएको ठान्ने मनोवृत्ति भने कायमै रहेको उनको बुझाइ छ।

कांग्रेस पुरानै विचारका साथ अगाडि बढिरहेको र युवाहरूले स्थान पाउने अवस्था नरहेको आरोप लाग्ने गरेको स्वीकार्दै उनले पार्टी र भ्रातृ तथा सुभेच्छुक संगठनका सबै तहका निर्वाचन समयमै हुनुपर्ने बताए। ‘समयमै निर्वाचन हुन नसक्दा ठूलो पुस्ता जाम हुन्छ। क्षमता भएको व्यक्ति अवसर पाउनबाट बन्चित हुन्छ। समयमै अधिवेशन हुँदा जसको क्षमता जति छ उ त्यहाँसम्म पुग्न सक्छ। धेरैले विभिन्न क्षेत्रमा जिम्मेवारी पाउँछन्। यसलाई भने सुधार्नैपर्ने छ,’ उनले भने। उनले कांग्रेसकै सक्रियतामा सामान्य नागरिकको छोरा राष्ट्र प्रमुख हुने अवस्था सिर्जना भएको बताउँदै कांग्रेसले राजनीतिक क्रान्ति गरे पनि अब आर्थिक, सामाजिक र प्रविधिको विकासमा काम गर्नुपर्ने औंल्याए।

अब बन्दुक बोकेर क्रान्ति हुने नभई विचारले विकासको क्रान्ति गर्नुपर्ने मिश्रले बताए। विश्वका धेरै नेता निकै अगाडि बढिसकेको बताउँदै उनले आफूहरू पनि त्यो स्थानमा पुग्न उद्दत हुनुपर्ने बताए। मानिसले एउटा परिस्थिति र ऊर्जामा मात्रै एउटा काम गर्न सक्ने भएकाले राजनीतिमा मर्दासम्म पद ओगट्ने परिपाटीको अत्य हुनुपर्ने उनी बताउँछन्।

‘एउटा पदमा पुग्दा गर्नुपर्ने र दिनुपर्ने सबै काम मानिसले एक कार्यकालमै दिइसकेको हुन्छ। पटक–पटक सोही कुर्सीमा उहि मानिसलाई देख्दा जनताले नयाँ अनुभूति गर्न सक्दैनन्। र, त्यो मानिसले पनि नयाँ अनुभूति दिलाउन सक्दैन। त्यसैले एक व्यक्ति, एक पद र एक कार्यकालको अवधारणा ल्याउनुपर्छ,’ उनले भने। उनले आफूले यही कुरालाई नै जीवन पद्धतिमा लागू गर्ने बताए।

अहिले पार्टीमा कहिँबाट आउँदा सर्लक्क अगाडि बढ्ने र पार्टीमै रहेर योगदान दिइरहेको व्यक्ति पछाडि पर्ने अवस्था देखिएको बताउँदै उनले यसतर्फ सिंगो नेतृत्व पंक्ति चिन्तित हुनुपर्ने बताए। आफू कैलाली जिल्लाको हकमा त्यो कुरामा गम्भीर रहेको उनले बताए। दुई वर्ष पुग्दै गर्दा कैलाली कांग्रेसमा सर्वसम्मत रुपमा एजेण्डा पारित भइरहेको उनले स्मरण गरे। अहिलेसम्म सबै बैठकमा कोरम पुग्नु पनि आफूहरूप्रतिको सबैको विश्वास रहेको उनी बताउँछन्। यसले आफूहरू विधि सम्मत चलिरहेको भन्ने प्रस्ट भएको बताए।

प्रकाशित: Apr 05, 2023| 17:56 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...