फाइल तस्बिर
काठमाडौं- नेपाल प्रहरी अहिले सर्वाधिक विवादमा परेको छ । पछिल्ला दिनका विभिन्न घटनाका कारण प्रहरीको अनुसन्धान क्षमता र व्यावसायिकतामाथि नै प्रश्न उठ्न थालेको छ ।
कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको प्रमाण मेटाउन प्रहरीकै संलग्नता देखिएपछि तत्कालीन एसपी डिल्लीराज बिष्टसहित हालसम्म आठ प्रहरी निलम्बनमा परिसकेका छन् । यस्तै, साढे ३३ किलो सुन तस्करीको अनुसन्धानका क्रममा प्रहरी अधिकारीहरू नै शंकाको घेरामा परेको विषय पनि नेपाल प्रहरीलाई बदनाम बनाउने अर्को काण्ड हो । नेपाल समयले प्रहरीलाई बदनाम गराउन भूमिका निर्वाह गरेका पाँच वटा काण्ड केलाउने प्रयास गरेको छ ।
निर्मला हत्याकाण्डमा लापरवाही
साथीलाई भेट्न घरबाट निस्केकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त फर्किइनन् । १० साउनमा हराएकी उनी भोलिपल्ट भीमदत्त–१८ स्थित उखुबारीमा मृत फेला परिन् ।
उनको परिवारले नजिकैको जिल्ला प्रहरी कार्यालय पुगेर हारगुहार गर्दा कञ्चनपुरका तत्कालीन एसपी डिल्ली बिष्टले उल्टै उनीहरूलाई नै अपमानित बनाई फर्काए । निर्मलाको खोजीमा प्रहरीले जति हेलचेक्र्याईं गर्यो, त्यति नै उनको शवको मुचुल्का तयार पार्न कीर्ते काम गर्यो ।
प्रहरी टोलीले मृतकको शव पखाल्ने, उनले लगाएको कपडा खोलेर धुनेजस्ता गम्भीर त्रुटि मात्र गरेन, शव जलाउन परिवारलाई दबाब दिएर थप शंकास्पद व्यवहार ग¥यो ।
निर्मलाको हत्या भएको ७७ दिन पूरा भएको छ । प्रहरीको केन्द्रदेखिको शक्ति लगाउँदा पनि हत्यारा पत्ता लाग्न सकेका छैनन् । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले एसपी बिष्टसहितको प्रहरी टोलीले प्रमाण नष्ट गरी दोषी जोगाउन भूमिका निर्वाह निर्वाह गरेको प्रतिवेदन दिइसकेको छ ।
एसपी बिष्ट, डीएसपी ज्ञानबहादुर सेटी, डीएसपी अंगुर जीसी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी निरीक्षक जगदिश भट्ट, सहायक निरीक्षक रामसिंह धामी, नायब निरीक्षक हरिशरण धामी र जवान चाँदनी साउद निलम्बनमा परेका छन् ।
निर्मला हत्याकाण्ड अनुसन्धानमा गरेको त्रुटिले समग्र प्रहरीकै कार्यशैलीमाथि प्रश्न मात्र खडा गरेको छैन, सरकारलाई समेत नैतिक संकटमा पारेको छ ।
दुई वटा घुस काण्ड
२० असोजमा महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी श्यामकुमार राई एक लाख ४० हजार रुपैयाँसहित पक्राउ परे । सेवाग्राहीसँग टीभी खरिदको नाममा पटक–पटक घुस मागेको सुराकी पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएसपी राईलाई रंगेहात पक्राउ गरेको हो ।
अख्तियारलाई पटक–पटक झुक्याउँदै पक्राउ पर्नबाट जोगिएका राईले सेवाग्राहीसँग घुसको रकम लिनुअघि ‘रेकी’ गर्ने गरेको खुलेको छ ।
पछिल्ला दिनका विभिन्न घटनाका कारण प्रहरीको अनुसन्धान क्षमता र व्यावसायिकतामाथि नै प्रश्न उठ्न थालेको छ ।
यस्तै, ३० भदौमा काठमाडौंकै काँडाघारी र कोटेश्वरबाट नौ प्रहरीलाई अख्तियारको टोलीले पक्राउ गर्यो । मनोहरा खोलाको बालुवा निकाल्न सेटिङ मिलाइदिने बताउँदै ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी प्रभाग काँडाघारीका असई गोपाल श्रेष्ठ र भक्तपुर सानोठिमीका असई सुवास ढुंगाना रंगेहात पक्राउ परे ।
सोही घुस काण्डमा हवल्दारहरू दीपक भारती र उमेशकुमार यादव तथा जवानहरू मुकेशप्रसाद पटेल, अमन चौधरी, दीपक कुँवर, मानसिंह रोकाया र रत्नप्रसाद रिजाल पक्राउ परेका छन् । राजधानीमै नौ प्रहरी घुससहित पक्राउ पर्दा प्रहरीको छवि धुमिल हुनु स्वाभाविकै हो ।
अपहरण काण्ड
महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत नायब निरीक्षक (सई) सम्बत लामा र सूर्यबहादुर थापासहित चार जना प्रहरीले १ माघ ०७४ मा धुम्बाराहीस्थित टाइगर ओभरसिजका सञ्चालक बद्री राईलाई अपहरण गरी तस्करी गरिएको १५ किलो सुनको कमिसन लिएका थिए ।
उक्त अपहरणमा संलग्न काभ्रेका अर्जुनकुमार लामा र रूपन्देहीका राजकुमार गुरुङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । राईलाई कोटेश्वरबाट अपहरण गरी गैरीगाउँस्थित एक रेस्टुराँमा बन्धक बनाएको खुलेको थियो । म्यानपावर व्यवसायी राईबाट दुई लाख ३० हजार रुपैयाँ लुटेर २५/२५ लाखका दुई वटा तमसुकसमेत बनाएको अनुसन्धानबाट खुलेको छ ।
गुण्डागर्दीमा संलग्न लामाले म्यानपावर व्यवसायी राई सुन तस्करीमा समेत संलग्न रहेको थाहा पाएपछि धम्क्याएर पैसा असुल्ने योजनाअनुसार प्रहरीसँग मिलेर अपहरण गराएको खुलेको छ ।
सुन तस्करीमा मिलेमतो
२१ पुस ०७४ मा काठमाडौंका गोठाटार तथा पिंगलास्थानबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ३३ किलो सुनसहित तीन जनालाई पक्राउ गर्यो । गोप्य सूचनाअनुसार सीआईबीको टोलीले ३३ किलो सुनसहित नेपालगञ्जका गोपालबहादुर शाही, जनकपुरका सन्तोष काफ्ले र मोरङ पथरीका दिनबन्धु थापालाई पक्राउ गर्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ठूलो परिमाणको सुन बाहिरिएको घटनाले प्रहरी मुख्यालयलाई तरंगित बनाएको थियो ।
उक्त घटना अनुसन्धानका क्रममा थप साढे ३३ किलो सुन तस्करी भएको सुराकी पाएपछि महानगरीय अपराध महाशाखाले थप अनुसन्धान अगाडि बढायो । सोही क्रममा विमानस्थल सुरक्षार्थ खटिएका तत्कालीन डीआईजी गोविन्द निरौला र एसएसपी श्याम खत्रीलाई प्रधान कार्यालय फिर्ता बोलाएर सुक्ष्म अनुसन्धान गरियो । एसएसपी खत्रीको संलग्नता पुष्टि भएपछि उनलाई प्रधान कार्यालयबाटै सीआईबीको टोलीले नियन्त्रणमा लिएको थियो ।
जनताको शान्ति सुरक्षामा प्रत्यक्ष खटिने प्रहरीले जघन्य गल्ती गर्दा सिंगो संगठनमाथि नै अविश्वास र चेन अफ कमान्डमाथि प्रश्न उठ्नु स्वाभाविकै हो ।
सुन तस्करी प्रकरण अनुसन्धानकै क्रममा सनम शाक्य नामक युवकको हत्या भएको खुलासा भएको थियो । त्यसलगत्तै एसएसपी खत्री फरार भएका थिए ।
पछिल्लो सुन तस्करी काण्ड प्रहरीलाई बदनाम गराउने अर्को घटना हुन पुगेको छ । साढे ३३ किलो सुन तस्करी र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परे । उनले पहिलो बयानमै आफू भरिया मात्र भएको र एसएसपी खत्रीलाई पक्राउ गरे सबै खुल्ने बताएका थिए । खत्रीमाथि डिफेन्स नोटिससँगै प्रहरीले खोजी तीव्र बनाएपछि उनले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।
विगत पाँच वर्षभित्रमा त्रिभुवन विमानस्थलबाट मात्र करिब १७ अर्ब रुपैयाँबराबरको सुन तस्करी भएको बताइएको छ । नेपाल प्रहरीले पटक–पटक गरी पछिल्लो तीन वर्षमा करिब चार सय किलो सुन मात्र बरामद गरेको छ ।
त्यसो त, सात वर्षअघि सार्वजनिक भएको सुडान घोटाला काण्डले प्रहरीको बदनामी मात्र गराएको थिएन, तल्लो तहसम्म मनोबल खस्काउने कारक पनि बनेको थियो । तत्कालीन महानिरीक्षक ओमबिक्रम राणा, पूर्वमहानिरीक्षकहरू रमेश चन्द ठकुरी र हेमबहादुर सिंहसहित ४३ जना उच्च प्रहरी अधिकृतहरू उक्त काण्डमा मुछिएका थिए ।
सुडान काण्ड विस्मृतिमा धकेलिँदै गर्दा नेपाल प्रहरीको मनोबल पनि उकासिँदै गएको थियो । तर, पछिल्लो समयका पाँच वटा काण्डले फेरि एक पटक तल्लो तहसम्म निराशा बढाएको छ ।
मुलुकको कानून कार्यान्वयनको मुख्य अंग हो, नेपाल प्रहरी । करिब ७५ हजारको संख्या रहेको संगठनमा केही पात्रबाट अन्जानमा हुने गल्तीलाई सामान्य मान्न सकिएला । तर, जनताको शान्ति सुरक्षामा प्रत्यक्ष खटिने प्रहरीले जघन्य गल्ती गर्दा सिंगो संगठनमाथि नै अविश्वास र चेन अफ कमान्डमाथि प्रश्न उठ्नु स्वाभाविकै हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४