एजेन्सी- विश्व फुटबल इतिहासमा ब्राजिललाई वादशाह पनि भनिन्छ । किनकी उसले सर्बाधिक ५ पटक विश्वकप जितेको छ । गरिबी र आर्थिक अभावसँग जुध्दैं सडकमा फुटबल खेलेर आफ्नो यात्रा थालेका गारिन्चा, पेले, रोमारियो, रोनाल्डो, रिभाल्डो र रोनाल्डिन्होजस्ता खेलाडीकै कारण ब्राजिलले यस्तो सफलता पाएको हो ।
यिनै खेलाडीहरुले अन्य खेलाडीलाई सडकमा फुटबल खेल्ने प्रेरणा समेत दिए । ‘हरेक बिहान उनीहरुजस्तै बन्ने चाहना बोकेर म उठेको हुन्थे । मलाई स्कुल पनि जानुपर्ने थियो र स्कूलबाट घर आउन साथ त्यही सडकमा फर्कन्थेँ । अनि रात नपरुन्जेसम्म खेल्थे,’ क्रुसेजका सडकमा फुटबल खेल्दाको सम्झना नेयमारले सुनाए, ‘बाल्यकाल मलाई निकै सुखद लाग्छ । त्यतिबेला मेरो धेरै मिल्ने साथीहरु थिए । सडकमा हामी फास्ट थियौं । ब्राजिली स्मार्टनेसको संकेत भेटिन्थ्यो ।’

अहिले ब्राजिलको गल्ली गल्लीमा हामी स्थानीय सर्वसाधारणहरुले

आफ्नो शरीरमा लगाएको १० नम्बरको जर्सीमा ब्राजिलका स्टार नेयमारको नाम देख्छौ । ब्राजिलको कूल जनसंख्याको २५ प्रतिशत अर्थात झन्डै ५ करोड नागरिक गरिबीको रेखामुनि छन् ।
सन् २००३
नेयमार १२ वर्षको छदाँ उनको परिवार साओ भिसेन्टी स¥यो । त्यहाँ उनले पोर्चुग्वेसा सान्टिस्टा नामक स्थानीय क्लबको युवा टोलीबाट खेले । त्यसपछि अर्को वर्ष सान्तोषले उनलाई आफ्नो युवा टोलीमा भित्र्यायो । त्यतिबेला उनी १३ वर्षका थिए र फुटसल खेल्दै थिए । उनको खेल देखेर सबै निकै प्रभावित भए । तर उनलाई क्लबमा ल्याउन समस्या थियो किनकी सन्तोषसँग १४ वर्षमुनिको उमेर समुहका लागि कुनै टोली नै थिएन ।

नेयमारप्रति लिमाको विश्वास र भरोसा देखेपछि जिटोले १४ वर्षमुनिको उमेर समूहको टोली बनाउन प्रस्ताव राखे । यसरी नेयमारकै लागि नयाँ टोली बन्यो । अनि, उनी सान्तोष आए । १४ वर्षको छँदा उनी रियल म्याड्रिडको युवा टोलीमा ट्रायल दिन स्पेन पनि गएका थिए । त्यहाँ, छोटो समय अभ्यास गरेर स्वदेश फर्किए ।
१५ वर्षको छँदा नेयमार सान्तोषको युवा टोलीका स्टार भइसकेका थिए । उनले प्रतिमहिना १० हजार ब्राजिली रियल आम्दानी गर्थे । त्यही पैसाले भाडाको घरमा बस्दै आएको नेयमारको परिवारले भिल्ला बेलमिरो नजिकै घर किन्यो । अर्को वर्ष नेयमारको तलब साढे १२ गुणा बढ्यो । उनले प्रतिमहिना १ लाख २५ हजार रियल कमाउन थाले ।
सन् २००९
१७ वर्षका नेयमारले सान्तोषबाट डेब्यु गरे । यस सिजन उनले ४८ खेल खेल्दै १४ गोल गरेका थिए । यही वर्ष यु-१७ विश्वकपमा जापान विरुद्ध नेयमारले गरेको उत्कृष्ट गोलपछि पेलेसँग उनको तुलना हुन थाल्यो । पेले, रोमारियो लगायतका हस्तीहरुले सन् २०१० को विश्वकपमा नेयमारलाई पनि खेलाउनुपर्ने तर्क गरे ।
तर, तत्कालीन ब्राजिली प्रशिक्षक डुंगाले नेयमारसँग ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव नभएको भन्दै उनलाई टोली बाहिरै राखे । १४ हजारभन्दा बढीले नेयमारको पक्षमा हस्ताक्षर संकलन गरेर ब्राजिली फुटबल संघलाई बुझाएका थिए । विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि प्रशिक्षक डुंगाको आलोचना गर्दै समर्थकहरुले नेयमारलाई टोलीमा नराख्नु सबैभन्दा ठूलो गल्ती रहेको प्रतिक्रिया दिए ।
विश्वकपपछि डुंगा बर्खास्त भए । नयाँ प्रशिक्षक मानो मेनिसेजले मैत्रिपूर्ण खेलमा नेयमारलाई अवसर दिए । अमेरिका विरुद्धको डेब्यु मैत्रिपूर्ण खेलको २८ औँ मिनेटमै उनले गोल गरे । यही वर्ष उनलाई इंग्लिस क्लब चेल्सी र वेस्टह्यामले भित्र्याउन चाहेका थिए । तर, सान्तोषमै बसेर नेयमारले ६० खेलमा ४२ गोल गरे । दक्षिण अमेरिकी वर्ष खेलाडीका मनोनयनमा पर्दै तेस्रो स्थान हात पारे।
कोपा लिबर्टाडोस च्याम्पियन
सन् २०११ मा ब्राजिलियन क्लबले दक्षिण अमेरिकाको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता कोपा लिबर्टाडोस जित्दा नेयमार प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । एकेडेमीबाट आएको छोटो समयमै नेयमार टोलीको मुख्य खेलाडी भइसकेका थिए ।
खेलको नयाँ स्तर पकड्न उसलाई समस्या थिएन किनकी उसँग भयंकर प्रतिभा थियो । त्यतीबेला नै विश्वस्तरीय खेलाडीसँगको जस्तो परिपक्वता थियो । १८ वर्षका नेयमारमा पनि त्यस्तै विशेषता र खुबी थियो । हरेक खेललाई गम्भिर रुपमा लिएर कडा परिश्रम गर्ने स्वभावका कारण दिनदिनै उसमा सुधार आइरहेको थियो । उनीसँग खेल्न पाउँदा मलाई निकै खुसी लाग्थ्यो ।
सान्तोषलाई क्लब विश्वकपको फाइनल पु¥याउने क्रममा निकैनै महत्वपूर्ण प्रदर्शन थियो । सेमिफाइनलमा आयोजक जापानको कासिया रियोसल क्लबविरुद्ध नेयमारले गरेको उत्कृष्ट गोलको चर्चा अझै हुनेगर्छ । उनले ६ खेलाडीलाई जिल खुवाउँदै डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारले जाली चुमेको थियो ।
यस प्रतियोगिताको फाइनलमा मेस्सीको बार्सिलोनासँग सान्तोष ४-० ले पराजित भयो । तर, नेयमारको चौतर्फी प्रशंसा भयो । फिफा वर्ष खेलाडीको मनोनयनमा नेयमार अन्तिम २३ भित्र परे । कासिया रियोसल विरुद्ध गरेको गोलले वर्षको सर्वोत्कृष्ट गोलको अवार्ड जित्यो ।
१५-१६ वर्षको हुँदा उनी उत्कृष्ट भइसकेका थिए । २०११ को लिवर्टाडोरस कपमा उनीसँग केही कुराको कमी थियो भने त्यो अनुभव मात्रै हो । तर, त्यसले कुनै प्रभाव राखेन र उनी मैदानमा सहज देखिए । उनले आफ्नै शैलीको खेल खेलेर उपाधि जिताए । नेयमारले त्यतिबेलै आफु विश्वको उत्कृष्ट खेलाडी बन्न लायक छु भन्ने प्रमाणित गरिसकेका थिए ।
इतिमात्र हैन नेयमार आफ्ना जन्म दिन मनाउँदा त्यतिबेला छिमेकका बच्चाबच्ची उनका पहिलो पाहुना हुन्थे । किनकी उनी आफ्नो धरातल बिर्सने खेलाडी होइनन् । सन् २०१३ मा सान्तोष छाडेर बार्सिलोनामा आबद्ध भएका नेयमारले क्याटालोनियामा चार वर्ष बिताउने क्रममा च्याम्पियन्स लिग र क्लब विश्वकपसहित क्लब फुटबलका सबै ठूला प्रतियोगिता जितिसकेका छन् । उनी अहिले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायिक फुटबल खल्दैछन् । गत बर्ष मात्रै उनी विश्व किर्तिमानि मुल्यमा पीएसजी पुगेका थिए ।
आफ्नो कप्तानीमा ब्राजिललाई ओलम्पिक फुटबलमा पहिलो स्वर्ण जिताएका नेयमारले विश्वकप जित्न बाँकी नै छ । ब्राजिल राष्ट्रिय टोलीका लागि सबै खाले ९२ खेल खेल्दै ५९ गोल गरेका नेयमारले विश्वकप ट्रफि उचाल्न बाँकी छ ।